छाउगोठमै जलिन् वसन्ती

  • आइतवार, साउन ३२, २०७७
छाउगोठमै जलिन् वसन्ती
प्रदेश अस्पतालमा उपचाररत छाउगोठमा जलेकी दैलेखकी वसन्ती विक । कान्तीपुर

चाँदनी कठायत — सरकारले गत वर्ष छाउगोठ भत्काउन निर्देशन दिएपछि स्थानीय प्रशासन र प्रहरीको अगुवाइमा सुर्खेत र दैलेखका झण्डै २५ सय छाउगोठ भत्काइयो । तर छाउगोठ भत्किए पनि मन नभत्किँदा कर्णालीका महिलालाई असुरक्षित छाउगोठमा बस्नुपर्ने बाध्यता अझै छ ।

असुरक्षित छाउगोठका कारण दैलेखकी वसन्ती विक छाउगोठमै जल्न बाध्य भएकी छिन् । दैलेखको दुल्लु नगरपालिका–६ पुसाकोटकी वसन्ती गत असार ४ गते महिनावारी भएपछि छाउगोठमा बसिन् । छाउगोठमा बसेको ४ दिनपछि असार ८ गते दिनभर वर्षा भयो । वर्षाका कारण छाउगोठमा किराहरु पसेपछि उनले आफ्नो जेठा छोरा रुपेन्द्रलाई घरबाट आगो ल्याउन लगाइन् । किराहरु भगाउनका लागि आगो सल्काइन् र आफू खाना खान थालिन् । खाना खाँदै गर्दा आफैंले लगाएको आगोले उनको शरीर जल्यो । प्रदेश अस्पताल सुर्खेतमा उनको उपचार भइरहेको छ । ‘आमालाई खाना थप्‍न जाँदा जलेको थाहा पाएपछि सबैलाई बोलाएँ,’ रुपेन्द्रले भने, ‘आमालाई त भोलिपल्ट होसमा आएपछि मात्रै शरीर जलेको थाहा भयो ।’

आगोले बाँया पाखुरा र छाती पोलिए पनि सुरुमा उनलाई घरमै झारफुक गर्न थालियो । ‘पोलेको घाउमा घिउकुमारी र कुखुराको बोसो लगाइदिएछन्, उपचार गर्ने पैसा नभएपछि घाउमा किरा परुन्जेल घरमा राखेछन्,’ देवर शेरबहादुरले भने, ‘पछि मैले उपचार गर्न दुल्लु लगे ।’ जलेको भागमा संक्रमण फैलन थालेपछि ८ दिनपछि छिमेकीबाट १० हजार रूपैयाँ सापटी लिएर उनलाई दुल्लु अस्पताल पुर्‍याइएको थियो । उपचार सम्भव नभएको भन्दै दुल्लु अस्पतालले रिफर गरेर प्रदेश अस्पताल पठाएको हो ।

समयमै अस्पताल ल्याएको भए अप्रेशन गरेर अर्को छाला हाल्नुपर्ने अवस्था नआउने उपचारमा संलग्न चिकित्सकको भनाइ छ । उनको बायाँ पाखुरा र छातीतर्फको करिब ५ प्रतिशत भाग जलेको अस्पतालका सर्जन डा. निर्मल शाहीले बताए । उनका अनुसार वसन्तीको शल्यक्रिया सफल भएको छ । ‘सुरुमा जलेको भागमा किरा परेकाले त्यही किटाणु नष्ट गरियो,’ उनले भने, ‘अहिले शरीरको अर्को भागबाट छाला काटेर टाँस्ने (स्क्रिन ग्राफ) भइसकेको छ, घाउ निको हुन्जेल अस्पतालमै बस्नुपर्छ ।’

घरको आर्थिक अवस्था कमजोर रहेकाले अस्पतालले औषधिबाहेक सबै सेवा नि:शुल्क गरेको छ । शेरबहादुरका अनुसार उपचारको क्रममा अहिलेसम्म ७० हजार रुपैयाँ खर्च भइसकेको छ ।

वसन्तीको ७ जनाको परिवार छ । पतिले घरमै किसानी गर्छन् भने जेठो छोरा कमाउन भारत जान्थे । कोरोनाका कारण भारतको काम पनि रोकिएका बेला आमा आगोले पोलिएपछि घर खर्च कसरी टार्ने भन्ने चिन्तामा रहेको रुपेन्द्रले गुनासो गरे ।

कानुनले पनि छाउगोठलाई अपराध भनेको छ । मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १६८ को उपदफा ४ ले महिलाको रजस्वला वा सुत्केरी अवस्थामा छाउगोठमा राख्न वा त्यस्तै अन्य कुनै किसिमको भेदभाव वा छुवाछुत वा अमानवीय व्यवहारको कसुर गर्ने व्यक्तिलाई ३ महिनासम्म कैद वा ३ हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरेको छ ।

सरकारी तथ्यांकअनुसार कर्णालीका करिब ७० प्रतिशत महिला अझैं पनि छाउगोठमा बस्न बाध्य छन् । छाउगोठमा अंगभंग हुने, बलात्कृत हुने र ज्यान गुमाउनेको एकीन तथ्यांक नभएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार