शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • राजनीति
  • नेकपा विवादले ‘सीमा’ काट्यो, भारतपछि चीन पनि जोडियो

नेकपा विवादले ‘सीमा’ काट्यो, भारतपछि चीन पनि जोडियो

विवादमा राष्ट्रपतिदेखि कांग्रेससम्म पनि तानिए कमल थापाको प्रश्न–रिमोट कन्ट्रोलबाट चल्ने लोकतान्त्रिक गणतन्त्रले नेपालको हित गर्छ ?

  • मङ्लबार, असार २३, २०७७
नेकपा विवादले ‘सीमा’ काट्यो, भारतपछि चीन पनि जोडियो

काठमाडौँ — सत्तारुढ नेकपाको ‘घरझगडा’मा भारत पछि चीन पनि जोडिएको छ । असार १४ मा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई हटाउन भारतीय राज्यसंयन्त्र लागेको दाबी गरेपछि नेकपा विवादमा भारत मुछिएको थियो ।

त्यसको एक सातापछि चिनियाँ राजदूतले भेट सुरु गरेर नेकपा विवादबारे चासो राखेकी छिन् । योसँगै नेकपा विवादमा चिनियाँ ध्यान खिचिएको राजनीतिक र कूटनीतिक मामलाका जानकारहरुले बताउन थालेका छन् । अर्थात नेकपाको आन्तरिक विवादमा दुवै छिमेकी देखिने गरी जोडिएका हुन् ।

त्यसैले नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले सामाजिक सञ्जालमार्फत सन्देश दिने कोसिस गरे, ‘नेपालको आन्तरिक राजनीतिक आयामलाई यो वा त्यो वैदेशिक शक्तिले निर्देशित गर्छ भने सबैखाले षडयन्त्रका सिद्धान्त हामी अस्वीकार गर्छौं । सार्वभौम राष्ट्रका रुपमा हामी आफैँ निर्णय लिन सक्षम छौँ । हस्तक्षेप गर्ने कुनै पनि प्रवृत्ति हामीलाई अस्वीकार्य छ ।’

दुई छिमेकीसँगै नेकपा घरझगडामा राष्ट्रपति विद्यादेवी भण्डारी र विपक्षी कांग्रेस पनि मुछिएको छ । अध्यादेश र महाअभियोग प्रसंगले राष्ट्रपतिलाई विवादमा तान्यो । यही बीचमा प्रधानमन्त्रीले विपक्षी दलका नेतालाई भेटेपछि नेकपा विवादमा कांग्रेस पनि जोडिएको हो ।

नेकपा विवादमा को कसरी मुछिए ?

१. आरोपसँगै ओलीले ताने भारतलाई विवादमा
नेकपा स्थायी कमिटी बैठक चलिरहेकै बेला प्रधानमन्त्री ओलीले असार १४ मा बालुवाटारबाटै नक्सा जारी गरेबापत भारतीय राज्य संयन्त्र र पार्टीकै केही नेताले प्रधानमन्त्री पदबाट हटाउन सक्रिय भएको अभिव्यक्ति दिए ।

‘तपाईं हामी सबैलाई थाहा छ जस्तो लाग्छ । तपाईंहरुले पनि सुन्नुभएको हुनुपर्छ, हप्ता-पन्ध्र दिनमा प्रधानमन्त्री परिवर्तन हुँदैछ भनिँदैछ । भारतका मिडियाहरु सुन्नुभएको होला । भारतका बौद्धिक बहसहरु सुन्नुभएको होला । कसरी भारतको राज्य संयन्त्र अचम्मसँग सक्रिय छ,’ उनले भनेका थिए, ‘हामीले हाम्रो जमिन फिर्ता ल्याउन खोज्यौं, अरुको जमिनमा दाबी गरेको होइन । त्यसकारण हामीले कुनै गल्ती गरेका छैनौं । तर, यहाँँ नेपालकै नेता लाग्या छन् । बहस चलेको रहेछ । अहिले होइन, केपी ओलीलाई नहटाई हुँदैन ।’

