• होमपेज
  • राजनीति
  • देउवालाई हराउन सक्ने म मात्रै हुँ : शशांक कोइराला

देउवालाई हराउन सक्ने म मात्रै हुँ : शशांक कोइराला

  • मङ्लबार, भदौ ९, २०७७
देउवालाई हराउन सक्ने म मात्रै हुँ : शशांक कोइराला

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले शेरबहादुर देउवालाई सभापतिमा पराजित गर्न सक्ने व्यक्ति आफुमात्रै भएको बताएका छन् । १४ औं महाधिवेशनमा आफु सभापतिको उम्मेदवार भएमात्रै देउवा पराजित हुने उनले बताए । पार्टी सभापतिका लागि अरु नेताहरुको दाबी रहे पनि सभापति देउवालाई पराजित गर्ने ग्यारेन्टीका साथ आफ्नो दाबी सभापतिमा रहने उनको भनाइ छ ।

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै महामन्त्री कोइरालाले रामचन्द्र पौडेलले पनि सभापतिमा देउवालाई पराजित गर्न नसक्ने दाबी गरे । उनले भने, ‘‘मैले धेरैसँग परामर्श गर्दै छु । उहाँहरु तपाईं नै उठ्नुपर्‍यो भन्नुहुन्छ । तर मैले धेरै साथीहरुको दाबी छ भन्छु । रामचन्द्र दाई, सिटौलाजी हुनुहुन्छ । प्रकाशमान हुनुहुन्छ । तर धेरै उठेर त भएन नि । हाम्रो लक्ष्य के हुुनुपर्‍यो, हामी सबै मिलेर एकजना उठ्नुपर्‍यो । त्यसका लागि आपसमा वार्ता हुनुपर्‍यो । वार्तापछि हामी एक ठाउँमा पुग्न सकियो भने हुन्छ । व्यक्तिगत हिसाबले भन्नुहुन्छ भने शेरबहादुरजीलाई हराउने कोही व्यक्ति छ भने त्यो म नै हुँ । रामचन्द्र दाईले पनि सक्नुहुन्न । अरु जो पनि कसैले पनि सक्दैन यो ग्यारेन्टीका साथ भन्न चाहन्छु मबाहेक शेरबहादुरजीलाई हराउने व्यक्ति छैन ।’’

ad
ad
महाधिवेशन नजिकिँदै गर्दा सभापति देउवाले क्रियाशील सदस्यता वितरण, विभाग गठनलगायतका काम विधान विपरीत गरिरहेको भन्दै उनले असन्तुष्टिसमेत जनाए । सभापति देउवाले पार्टीका विभागहरु गठन गरिरहेकोप्रति इतरपक्षले विरोध जनाउँदा पनि नसुन्ने गरेको उनको भनाइ छ । पार्टीभित्र जतिसुकै विरोध गर्दा पनि सभापतिले कुरा नसुन्ने गरेको उल्लेख गर्र्दै उनले यसको जवाफ महाधिवेशनबाट दिनुपर्ने बताए ।

