• होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • सुदूरपश्चिममा चालु वर्षमै तीन वटा कोरोना प्रयोगशाला सञ्चालन हुनेमा आशंका

सुदूरपश्चिममा चालु वर्षमै तीन वटा कोरोना प्रयोगशाला सञ्चालन हुनेमा आशंका

  • आइतवार, असार ७, २०७७
सुदूरपश्चिममा चालु वर्षमै तीन वटा कोरोना प्रयोगशाला सञ्चालन हुनेमा आशंका

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले कोरोना परीक्षणका लागि थप प्रयोगशाला स्थापना गर्न ढिलाई गरेको छ। प्रदेशमा कोरोना संक्रमणको दर बृद्धि हुँदै गएका बेला पनि प्रयोगशालाका लागि आवश्यक उपकरण खरिद गर्न ढिलाई भएको हो।

प्रदेश सरकारको मन्त्रीपरिषद बैठकले चैतमै सेती प्रादेशिक अस्पतालसँगै डोटी जिल्ला अस्पताल र बैतडी जिल्ला अस्पतालमा कोरोना परीक्षण प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको थियो। प्रदेश सरकारले उपकरण खरिदका लागि बजेटको समेत व्यवस्थापन गरेको छ। प्रदेशको सामाजिक विकास मन्त्रालय मातहतको स्वास्थ्य आपूर्ति तथा व्यवस्थापन केन्द्रले टेण्डर समेत आह्वान गरेको छ।

तर भौतिक संरचना र जनशक्ति व्यवस्थापनमा चुनौती देखिएको छ। प्रदेशमा कोरोना आशंकामा संकलन गरिएको थ्रोट स्वाबको नमुना धनगढीमा परीक्षण गर्न नसकिने अवस्था आईसकेको छ। तर प्रदेश सरकारले स्थापना गर्ने भनिएका तीन प्रयोगशालाका लागि उपकरण खरिद समेत नगरेको हो। प्रदेशको सामाजिक विकास मन्त्रालय मातहतको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका सूचना अधिकारी लक्ष्मीराज श्रेष्ठले सात आपूर्तिकताले बोलपत्र खरिद गरेकोमा पाँच वटाको मुल्याङकनको काम जारी रहेको बताए। ‘हामीले प्रयोगशालाका उपकरण खरिदका लागि सूचना जारी गरेका थियौँ। सात वटा परेका थिए। दुई बाहिरिएका छन्। पाँचको मूल्याङ्कन हुदैछ।’ उनले भने। तीन वटा प्रयोगशाला स्थापना गर्न प्रदेशको सामाजिक विकास मन्त्रालय मातहतको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले चार करोड ५० लाख खर्च लाग्ने अनुमान गरेको छ।

तर तीन प्रयोगशालाका लागि आवश्यक सामाग्री खरिदका लागि ढिलोगरी सूचना प्रकाशन गरेको केन्द्रले बोलपत्रको मुल्याङकनको चरणमा रहेको जनाएको छ। चालु आर्थिक वर्षको अन्तिम समय अर्थात असार मसान्तमा भुक्तानी हुने गरी प्रयोगशालाका सामाग्री खरिदको प्रक्रियामा प्रदेश सरकार रहेको श्रेष्ठले बताए। प्रयोगशालाका सामाग्री खरिदमा ढिलाई गर्दै आएको प्रदेश सरकारले जडानका लागि पनि पर्याप्त तयारी गरेको छैन्। सेती प्रादेशिक अस्पताल, जिल्ला अस्पताल डोटी र जिल्ला अस्पताल बैतडीमा प्रयोगशाला जडान गर्ने योजना छ।

प्रयोगशालाका लागि आवश्यक पर्ने भौतिक संरचना निर्माणको काम पनि पूर्ण भएको छैन्। डोटी जिल्ला अस्पतालका प्रमुख डाक्टर ज्योती पाण्डेले प्रदेश सरकारको टोली आएर अस्पतालमा प्रयोगशाला स्थापनाका लागि ठाउँ हेरेर फर्किएको बताईन्। उनले भनीन, ‘अस्पतालको प्रयोगमा रहेका चार कोठामा ल्याव सञ्चालन गर्न भनिएको छ। ठाउँ पुगेपनि जनशक्ति छैन्। प्रदेश सरकारले व्यवस्थापन गर्ला।’

सुदूरपश्चिम प्रदेशका स्थानीय तहहरु स्वास्थ्य कार्यालय तथा प्रदेश सरकारले संकलन गरेको थ्रोट स्वाबको नमूना धनगढीमा परीक्षण गर्न सकिएको छैन्। पीसीआर मेसिनको अभाव, कर्मचारी र आवश्यक सामाग्रीको अभाव हुँदै आएको छ। तर प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले केही कर्मचारी भर्नाका लागि आवेदन माग गरिएकाले समस्या नहुने बताए। जनशक्तिको समस्या देखिए केन्द्र सरकारसंग पहल गर्ने पनि उनले बताए। ‘तीन नयाँ प्रयोगशालाका मेसिन खरिद हुँदैछन्। भौतिक संरचनाका लागि पनि जिल्ला अस्पतालहरुले सकिन्छ भनेका छन्।

आवश्यक परेमा केन्द्र सरकारसंग माग गरौला।’ कार्कीले भने। असार लागेपनि कोरोना परीक्षण प्रयोगशालाका लागि आवश्यक उपकरण समेत खरिद गर्न नसकेको सुदूरपश्चिम सरकारले चालु आर्थिक बर्ष भित्रै प्रयोगशाला सञ्चालन गर्न सक्ने सम्भावना निकै न्यून रहेको छ। दिनेश खबरबाट

चर्चामा

सम्बन्धित समाचार