ओली यतिमै रोकिएका थिएनन् । उनले अगाडि भनेका थिए, ‘बाहिर भन्न नसक्ने तर भित्रभित्र यस्तो अपराध गर्नेलाई चाहिँ, दिल्लीका सञ्चार माध्यमहरु सुन्नोस्, त्यसैले निर्देश गरिहाल्छ कि कहाँ–कहाँ के-के भइराख्या छ । यहाँका होटलहरुमा भइराखेका गतिविधिहरु, त्यसले पनि बताइराखेको छ । एम्बेसीको सक्रियता, त्यसले पनि बताइराखेको छ ।’

संसदमा झन्डै दुई तिहाई बहुमत भएको नेकपाका अध्यक्षसमेत रहेका ओलीले पार्टी बैठक चलिरहेको बेला यस्तो अभिव्यक्ति दिए पछि पार्टीभित्र हल्लीखल्ली भएको थियो । कतिपय नेताले भारतीय राजदूतलाई बोलाएर स्पष्टीकरण माग्नु पर्ने समेत कुरा उठाए । ओलीको अभिव्यक्तिलाई लिएर नेपालमा विरोध भए पनि भारत सरकारले केही प्रतिक्रिया दिएको भने छैन ।

२. राजदूत यान्छीको सक्रियताले चीन जोडियो
नेकपाभित्र शक्ति संघर्षका चर्किरहँदा नेपालका लागि चीनकी राजदूत होउ यान्छीले शीर्ष नेताहरुसँगको भेटघाटलाई तीव्रता दिएकी छिन् । होउले मंगलबार बिहान पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालसँग भेटेकी छिन् । डल्लुस्थित खनाल निवास पुगेर होउले भेटेकी थिइन् । यद्यपि भेटमा समसामयिक र आपसी सम्बन्धका विषयमा मात्रै कुराकानी भएको दाबी गरिएकाे छ ।

यस्तै, आइतबार बेलुकी नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग कोटेश्वर पुगेर भेटवार्ता गरेकी थिइन् । भारतले नेकपा घरझगडा निम्त्याएको र चिनियाँ राजदूत झगडा मिलाउन सक्रिय भएको भनेर आलोचना भइरहेको छ ।

यस विषयमा पूर्व परराष्ट्रमन्त्री एवं राप्रपा अध्यक्ष कमल थापाको सामाजिक सञ्‍जालमा टिप्पणी आयो, ‘प्रम ओली भन्नुहुन्छ–सरकार गिराउन भारतीय राजदूत सक्रिय भए । अर्कोतर्फ चिनियाँ राजदूत सरकार बचाउन नेताहरूको घरमा पुग्छिन् । के यस्तै रिमोट कन्ट्रोलबाट चल्ने लोकतान्त्रिक गणतन्त्रले नेपालको हित गर्छ ? राष्ट्रियता जोगाउन सक्छ ?’

कांग्रेस नेता धनराज गुरुङले लेखेको छन्, ‘सरकार ढलाउन भारतीय राजदूत सक्रिय भयो भन्ने प्रम ओलीको सरकार बचाउन चिनियाँ राजदूत नेताहरुको घरदैलोमा पुगेको खबर आएको छ । जब नेपालको सरकार ढलाउने र बचाउने काम नै विदेशी राजदूतहरुबाट हुने हो भने हाम्रो राष्ट्रियता कहाँ पुग्दैछ ? कुर्सी ढलाउन र बचाउन राष्ट्रियता नै तिलाञ्जली ?’

यसअघि अध्यादेश प्रकरणले नेकपामा अहिले जस्तै विवाद हुँदा राजदूत होउले वैशाख १९ गते दाहाल र नेपालसँग उनीहरुकै निवासमा छुट्टाछुट्टै भेटवार्ता गरेकी थिइन् । संयोगवश लगत्तै नेकपाको आन्तरिक विवाद मिलेको थियो । केही दिन अघि चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुले भिडियो कन्फरेन्समार्फत नेकपाका नेताहरुलाई प्रशिक्षण दिएको भनेर पनि आलोचना भएको थियो ।

३. ओली–देउवा भेटले कांग्रेस विवादमा
नेकपा विवादको बाछिटाले कांग्रेसलाई पनि भिजाएको छ । नेकपाभित्रको शक्ति संघर्ष सतहमा आइरहेकै बेला असार १७ गते प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवा बीच करिब डेढ घण्टा गोप्य भेटवार्ता भयो । त्यसबाहेक ओलीका विश्वास पात्र सुवास नेम्वाङ र देउवाबीच आइतबार फेरि भेटघाट भएको थियो ।

ओली र देउवा साथै नेम्वाङबीचको भेटघाटले नेकपामा ओली इतर खेमालाई त आशंकित बनायो नै, कांग्रेसभित्र पनि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष पनि सशंकित भयो । त्यो गोप्य भेटबारे देउवाले आइतबार पार्टी केन्द्रीय कार्यसमिति बैठकमा प्रष्टिकरण नै दिनुपर्‍यो ।

पौडेलले गोप्य भेटबारे बैठकलाई जानकारी गराउन माग गरेपछि देउवाले प्रधानमन्त्री ओलीसँग कुनै किसिमको गोप्य सम्झौता नभएको प्रस्टीकरण दिएका थिए ।

४. महाअभियोगको दाबीले राष्ट्रपति पनि जोडिइन्

सत्तारुढ नेकपा शक्ति संघर्ष चुलिएका बेला संवैधानिक भूमिकामा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी पनि विवाद तानिइन् । प्रधानमन्त्री ओलीले शनिबार साँझ मन्त्रीहरुसँगको छलफलमा पार्टी भित्रैबाट राष्ट्रपतिलाई नै महाभियोग लगाउने षड्यन्त्र भएको अभिव्यक्ति दिएर नेकपा विवादमा राष्ट्रपति जोडिइन् ।

प्रधानमन्त्रीबाटै महाअभियोग प्रसंग बाहिर आएपछि नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल र माधवकुमार नेपालले राष्ट्रपतिलाई भटेर प्रष्टीकरण दिनुपर्‍यो ।

त्यसबाहेक राष्ट्रपतिबाट भएका काम र भेटघाटलाई लिएर पनि नेकपाभित्र र बाहिरबाट प्रश्न उठे । अर्कोतर्फ नेकपाभित्रै राष्ट्रपतिले प्रधानमन्त्री ओली समूहको हितमा काम गरेको आरोप लाग्यो । नेकपाको विवाद मिलाउन होस् वा असन्तुष्ट खेमाका नेतालाई ओली समूहमा ल्याउन पनि राष्ट्रपतिले भूमिका खेलिन् ।

यस्तै, वैशाख ८ मा दल विभाजनसम्बन्धी अध्यादेश होस् वा पार्टीमा सहमतिविपरीत असार १८ मा मन्त्रिपरिषद् बैठकबाट संसद अधिवेशन अन्त्यको सिफारिस सदरको विषयमा पनि राष्ट्रपति विवादमा जोडिएकी थिइन् । संसद अधिवेशन अन्त्यको सिफारिस गर्नु पहिला प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास पुगेका थिए ।

पार्टीमा आफूविरुद्ध संकट चुलिँदै गएको अवस्थामा संसद अधिवेशन अन्त्य गर्ने सरकारको सिफारिसलाई राष्ट्रपतिले तुरुन्तै सदर गरेर संसद सचिवालय पठाइन् । राष्ट्रपतिले तुरुन्तै सदर गरेपछि नेकपा अध्यक्ष दाहाल सोही दिन एक पक्षको मात्रै कुरा नसुन्न आग्रह गर्न शीतल निवास पुगेका थिए । अध्यादेश प्रकरणमा पनि सरकारले सिफारिस गरेलगत्तै राष्ट्रपतिले जारी र फिर्ता गरेकी थिइन् । कान्तीपुर दैनिकबाट शाभार

चर्चामा

सम्बन्धित समाचार