बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • देश
  • कांग्रेस बैठकमा भनाभन : नागरिकतामा देउवाको लाइन खारेज !

कांग्रेस बैठकमा भनाभन : नागरिकतामा देउवाको लाइन खारेज !

  • बुधबार, असार १७, २०७७
कांग्रेस बैठकमा भनाभन :  नागरिकतामा देउवाको लाइन खारेज !

काठमाडौं : नागरिकता संशोधन विधेयकलाई लिएर बहस भइरहेका बेला प्रमुख प्रतिपक्षी कांग्रेस सभापति शेरबहादुर देउवाले अघिल्लो साता नागरिकतामा ‘महिला पुरुषबीच विभेदको रेखा नकोरौं’ भन्दै लगातार तीन वटा ट्वीट गरे ।

नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलालाई ७ वर्षपछि अंगीकृत नागरिकता दिने प्रावधानसहितको नागरिकता विधेयक संसदको राज्य व्यवस्था समितिले बहुमतले पास गरेपछि सभापति देउवाले नेपाली महिलासँग बिहे गर्ने विदेशी पुरुषका बारेमा पनि कानुनमा समेट्नु पर्ने भन्दै ट्वीट गरेका हुन् । नेपाली महिलासँग बिहे गर्ने विदेशी पुरुषले आफ्नो देशको नागरिकता त्यागेर नेपालमै बस्न चाहे नागरिकता दिनेबारे विधेयक मौन छ ।

पार्टी पदाधिकारी बैठकमा विदेशी पुरुषका बारेमा कुनै छलफल नै नभएको विषयमा सभापति देउवाले ट्वीटमार्फत् समानताको मर्म अनुरुप नागरिकता विधेयक अघि बढाउन सत्तारुढ दलसँग माग गरेपछि कांग्रेसभित्र तरंग ल्यायो ।

कांग्रेस पदाधिकारी बैठकले बैबाहिक अंगीकृत नागरिकताका सवालमा विदेशी महिलालाई ७ वर्षको प्रावधानप्रति आपत्ति जनाउँदै अहिलेकै कानुनी व्यवस्थालाई निरन्तरता दिनुपर्ने निर्णय गरेको थियो । पदाधिकारीको निर्णय अनुसार नै राज्य व्यवस्था तथा सुशासन समितिमा पार्टीकातर्फबाट प्रतिनिधित्व गर्ने सांसदले फरक मत राखेका थिए ।

सभापति देउवाको ट्वीट पार्टी निर्णय विपरीत आएको भन्दै उपसभापति बिमलेन्द्र निधि लगायतले केन्द्रीय समिति बैठक बोलाउन दबाब थिए । पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका संशोधन गर्न केन्द्रीय समिति बैठक बोलाइएको भनिए पनि प्रमुख एजेण्डा नागरिकता विधेयककै थियो ।

बैठकमा नागरिकताको विषयलाई लिएर रस्साकस्सी नै मच्चियो । मंगलबार करिव ७ घण्टा लामो चलेको बैठकले पार्टी सभापति देउवाको लाइनलाई खारेज गरिदियो। ‘सभापतिज्यूको मनशाय नागरिकतामा विभेद नगरौं भन्ने थियो, तर त्यही कुरा पार्टीले निर्णय नै गर्नुपर्छ भनेर जवर्जस्त थिएन,’ देउवा निकट एक केन्द्रीय सदस्यले भने, ‘अहिले पार्टीको विरोध प्रस्ताविक नागरिकता विधेयकमा ७ वर्षको प्रावधान राखिएको छ, त्यसमा हो ।’

सभापति देउवाको ट्वीटलाई लिएर वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासहित अधिकांश मधेसी नेताहरुले प्रश्न उठाएका थिए । सभापति देउवाले आफू नागरिकतामा समानता हुनुपर्छ भन्ने पक्षमा भएपनि बैठकले गर्ने निर्णय मान्य हुने आफ्नो मतमा अडान लिएनन् ।

सभापति देउवाका पक्षमा नेता गगनकुमार थापा, प्रदीप पौडेललगायतले बोलेका थिए । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले भने नागरिकता विधेयकको एउटा सन्दर्भमा मात्रै पार्टीले निर्णय गरेको दाबी गर्दै सभापति देउवाले उठाएका विषयमा फेरि पनि छलफल हुनसक्ने बताए । ‘पार्टीले एउटा निर्णय त ग¥यो,  तर निर्णयको मूल धारभन्दा फरक धारणा पनि आउन सक्छ नि,’ उनले सभापतिको बचाउन गर्दै भने, ‘सभापतिज्यूले  जुन धारणा राख्नुभएको छ, त्यसको पक्षमा पार्टीमा ठूलो मत छ । नागरिकतामा छोराछोरीबीच विभेद हुन हुँदैन भन्ने उहाँको धारणा हो ।’

