त्रिवि वनस्पति शास्त्र अध्ययन संस्थानका पीएचडी अध्ययनरत श्यामशरण श्रेष्ठसहित उनका सुपरीवेक्षकहरु प्राध्यापक संगिता राजभण्डारी, दीपकराज पन्त र पाडोभा विश्वविद्यालय इटालीका प्राध्यापक स्टेफानो डालआक्वा सम्मिलत अनुसन्धानले उक्त निष्कर्ष निकालेको हो ।
मोलिक्युल्स जर्नलमा प्रकाशित उक्त अनुसन्धानले नेपालमा पाइने अल्लो हेपाटिक क्यान्सरका लागि सबैभन्दा बढी उपयोगी देखिएको पनि जनाएको छ ।
अनुसन्धानकर्ता श्रेष्ठले कान्तिपुरलाई भने,‘अल्लोले हेपाटिक क्यान्सरका बिरामीलाई क्यान्सर लगाउने कोषहरु वृद्धि गर्न दिँदैन । यसमा भएका फाइटोस्टेरोलले कोष वृद्धि गर्न नदिने भएकाले अल्लो बहुउपयोगी छ ।’ फाइटोस्टेरोल तत्वले कलेजोमा क्यान्सर वृद्धि गर्ने कोषहरु रोकिदिने काम गर्ने अनुसन्धानकर्ता श्रेष्ठले बताए । अल्लोमा हुने तत्वले हेपाटिक, प्यानक्रियाटिक र ओभरियन सेललाइन विरुद्ध काम गर्ने देखिएको पनि उनले बतए ।
नेपालमा अल्लोको एउटा प्रजाति मात्रै पाइन्छ । नेपालीमा चाल्ने सिस्नुले समेत भनिने अल्लो घरायसी सिस्नुभन्दा केही फरक हुने गरेको अनुसन्धानकर्ताहरुले बताएका छन् ।
यो प्रजातिको अल्लो नेपालमा १२ सयदेखि ३ हजार मिटरको उचाईमा पाइन्छ । श्रेष्ठले सिन्धुलीगढीबाट अल्लोको नमुना संकलन गरेर इटालीस्थित पादोवा विश्वविद्यालयमा यसमा पाइने तत्वहरुको अध्ययन गरेका थिए ।
लुगा, डोरी, सुकुल, नाम्लो र उपहारका सामानहरु बनाउन प्रयोग हुँदै आएको अल्लो नेपाल लगायत भारत, भुटान, पूर्वी चीन, म्यानमार, इन्डोनेसिया, अफ्रिकामा पनि पाइन्छ ।
पराम्परागत मान्यता अनुसार नेपालमा अल्लो खानाले ग्यास्ट्रिक, छाती दुखाइ,बाथ, क्षयरोग, टाउको दुखाइ, मधुमेह, दम सुत्केरी व्यथा, रक्त शुद्धीकरण हाड भाँचिएको ठाउँमा उपयोग हुँदै आएको अनुसन्धानकर्ता श्रेष्ठले बताए ।