शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बडिमालिका
  • वडा अध्यक्षदेखि सांसदसम्म बाढीले बगाएका पुल र बाटो बनाउन जुटे

वडा अध्यक्षदेखि सांसदसम्म बाढीले बगाएका पुल र बाटो बनाउन जुटे

  • आइतवार, भदौ ७, २०७७
वडा अध्यक्षदेखि सांसदसम्म बाढीले बगाएका पुल र बाटो बनाउन जुटे

बाजुरा जिल्लामा २५ साउनयता भीषण वर्षासँगै आएको बाढीका कारण एउटा गाउँबाट अर्को गाउँसम्म आवतजावत गर्ने बाटो र पुल पुगाएको छ ।

त्यसको समाधानका लागि स्थानीय जनप्रतिधिहरू आफैँ जुटेर केही काठे पुल निर्माण गर्न सक्रिय भएका छन् । नयाँ आर्थिक वर्षका कारण सरकारी कार्यालयबाट चाँडो काम हुन नसक्दा उनीहरू आफैँ निर्माण कार्यमा जुटेका हुन् ।

सुदूरपश्चिम प्रदेशसभा सदस्य बलदेव रेग्मी यतिबेला गृहजिल्ला बाजुरामा बाढीपीडितको अवस्था बुझ्न आएका छन् । एक साताअघि आएका उनी सदरमुकाम मार्तडीबाट पूर्वोत्तर क्षेत्रका ४ वटा स्थानीय तहमा जाने पुल बाढीले बगाएकाले आवतजावत गर्न समस्या भएपछि आफैँ लागेर बुढीनन्दा नगरपालिका- २, धोपेगाडमा काठे पुल बनाउन जुटेका छन् ।

मङ्गलबारको अविरल वर्षापछि अवरुद्ध बनेको कोल्टीको धोपेगाड खोलामा आवतजावतमा समस्या आएपछि सांसद रेग्मीलगायतको टोलीले काठेपुल निर्माण गरेपछि सहज बनेको छ ।

बडिमालिका नगरपालिका- ७ को पोखरेबाट बगेर आउने खोलाले अलगअलग स्थानमा रहेका काठेपुलहरू बगाउँदा जनतालाई आवतजावतमा सास्ती भएको थियो । बडिमालिका- ७ का वडाध्यक्ष धर्मराज पाध्यायको सक्रियतामा रजातोलीमा काठेपुल निर्माण भएको छ । .

बाढीले सो खोलामा रहेका काठको पुल बगाउँदा कोल्टी, मार्तडी, पाण्डुसैन, बिर्सैन र छातीकोटलगायतका ठाँउका स्थानीयलाई आवतजावत गर्न निकै कठिनाइ भइरहेको थियो । आजतजावतको समस्यालाई मध्यनजर गर्दै प्रदेश सांसद रेग्मीले तत्काल स्थानीयलाई आवतजावत गर्न सहज होस् भन्ने उद्देश्यले काठको पुल लगाइएको बताए ।

त्यस्तै, बाजुराको बुढीनन्दा नगरपालिका- ३ को गोरेटो बाटोसमेत बाढीले बगाएपछि पुनः मर्मत गरिएको छ । मङ्गलबार रातीको अविरल वर्षापछि अवरुद्ध बनेको बाटो स्थानीय युवाहरूको सक्रियतामा मर्मत गरिएको हो । वडा नम्बर ३ का ५० जनाभन्दा बढी स्थानीय युवाहरूको समूहले नुरीदेखि खुवा, डाग्रेवाडा, भुलेना तलिगोठी र सुन्ताेलालगायत ठाउँको गोरेटो बाटो मर्मत गरेको स्थानीय घनश्याम बुढाले जानकारी दिए ।

वर्षातले एक-अर्काे बस्ती जोड्ने गोरेटो बाटो र खोला किनारामा रहेका पुल पुलेसाहरू क्षतविक्षत बनाएकाले स्थानीयलाई आवतजावत गर्न कठिनाइ भइरहेको थियो । पछिल्लो समयको निरन्तर वर्षापछि क्षतविक्षत बनेका गोरेटो बाटो मर्मत भएपछि स्थानीयलाई आवतजावत गर्न र घट्ट जान सहज भएको स्थानीयवासीले बताए ।

यता बडिमालिका नगरपालिका- ७ को चुथी र रजातोली खोलामा रहेका काठेपुल बगाएपछि बडिमालिका- ७ का स्थानीयहरूलाई दैनिक आवतजावतमा समस्या भएको थियो ।

एक महिनाअघि बाढीले काठेपुल बगाएपछि रजातोली र चुथीका स्थानीयलाई मात्र नभई पूर्वोत्तर क्षेत्रका ४ स्थानीय तहसहित छिमेकी जिल्ला मुगु र हुम्लाका स्थानीयलाई समेत यो बाटो हुँदै जान-आउन निकै समस्या थियो ।

एक महिनादेखि काठेपुलकाे अभावमा कष्टकर यात्रा गर्दै आएका स्थानीयहरूको समस्यालाई मध्यनजर गर्दै खोलाहरूमा काठेपुल निर्माण गरिएको बडिमालिका- ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले बताए ।

काठेपुल निर्माण कार्यमा सुदूरपश्चिम प्रदेश सांसद बलदेव रेग्मी, बुढीनन्दा नगरपालिकाका नगर प्रमुख पदमकुमार गिरी, नेकपा जिल्ला कमिटी सचिवालय सदस्य भरत विक, बुढीनन्दा नगरपालिका -४ का वडा अध्यक्ष राजनकुमार रोकायालगायत स्थानीयवासीको सक्रियतामा काठेपुल निर्माण गरिएको वडा अध्यक्ष राजनकुमार रोकायाले जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार