दुई बर्ष देखी साँफे मार्तडी सडक खण्डको अम्कोटमा बर्षातमा अबरोध हुदै आएको छ । बल्ल अहिले उक्त सडकको बिकल्पको खोजिका लागि अध्ययन शुरु भएको छ । जिल्लामा सरोकारवालको छलफल पटक पटक हुदै गएको भएपनि सडकको बिकल्पका लागि सार्थक प्रयास हुन सकेको थिएन् ।
यो बर्ष पनि १ हप्ता पहिला देखी नै सडक पुर्ण रुपमा अबरोध भएपछि बिकल्पको अध्ययन शुरु गरिएको छ । आईतवार जिल्लास्तरीय सरोकारवाला निकाय सम्मिलित टोलीले साँफे मार्तडी सडकको अवस्था र नयाँ मार्गका लागि विकल्पबारे स्थलगत अध्ययन गरेको छ । जिल्ला विपत् व्यवस्थापन समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोलीले द्वारी, अम्कोट बल्दे सडकको विकल्पबारे जानकारी लिएको छ । टोलीले स्थलगत अध्ययनसहित नयाँ मार्ग बन्न सक्ने प्रारम्भिक अवस्थाबारे जानकारी लिएको प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले बताए । जानकारी लिन टोली बल्दे, द्वारी, अम्कोट हुँदै धुरालसैन सम्म पुगेको थियो ।
अध्ययन टोलिमा बडिमालिका नगरपालिका नगरप्रमुख पदम बडुवाल, नेकपा नेता गगन रावल, अम्मर खड्का, नेपाली सेना, जनपत प्रहरी, शसस्त्र प्रहरीका प्रमुख, साँफे मार्तडी सडक डिभिजनका प्रमुख, नागरिक समाज, पत्रकार लगायतको सहभागिता रहेको थियो । करिब एक किलोमिटर भन्दा बढी सडक पहिरोले भासिएको र साँफे मार्तडी सडक अन्तर्गत द्वारी क्षेत्रमा नयाँ मार्ग निर्माणका लागि कुनै विकल्प नभए पनि अर्को मार्गको बारे छलफल शुरु गरिएको छ । बल्देबाट आटीचौर जाने सडकलाई नै माथि पुर्याएर अम्कोटमाथि हुँदै तिपाडा झार्न सकिने विकल्पबारे छलफल चलिरहे पनि त्यो समेत दिगो नहुने देखिएको छ ।
जिल्ला स्तरीय टोलीले अवस्थाबारे जानकारी लिन मात्र गएको र सडकको मार्गबारे प्राविधिक अध्ययनपछि मात्र थाह हुने बताएको छ । सवारीसाधान मार्तडीबाट द्वारी र तलबाट पनि बल्देसम्म मात्र आउने गरेका छन् । सडक अवरोध हुँदा पैदल यात्रा गर्न पनि निकै समस्या भएको छ । बूढीगङ्गा नगरपालिका–१ अम्कोटमा ठूलो पहिरो खसेको छ । पैदलयात्राका लागिसमेत माथि जङ्गलको बाटो हिँड्नुपर्ने अवस्था छ ।
तत्कालका लागि सोही भासिएको जमीनलाई नै ट्र्याक खोलेर गाडी चल्ने बनाए पनि दीर्घकालीन रूपमा अम्कोटका बासिन्दालाई वैकल्पिक बाटोको व्यवस्था गरेर धुरालसैन, ढुंगी, रिला हुँदै तिपाडा निकाल्ने गरी मार्ग निर्धारण गर्नेबारे छलफल अघि बढेको छ । त्यसका लागि तत्काल काम अघि बढाउने र बडिमालिका र बूढीगङ्गा नगरपालिकाले आफ्नो क्षेत्रको बाटो खोल्नका लागि सहयोग गर्ने प्रस्ताव अघि सारिएको छ । बैकल्पिक भनिएको बाटो पनि करिब १० किलोमिटर कच्चि निर्माण गर्न दुई तिन महिना लाग्ने र बर्षातमा काम गर्न पनि सहज नभएकाले तत्कालको ठाँउ बाटै सडक निर्माण गरि यातायात सञ्चालन गर्ने रहेको छ ।