डोटी– डोटीको दीपायल सिलगढी नगरपालिकाका नगरप्रमुख मञ्जु मलासीको स्वास्थ्यमा क्रमिकरुपमा सुधार हुँदै आएको छ।
शुक्रबार एकाएक श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई नेपाली सेनाको (स्काइ ट्रक) जहाजबाट थप उपचारका लागि काठमाडाँै लगिएको थियो। बिहीबार राति श्वास फेर्न कठिन भएपछि शुक्रबार काठमाडौँबाट सेनाको जहाज मगाएर उनलाई काठमाडौँ लगिएको हो। उनको अहिले काठमाडौँमा रहेको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ। उनलाई उक्त अस्पतालका ग्याष्ट्रो मेडिसियन डा.प्रेम रत्नले उपचार गरिरहेका नगरप्रमुख मलासीसँगै रहनुभएका उनका ज्वाइँ पत्रकार भरत बोहराले जानकारी दिए।
नगर प्रमुख मलासीको शरीरमा ग्याष्ट्रिक अत्यधिक मात्रामा बढेका कारण श्वासप्रश्वासमा समस्या देखिएको उपचारमा संलग्न चिकित्सकले बताएको बोहराले बताए। सुदूरपश्चिम प्रदेशका ८८ वटा स्थानीय तहमा मलासी एकमात्र महिला नगर प्रमुख हुन। क्वारेन्टिन व्यवस्थापनमा बढी सक्रिएता भएको र खानपानमा समय नमिलेका कारण नगर प्रमुख मलासीको श्वासप्रश्वासमा समस्या देखिएको जानकारी पाएको डोटीबाट निर्वाचित सङ्घीय सांसद प्रेमबहादुर आलेमगरले बताए।
प्रेसर तथा मिर्गौलाको समेत समस्यासँगै जुध्दै आउनुभएका नगर प्रमुख मलासीले केही वर्ष पहिले भारतमा समेत उपचार गराउनुभएको घरपरिवारले जनाएको छ। तत्कालीन नेकपा (एमाले) पार्टीबाट उनी दिपायल सिलगढी नगरपालिकामा नगर प्रमुखमा विजयी भएकी हुन्। रासस