शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • प्रदेश ७
  • सुदूरपश्चिम सरकारले एक वर्ष कृषि र पर्यटनमा लाग्ने कर मिनाहा गर्ने

सुदूरपश्चिम सरकारले एक वर्ष कृषि र पर्यटनमा लाग्ने कर मिनाहा गर्ने

  • बुधबार, असार ३१, २०७७
सुदूरपश्चिम सरकारले एक वर्ष कृषि र पर्यटनमा लाग्ने कर मिनाहा गर्ने

सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७७/०७८ मा कृषि र पर्यटनमा लाग्ने कर मिनाहा गर्ने भएको छ। प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहराले आगामी आर्थिक वर्षको बजेटले कृषि र पर्यटनमा लाग्ने सबै कर मिनाहा गर्ने व्यवस्था गरेको बताए।

प्रदेश सरकार क्षेत्राधिकारभित्र रहेको कृषिमा आवद्ध रहेको व्यक्ति, समूह र व्यवसायीलाई कुनै पनि कर नलगाउने उनले बताए। पर्यटन क्षेत्रमा पनि लाग्ने सशुल्क वा गैरकर मिनाहा गर्ने व्यवस्था गरी संसदबाट पारित भैसकेको मन्त्री बोहराले बताए। ‘कोरोना महामारीका कारण पर्यटन व्यवसायमा ठूलो क्षति पुगेकाले कर मिनाहा गर्नुपरेको हो’, उनले भने। यस्तै, कृषिमा आत्मनिर्भर हुन र रोजगारी सृजना गर्न कर नलिने व्यवस्था गरिएको उनले बताए।

उनले कसले कति नाफा कमायो, त्यही अनुसार कर लाग्ने गरेको बताए। कृषिमा विशेषगरी आयकर लाग्ने गरेको थियो।  आगामी वर्ष त्यो पनि मिनाहा हुने भएको छ। पर्यटन व्यवसायी र पर्यटकले प्रदेश सरकारलाई तिर्नुपर्ने कुनै पनि कर आगामी आर्थिक वर्ष लाग्ने छैन। उनले कृषि र पर्यटनसँगै घरजग्गा दर्ता/पास गर्ने, मालपोतमा लाग्ने शुल्क, यातायातमा लाग्ने कर, मनोरन्जनमा लाग्ने लगायतका प्रदेश सरकारले लगाउने करमा व्यापक कटौती गरेको बताए।

देशभरमै कम कर लगाउने सुदूरपश्चिम प्रदेश सरकार रहेको उनको दाबी छ। कर कटौती गर्दा घट्ने आय व्यवस्था गर्न रणनीतिक कार्ययोजना बनाइएको उनको भनाइ छ। उनले कोभिड-१९ ले प्रभावित बनेको अर्थतन्त्रलाई चलायमान बनाउन र सबै व्यवसायीलाई राहत पुग्ने गरी करमा हेरफेर गरिएको बताए।

चर्चामा

सम्बन्धित समाचार