शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • कोरोना महामारी अन्त्य हुन २ वर्ष लाग्न सक्छ : डब्लूएचओ

कोरोना महामारी अन्त्य हुन २ वर्ष लाग्न सक्छ : डब्लूएचओ

  • आइतवार, भदौ ७, २०७७
कोरोना महामारी अन्त्य हुन २ वर्ष लाग्न सक्छ : डब्लूएचओ

बीबीसी — विश्व स्वास्थ्य संगठनका प्रमुख डाक्टर टेड्रोसले कोरोना महामारी अबको दुई वर्षमा अन्त्य हुने आशा गरिएको बताएका छन् । जेनेभाबाट बोल्दै उनले १९१८ को स्पेनिश फ्लु अन्त्य हुन पनि २ वर्ष लागेको बताएका हुन् । तर अहिले विज्ञान तथा प्रविधिको विकासले गर्दा विश्वले यसबाट अझ छिटो मुक्ति पाउन सक्ने बताइएको छ ।

उनले भनेका छन्, “अहिले हामीसँग यसलाई रोक्नका लागि उपयुक्त प्रविधि र आवश्यक ज्ञान अनि जानकारी छ । तर यसमा राष्ट्रिय एकता र विश्वव्यापी सहकारिताको पनि उत्तिकै महत्वपूर्ण भूमिका रहनेछ ।” १९१८ को उक्त स्पेनिस फ्लुले त्यतिबेला ५ करोड मान्छेको ज्यान लिएको थियो । कोरोना भाइरसका कारण भने हालसम्म ८ लाखको मृत्यु भएको छ र २ करोड ३० लाख बढी संक्रमित बिरामी रहेका छन् ।

यता बेलायतको वैज्ञानिक अधिवक्ता समूहका सदस्य प्रोफेसर सर मार्क वाल्पोर्टले भने कोभिड–१९ अब सधैँभरि कुनै न कुनै रुपमा हामीसँगै रहिरहने बताएका छन् । उनले बीबीसीसँग भनेका हुन्, “यो फ्लु जस्तै नै छ त्यसैले मानिसहरुले नियमित खोप लगाइरहनुपर्ने हुन सक्छ ।” त्यस्तै शनिबार भएको बैठकमा डाक्टर टेड्रोसले पीपीई सम्बन्धी हुने सबै किसिमका भ्रष्टाचार र घुसखोरी कुनै पनि हालतमा स्वीकार्य नहुने बताउँदै त्यसलाई हत्या बराबरको अपराधका रुपमा व्याख्या गरेका हुन् ।

उनले भनेका छन्, “यदि कुनै स्वास्थ्यकर्मीले पीपीई नलगाइ आफ्नो जीवन जोखिममा पारेर काम गरिरहेको छ भने उनीहरुले सेवा दिइरहेका बिरामी पनि खतरामा पर्नेछन् । त्यसैले यो मानव समुदायविरुद्धकै ठूलो अपराध हुनेछ ।” हाल दक्षिण अफ्रिकालगायत विभिन्न देशहरुमा स्वास्थ्यका उपकरण सम्बन्धी ठूलो स्तरमा भ्रष्टाचार भइरहेको खबर प्राप्त भइरहेको छ ।

शुक्रबार केन्याको राजधानीमा यसविरुद्ध डाक्टरहरुले नै ठूलो प्रदर्शन र आन्दोलन गरेका हुन् । यसैगरी मेक्सिकोमा जारी कोरोना महामारीको भयानक अवस्थाबारे पनि आवश्यक ध्यान नपुर्याइएको डब्लूएचओले चेतावनी दिएको छ । जोन हप्किन्स युनिभर्सिटीको डाटाअनुसार अहिले कोरोनाबाट सबैभन्दा बढी मृत्यु हुने देशमा मेक्सिको तेस्रोमा पर्दछ । जहाँ ६० हजार भन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् ।

चर्चामा

सम्बन्धित समाचार