शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • राजनीति
  • विश्लेषक भन्छन्, ‘पार्टी सर्वोच्चताभन्दा सत्ता सेयरिङ प्रमुख मुद्दा’

विश्लेषक भन्छन्, ‘पार्टी सर्वोच्चताभन्दा सत्ता सेयरिङ प्रमुख मुद्दा’

  • बिहिबार, भदौ ४, २०७७
विश्लेषक भन्छन्, ‘पार्टी सर्वोच्चताभन्दा सत्ता सेयरिङ प्रमुख मुद्दा’

झण्डै चार महिनायता चर्किएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद सहमतितर्फ उन्मुख भएको छ । सरकार र पार्टी सञ्चालन प्रभावकारी नभएको भन्दै गत वैशाखयता पार्टी कमिटी बैठकमै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीको राजीनामाको विषय उठेपछि चर्किएको विवादले झण्डै पार्टी नै विभाजन हुन पुगेको थियो ।

अन्ततः पार्टी फुटेमा जनताको जनादेशको अपमान ठहरिने महसुस गरेका सो पार्टीका शीर्ष नेताहरु पुनः सहमतिबाटै अघि बढ्न उन्मुख भएपछि विवाद मत्थर हुँदै गएको आभास हुन थालेको छ भने ओलीको राजीनामाको विषय पनि तत्काललाई टर्ने देखिएको छ ।

यसअघि ओली–प्रचण्डका एक्लाएक्लै वार्ताले समेत समस्याको समाधान नदिइरहेका बेला गत शुक्रबार पुनः दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टी समस्या समाधान खोज्न ६ सदस्यीय कार्यदल गठन गरेका थिए । उक्त कार्यदल गठनबारे सुरुमा विवाद देखिए पनि त्यसलाई सचिवालय बैठकले अनुमोदन गर्दै वैधानिकता प्रदान गरेपछि कार्यदल सहमतिको अन्तिम मस्यौदा तयार गर्न व्यस्त छ ।

कार्यदललाई स्पष्ट टीओआर नदिए पनि नेकपाको आन्तरिक जीवनमा देखापरेका समस्या समाधान के हुनसक्छ भन्ने सूत्रको खोजीनीति भइरहेको छ । त्यसक्रममा पार्टी एकतासमेत बलियो बनाउनेगरी कार्यदलले काम गर्ने त्यसका सदस्य तथा संयोजकले सुरुमै बताएका थिए । यद्यपि उनीहरुले प्रतिवेदन तयार नपार्दासम्म मिडियामा नबोल्ने आचारसंहिताका कारण प्रतिवेदनबारे भइरहेको प्रगतिका बारेमा केही खुलाएका छैनन् ।

सो पार्टीका नेताहरुका अनुसार पार्टीमा सैद्धान्तिक वैचारिक विषय विवादको कारण भनिए पनि अन्ततः त्यो पार्टीभित्रका गुटहरुको व्यवस्थापन कसरी गर्ने भन्ने नै प्रमुख मुद्दा बनेको छ । त्यसमा दुई अध्यक्ष केपी ओलीदेखि प्रचण्डसमेतको कार्यविभाजन, मन्त्री, मुख्यमन्त्री, राजनीतिक नियुक्ति तथा आगामी महाधिवेशनपछिको नेतृत्वका विषयमा कार्यदलले प्रस्ट खाका बनाउनेछ र सोहीअनुसार नेताहरुको व्यवस्थापन गरिने छ । यसो गर्दा यसअघि ओलीको राजीनामाको विषयले प्रमुखता पाए पनि अब भने त्यो विषय छायामा पर्नेछ । किनभने तत्कालीन दुई पार्टी एकता गर्दाका अध्यक्षसमेत रहेका र महाधिवेशनसम्म दुवै जना अध्यक्ष रहने भन्ने सहमतिका कारण पनि ओलीको राजीनामाबाट प्रचण्डपक्ष पछि हट्ने सङ्केत देखिएको छ ।

के त्यसो भए ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पद छाड्नु पर्दैन त ? यो प्रश्नमा यसअघि ओेलीको राजीनामा आफैले मागेको बताएका अध्यक्ष प्रचण्डको बोली घुमाउरो ढङ्गले फेरिएको छ ।
एपी वान टेलिभिजनमा बुधबार प्रसारित ‘द बाभ्रो डेल्टा सो’ कार्यक्रममा प्रचण्डले भनेका छन्, ‘अब महाधिवेशनमा जाने भन्ने कुरा भएपछि पदका कुरा गौण भए । हिजो पनि हाम्रो विवाद पदका लागि भएको थिएन’, प्रचण्डले अझ अघि बढ्दै भने, ‘पार्टी एकताका कुरा गर्दा या गठबन्धनसहित निर्वाचनमा जाँदा र पार्टी एकता गर्दा पनि हामीबीच पदको बार्गेनिङ भएको थिएन’, प्रचण्डको यो भनाइबाट अब ओलीको राजीनामा माग्ने पक्षमा प्रचण्ड छैनन् ।
सोही कार्यक्रममा विवाद समाधानको सूत्र फेला परेको हो त ? भन्ने प्रश्नमा प्रचण्डले सबै तयार भइ नसकेको जबाफ दिएका छन् । ‘सबै तयार भइ नै सकेको भन्ने होइन । कार्यदलले आफ्नो कार्यादेशअनुसार सुझाव दिएपछि त्यसलाई औपचारिक रूपले स्थायी समिति बैठकमा लैजान्छौँ । समितिबाट निर्णय भइसकेपछि मात्रै त्यो देखिने परिणामका रूपमा आउँछ । फेरि समझदारी, सहमतिका प्रक्रिया सुुरु गरेका छौँ र पार्टी र सरकारका कामलाई प्रभावकारी बनाएर जानुपर्छ भन्ने ‘रियलाइजेसन’मा हामी पुगेका छौँ । स्थायी समिति बैठकबाट एउटा ‘रिजुलेसन’ पास गरेर उपयुक्त समयमा केन्द्रीय समितिको बैठकमा लैजाने हाम्रो कार्यक्रम छ,’ प्रचण्डले भनेका छन् । त्यति मात्रै होइन प्रचण्डले अहिले साढे चार सय जनाको बैठक बस्न व्यावहारिक रूपमा सम्भव नहुने पनि स्पस्ट बताएका छन् ।

‘कोरोनाको प्रकोप घटेपछि केन्द्रीय समिति बैठक बसी महाधिवेशनमा जाने भन्ने हो । अहिलेको विवाद÷बहसको राजनीतिक, सैद्धान्तिक, व्यावहारिक, साङ्गठनिक र सांस्कृतिक समाधान हामीले चाहेका हौँ’, प्रचण्डको भनाइ छ ।
अध्यक्ष प्रचण्डले क्याबिनेट पुनर्गठन र प्रदेश सरकारमा थपघट र संवैधानिक नियुक्तिबारे प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा, आफू र प्रधानमन्त्रीबीच छलफल भएको भन्दै उनले प्याकेजमै सहमति गर्नेे सोचाइ रहेको बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार