शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • प्रदेश १
  • ५४ जिल्लाका २३८ ठाउँमा पहिरो : ११४ भन्दा बढीको मृत्यु, पुरिएर ५० बेपत्ता

५४ जिल्लाका २३८ ठाउँमा पहिरो : ११४ भन्दा बढीको मृत्यु, पुरिएर ५० बेपत्ता

  • बुधबार, साउन ७, २०७७
५४ जिल्लाका २३८ ठाउँमा पहिरो : ११४ भन्दा बढीको मृत्यु, पुरिएर ५० बेपत्ता

काठमाडौँ — मनसुन सुरु भएयता ५४ जिल्लाका २ सय ३८ ठाउँमा पहिरो गएको छ । सिन्धुपाल्चोक, संखुवासभा, कास्की, म्याग्दी, गुल्मी, धादिङ, तनहुँ, बझाङ, काठमाडौंलगायत जिल्लामा गएका पहिरोबाट भएको भौतिक क्षतिको विवरण भने सरकारले अझै संकलन गरिसकेको छैन । गृह मन्त्रालयका अनुसार पहिरोमा परी २३ जिल्लामा १ सय १४ जनाभन्दा बढीको मृत्यु भएको छ भने ९ जिल्लाका ५० जना अझै बेपत्ता छन् ।

तनहुँको बन्दीपुर गाउँपालिका–१ नाहालामा गएको पहिरोका कारण क्षति पुगेका घर तस्बिर : सम्झना रसाइली/कान्तिपुर

सबैभन्दा बढी मानवीय क्षति सिन्धुपाल्चोक, म्याग्दी, संखुवासभा, बझाङ, कास्की, जाजरकोट, धादिङलगायत जिल्लामा भएको छ । बझाङको केदारस्युँ गाउँपालिका–८, मल्लेसीमा पहिरोमा पुरिएर गत असार १९ गते सात जनाको मृत्यु भएको थियो, एक जना अझै बेपत्ता छन् । पहिरोबाट २१ घरपरिवार विस्थापित भएका थिए । त्यसको पाँच दिनपछि असार २४ गते सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको जम्बु र भोटेकोसी गाउँपालिकास्थित गुल्कोटे र फुलपिङकट्टीमा पहिरो जाँदा ७ जनाको मृत्यु भयो । २३ जना बेपत्ता छन् । पहिरोले कोदारी राजमार्ग अवरुद्ध छ ।
असार २६ गते म्याग्दीका विभिन्न स्थानमा पहिरोबाट २८ जनाको ज्यान गयो भने चार अझै भेटिएका छैनन् । म्याग्दीको बेनीबाट मुस्ताङको जोमसोम जोड्ने सडकखण्ड अवरुद्ध छ । पहिरोले चारवटा मोटरेबल पुलका साथै पाँच ठाउँमा सडक बगाएको छ । संखुवासभाको सिलिचोङ गाउँपालिका–१, सिसुवा खोलामा पहिरोमा ११ जना बेपत्ता छन् । बेपत्ताको उद्धारमा गएका एक स्थानीयको समेत मृत्यु भएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले बताए ।

पहिरो र बाढीले आधा दर्जनभन्दा बढी जिल्लाका मुख्य र सहायक मार्ग अवरुद्ध बनेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । असार २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को बैठकले पहिरोबाट अवरुद्ध बेनी–जोमसोम सडकखण्ड १५ दिनभित्र र सिन्धुपाल्चोकको कोदारी राजमार्ग जतिसक्दो चाँडो सञ्चालन हुने गरी काम थाल्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ र सचिव देवेन्द्र कार्कीलाई निर्देशन दिएको थियो । तर प्रधानमन्त्रीको निर्देशनअनुसार अवरुद्ध सडक खुलाउने काम अघि बढेको छैन । म्याग्दी र सिन्धुपाल्चोक मात्र होइन, उपत्यकाको ‘लाइफलाइन’ मानिएको नारायणगढ–मुग्लिङ सडकखण्डमा पहिरो खस्दा अवरुद्ध सडक मंगलबार अपराह्नबाट एकतर्फी मात्र खुलेको छ ।

पहिरोपछिको बाढीले बाजुराको बूढीगंगा नगरपालिकास्थित ताप्रिसेराको पक्की पुल बग्दा अछाम र बाजुरामा यातायात आवागमन बन्द छ । साउन ५ गते राति पहिरो र बाढीले पृथ्वी राजमार्ग सडकखण्डअन्तर्गत चितवन–धादिङको मौवा खोलाले पक्की पुल भत्काएको छ । त्यहाँ बेलिब्रिज वा एक्रोब्रिज राखेर आवागमन खुलाउने विषयमा भौतिक पूर्वाधार मन्त्रालय र सेना छलफलमा जुटेका छन् । मंगलबार सिद्धार्थ राजमार्गअन्तर्गत सिद्धबाबा सडकखण्डमा दर्जनभन्दा बढी स्थानमा पहिरोले बाटो अवरुद्ध बनेको थियो । अपराह्नबाट सावधानी अपनाएर यातायात सञ्चालन गरिएको पाल्पाका प्रहरी प्रमुख एसपी दीपक खरेलले बताए ।

अविरल वर्षाका लागि मुलुकभर बाढीपहिरो र डुबानका घटना बढेसँगै नेपाली सेनाले उद्धार र राहत वितरणका लागि चार स्थानमा तीन ‘स्काई ट्रक’ र १० वटा हेलिकप्टरलाई तयारी अवस्थामा राखेको छ । पश्चिम एयरबेस सुर्खेतमा स्काई ट्रक, एउटा एमआई–१७ र इकुरेल खटाइएको छ । यस्तै, मध्य एयरबेस काठमाडौंमा दुईवटा स्काई ट्रकसहित एमआई–१६, इकुरेल, अगस्टा, पिपर र कासा हेलिकप्टर तयारी अवस्थामा राखिएको छ । पूर्व एयरबेस सुनसरीको इटहरीमा एक बेल हेलिकप्टर र चितवनको भरतपुरमा एक एमआई–१७ हेलिकप्टर राखिएको छ ।

सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार सेनाले विपद् व्यवस्थापनका लागि ती हवाई साधनहरूलाई म्याग्दी, सिन्धुपाल्चोक, तनहुँ र म्याग्दीलगायतका स्थानमा प्रयोगमा ल्याइसकेको छ । सेनाले रौतहटमा गौरको छठघाट इलाका र गढिमाई–१ समनपुरमा हेलिकप्टर उडान–अवतरणका लागि सुरक्षित स्थान बनाएको छ ।

घाइतेको उद्धारका लागि नेपालगन्ज, पोखरा र इटहरीका सैनिक अस्पतालमा ५०/५० शय्यासमेत तयार राखेको छ । विपद् व्यवस्थापन कार्यकै लागि सेनाको प्रत्येक पृतना र गणहरूबाट आवश्यक स्रोतसाधनसहितको फौज प्रभावित क्षेत्रमा खटाइएको छ । ‘विपद् व्यवस्थापन निर्देशनालयअन्तर्गत विपद् व्यवस्थापन गणले देशका ८ स्थान इटहरी, सिरहा, गजुरी, भैरहवा, नेपालगन्ज, कैलाली, चितवन र पोखरामा फौज परिचालन गरेको छ,’ पौडेलले भने । कान्तीपुरबाट

चर्चामा

सम्बन्धित समाचार