कांग्रेसले नागरिकता विधेयकमा संशोधनको कारण नागरिकता प्राप्तिका विषयमा थप संवैधानिक, सामाजिक एवं पारिवारिक जटिलताहरु समेत सिर्जना हुन सक्ने प्रबल सम्भावना रहेको भन्दै विधेयक फिर्ता लिन  सरकारसँग माग गरेको छ  । साथै केन्द्रीय समितिको  निर्णय अनुसार संसदमा प्रस्तुत हुन पार्टीको संसदीय दललाई निर्देशसमेत गरेको छ ।

‘पहिलेदेखि नै पार्टीले गर्दै निर्णयको समर्थनको सार मात्र हो केन्द्रीय समितिको निर्णय,’ केन्द्रीय सदस्य एनपी साउदले भने, ‘पार्टी सभापति त्यो भन्दा पनि अग्रगामी रुपमा महिला  र पुरुषबीच समानता हुनुपर्छ भन्ने पक्षमा हुनुहुन्छ । तर त्यो विषय अहिले केन्द्रीय समितिको निर्णयमा नसमेटिएको मात्रै हो ।’

बैठकमा भनाभन
नागरिकता विधेयकको विषयमा नेताहरुबीच फरक फरक मत आएपछि सभापति देउवाले बैठक स्थगन गर्न खोजे । साथै देउवा नागरिकता विधेयकमा सबैलाई स्वीकार्य हुने गरी मध्यमार्गी बाटो पहिल्याउन खोजिरहेका थिए । त्यसैले छलफल एक दिन सारेर कुनै सहमतिको विन्दु पहिल्याउने चाहना देउवाको थियो ।

‘आज छलफल स्थगन गरौं,’ देउवाले प्रस्ताव गरे, भोलि (बुधबार) बैठक गरौं ।’ सभापतिको छलफल स्थगन गर्न प्रस्ताव गरेलगत्तै उपसभापति निधिले असहमति जनाउँदै भने, ‘बैठक स्थगन गर्नुहुन्न । आजै छलफल टुंग्याएर निर्णय गर्नुपर्छ ।’ त्यसअघि बैठक चलिरहेकै बेला सभापति देउवा र निधिबीच छुट्टै छलफल भएको थियो । तर दुई नेताबीच ठोस सहमति नभएपछि देउवाले बैठक स्थगन गर्न प्रस्ताव गरेको बुझिएको छ ।

सभापतिको प्रस्तावलाई उपसभापति निधिले चर्काे स्वरमा प्रतिवाद गरेको भन्दै सहमहामन्त्री डा. प्रकाशशरण महत कड्किए । कुर्सीबाट उठ्दै महतले निधिलाई ‘सभापतिज्यूसँग मर्यादित भएर कुरा गर्न’ भन्दै कड्किए । पार्टी सभापतिसँगै दायाँपट्टी लहरै उभापति निधि, महामन्त्रीद्वय डा. शशांक कोइराला, पूर्णबहादुर खड्का र सहमहामन्त्री महत बसेका थिए ।

‘यो त तरिका भएन नि, केही कुरा भन्नुपर्ने भए छुट्टै कोठामा भन्नुस्,’ सहमहामन्त्री महलते कड्किदै भने,  ‘बैठकमा सभापतिसँग बोल्ने तरिका यही हो ?’ दुई नेताबीच चर्काचर्की भएपछि सभापति देउवाले हस्तक्षेप गर्दै माहोल शान्त बनाए ।

देउवाले आजै निर्णय गर्नुपर्ने भनेपछि देउवाले ‘जे गर्न मन लाग्छ गर्नुस्’ भन्दै बैठकको अन्तिममा नबोली बसे । बुधबार प्रतिनिधि सभा बैठकमा नागरिकता विधेयक पेश हुन सक्ने भएकाले उपसभापति निधिले मंगलबार नै निर्णय गर्नुपर्नेमा अडान लिए पनि संसदको कार्यसूचीमा नागरिकता विधेयक नरहेकोबारे बैठकमा अवगत गराइएको थियो । #अन्नपुर्ण

चर्चामा

सम्बन्धित समाचार