• होमपेज
  • समाज
  • सरकारविरोधी प्रदर्शनकारी ‘ग्रुप’भित्र विवाद

सरकारविरोधी प्रदर्शनकारी ‘ग्रुप’भित्र विवाद

  • शनिबार, जेष्ठ ३१, २०७७
सरकारविरोधी प्रदर्शनकारी ‘ग्रुप’भित्र विवाद

काठमाडौं — संविधान संशोधन प्रस्ताव पारित हुने दिन विरोध प्रदर्शन गर्ने योजनामा धक्का लागेको छ । कुनैपनि पार्टीको नाम नलिई फेसबुकमा बनेको क्लोज ग्रुपबाट सञ्चालित युवाहरुको भनिएको यो आन्दोलनमा ‘घुसपैठ’ दावीसहित आरोप–प्रत्यारोप सुरु भएको हो । जुन ग्रुपले सरकारविरुद्ध आन्दोलन गर्ने संयोजन गरिरहेको थियो, सोही ग्रुपमा अहिले आन्दोलन गर्न हुँदैन भन्ने आवाज बलियो भएको छ । आन्दोलन जारी गर्नुपर्छ भन्ने विचार राख्नेप्रति तीव्र विरोध सुरु भएको देखिन्छ ।
के भएको थियो ?
केही दिनदेखि सामाजिक सञ्जालमा ‘मिराकल’ नै भयो । कुनैपनि स्वतन्त्र समूहको नाममा सञ्चालन भएको ‘कोभिड–१९ नेपाल इनफ इज इनफ’ नामको फेसबुक क्लोज्ड ग्रुपले काठमाडौंमा आन्दोलनको लहर उठाइदियो । तर, संविधान संशोधन प्रस्ताव पारित हुने दिन आन्दोलन गर्न नहुने भन्दै अहिले विवाद देखिएको हो ।

जेठ २४ गतेका सरकारको भ्रष्टाचार विरुद्ध स्वतन्त्र आवाजका लागि भन्दै उक्त ग्रुप खोलिएको थियो । सो ग्रुप सरकारले कोरोना महामारीविरुद्ध चालेका कदम र अनियमितताको सम्बन्धमा आवाज उठाउने र शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने उद्देश्य सहित खोलिएको जनाइएको थियो । खुलेको एक सातामै सो ग्रुपमा डेढ लाख भन्दा बढी सदस्य पुगेका छन् । शनिबार बिहान ९ बजेसम्म १ लाख ६३ हजार सदस्य भइसकेका छन् ।

सरकारले लकडाउन खुकुलो बनाएपछि भ्रष्टाचार विरुद्ध प्रदर्शन गर्न भन्दै आह्वान गरियो । सो आह्वानपछि शुक्रबार देशभर व्यापक विरोध प्रदर्शन भयो । कोरोनाभाइरस नियन्त्रणमा सरकारले गरेको १० अर्बमा भ्रष्टाचार भएको भन्दै गरिएको उक्त प्रदर्शनपछि कोरोना नियन्त्रणका लागि गठित सीसीएमसीले सबै हिसाब केही सार्वजनिक प्रतिवद्धता समेत जनायो । यसका बाबजुद शनिबार झनै वृहत प्रदर्शनका लागि सो फेसबुक समूहभित्र आह्वान गरिएको थियो ।

तर उत्साहित भएर ग्रुपमा जोडिएका सदस्यहरुले नै शुक्रबार साँझदेखि सोही ग्रुपको विरोध सुरु गरे, जब भारतीय मिडियाले यो प्रदर्शनलाई नयाँ नक्साको विरोधमा गरिएको आन्दोलनको रुपमा प्रचार गर्न थाले । यो प्रचारपछि यस्तो आन्दोलन आयोजनाको औचित्यबारे नै प्रश्न उठ्न थाल्यो ।

त्यसो त, सो प्रदर्शनमा प्रयोग गरिएका प्लेकार्डहरु द्विअर्थी लाग्ने र कतिपय अश्लिल खालका थिए । ती सबै स्लोगनहरुको तयारी पनि ग्रुपभित्रै गरिएको थियो । सोही अनुसार आम मान्छेले पचाउन नसक्ने खालका प्लेकार्डहरु बोकेर विरोध प्रदर्शनमा उत्रिएका थिए । यसलाई भ्रष्टाचार विरुद्धको आन्दोलन नभएर सरकार विरुद्धकै आन्दोलनको रुपमा झल्किनेगरी प्रदर्शन भएको थियो । त्यसैलाई आधार बनाएर भारतीय मिडियाहरुले संविधान संशोधनको विरुद्ध गरिएको प्रदर्शनको रुपमा प्रचार गरेका थिए ।

यो घटनासँगै सो ग्रुपभित्र निकै ठूलो मतभेद सुरु भयो । ग्रुपका सदस्यहरुले नै ग्रुपलाई नै भारतीय स्वार्थमा सञ्चालित भनेर आरोप लागाउन थाले ।

विवादको कारण
शनिबार संघीय संसदको प्रतिनिधिसभाले नेपालको नयाँ नक्साको सम्बन्धमा गर्न लागिएको संविधान संशोधन प्रस्ताव पारित गर्ने कार्यसूची तय गरेको थियो । संविधान संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको संसदले ७२ घण्टे संशोधनको लागि समय दिएको थियो । निर्धारित समय सकिएसँगै संसदले त्यो कार्यसूचीलाई अघि बढाएको हो ।

अघिल्लो दिनको प्रदर्शनलाई नै भारतीय मिडियाले दुष्प्रचार गरेको अवस्थामा नयाँ नक्सा पास हुने दिन प्रदर्शन गर्दा राम्रो सन्देश नजाने भन्दै पूर्वनिर्धारित कार्यक्रमलाई स्थगित गर्नुपर्ने माग निकै सो ग्रुपभित्र निकै उठ्यो । तर, एडमिनले प्रदर्शनको पक्षमै निरन्तर आह्वान गर्न थालेपछि सदस्यहरुले ग्रुपका सञ्चालकहरुप्रति नै आशंका व्यक्त गर्न थालेका हुन् ।

उनीहरुले ७ दिन अघि ग्रुप खुलेर १ लाख ६२ हजार जना सदस्य बन्नु र संविधान संशोधनको दिनमा आन्दोलन गर्न उक्साउनुले ‘यो समूह कसैको डिजाइनमा खुलेको त होइन ?’ भन्ने आशंका उब्जिएको बताउन थालेका छन् । सोही ग्रुपभित्र ‘भोलिको विरोध प्रदर्शन बन्द गरौं’ अर्थात् #StopProtestTomorrow ह्यासट्याग निकै चर्चित भएको छ ।

आज हुने संविधान संशोधनको पक्षमा नेपालका सबै राजनीतिक दलहरु एकमत छन् । यस्तो अवस्थामा स्वतन्त्र समूहको नामबाट विरोध प्रदर्शन गरिनु व्यवहारिक नभएको धेरैको तर्क छ । राताेपाटीबाट

चर्चामा

सम्बन्धित समाचार