उनले भने, ‘‘उहाँले मनोमानी गर्नुभयो । सभापतिले गरेका कामहरुको विरोध त गरिसकेका छौँ । उहाँ कुरा सुन्नुहुन्न महाधिवेशन आउँछ त्यसमा निर्णय गर्नुपर्‍यो । किनकि अरु विकल्प छैन । पार्टीमा सबैभन्दा शक्तिशाली व्यक्ति भनेको सभापति हो तर उहाँको निर्णय गर्न सक्ने क्षमतामा प्रश्न आयो । अहिले विभाग गठन भइरहेको छ । यो ९ महिनामा विभाग गठन गरेर के गर्नुहुन्छ ? उहाँले मान्छे आकर्षित गर्नका लागि विभाग गठन गर्नुभयो भोटका लागि । भोलि महाधिवेशन आउँदैछ त्यसमा आकर्षित गर्नका लागि विभाग बनाउनुभयो । विभागको संख्या दिनप्रतिदिन बढाउँदै हुनुहुन्छ । मनपरी गर्दै हुनुहुन्छ । भेटेर पनि भनेका छौँ । अहिले नबनाउनुस अहिले बनाएर के गर्न सक्नुहुन्छ । ९ महिनामा विभागले के गर्न सक्छ भनेर भन्दा पनि मान्नु भएन । आफ्ना कुरा राख्नबाहेक अरु केही गर्न सकिँदैन । भोक हड्ताल गर्ने हो भने अवस्था खतरापूर्ण आउन सक्छ । सबैभन्दा पहिले अधिवेशन गर्ने हो कि होइन ? समयमा गर्ने हो भने पहिले जिल्ला अधिवेशन गर्नुपर्‍यो । जिल्लाका सबै एकाइको हुनुपर्‍यो । क्रियाशील सदस्यता वितरण सही किसिमले गर्नुपर्‍यो । धेरै जिल्लामा समस्या छ । समस्याहरुलाई पार्टीले निर्देशन दिएर अगाडि बढ्नुपर्‍यो क्रियाशील दिने त वार्डले हो । १०—१० लाख क्रियाशील सदस्य बनाउँदा गाइजात्रा हुने डर छ । नसोधेर सबैलाई केन्द्रीय सदस्यमा घुसाउनु भएको छ । क्रियाशील सदस्यता दिनुभएको छ । आउनेहरु क्रियाशील हुन् कि होइनन् भनेर पनि पुष्टि गर्नुपर्‍यो ।’’

महाधिवेशनका लागि पार्टीमा गुट उपगुट हुनु स्वाभाविक भए पनि त्यसपछि पनि गुटकै आधारमा पार्टी सञ्चालन गर्न खोज्नु सभापति देउवाको कमजोरी भएको उनको भनाइ छ । आफु सभापतिमा निर्वाचित भएपछि सबैभन्दा पहिले पार्टीलाई एकजुट बनाएर अगाडि बढाउने दाबी कोइरालाले गरे । उनले भने, ‘‘पार्टीलाई एक बनाउने अहिले धेरै गुट उपगुट छन् महाधिवेशनका लागि हुनु स्वाभाविक हो । तर महाधिवेशन सकिनेबित्तिकै पार्टीलाई एक बनाउनुपर्‍यो । जुन शेरबहादुरजीले सक्नु भएन । आजको मितिमा मेरो मान्छे र तेरो मान्छे भन्नुहुन्छ ।’’

तोकिएकै मिति फाुगन ७ गते महाधिवेशन सम्पन्न भएमात्रै आगामी निर्वाचनमा पार्टीलाई सही स्थानमा ल्याउन सकिने उनले बताए । कुनै अप्रिय घटना नघटे महाधिवेशन तोकिएकै मितिमा हुनुपर्ने उल्लेख गर्दै उनले स्थानीय चुनावको तयारीका लागिसमेत समय राखेर महाधिवेशन सम्पन्न गर्नुपर्ने बताए । यस्तै अहिलेको सरकारबाट लोकतन्त्र खतरामा रहेको कोइरालाले बताए ।

सरकारले पटक पटक संविधान र ऐन कानुन विपरीत काम गरिरहेको उनको आरोप छ । देश संघीय संरचनामा गएपछि कम्युनिष्ट सरकारले संघीयतालाई खतरामा पार्नेगरी काम गरिरहेको उनले आरोप लगाए । लोकतन्त्रलाई जोगाउन भए पनि अहिले डेमोक्र्याटिक अलाइन्सको आवश्यकता रहेको पनि कोइरालाले बताए ।

उनले भने, “लोकतन्त्र स्थापित नहुदाँसम्म अलाइन्स गर्नुपर्छ । डेमोक्रेसी अहिले पनि खतरामा छ । कम्युनिष्टहरु डेमोक्रेसीमा विश्वास गर्दैनन्, संसदीय व्यवस्थामा उनीहरु विश्वास गर्दैनन् त्यसलाई दृष्टिगत गरेर मैले अलाइन्सको कुरा गरेको हो ।’’

चर्चामा

सम्बन्धित समाचार