बिहिबार, कार्तिक १, २०८१
  • होमपेज
  • बडिमालिका
  • क्वारेन्टिनबाटै सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र भान्सेसम्म संक्रमण फैलियो

क्वारेन्टिनबाटै सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र भान्सेसम्म संक्रमण फैलियो

  • शुक्रबार, जेष्ठ ३०, २०७७
क्वारेन्टिनबाटै सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र भान्सेसम्म संक्रमण फैलियो

जेठ १८ गते बाजुराको बुढिगंगा नगरपालिका वडा नम्बर १ स्थित धुरालसैन माविको क्वारेन्टिनमा एक बालिकाको मृत्यु भयो। मृत्युपछि उनमा कोरोना पुष्टि भयो भने उनकी आमामा समेत कोरोना संक्रमण देखियो। मृतक बालिका र उनकी संक्रमित आमाको कन्ट्रयाक्ट ट्रेसिङका आधारमा उक्त क्वारेन्टाइनमा राखिएका व्यक्तिको स्वाब संकलन गरीयो।

‘कोरोनाले बालिकाको मृत्यु भएको १२ दिनपछि बिहिवार सोही क्वारेन्टिनमा रहेका थप १७ जनामा संक्रमण पुष्टि भएको छ,’ नगरपालिकाका मेयर दीपक शाहले भने, ‘एक सय ७९ जनाको स्वाब संकलन भएकोमा १७ जनामा पुष्टि भएको हो। संक्रमित सबै भारतबाट आएका हुन्।’ उनले क्वारेन्टिन व्यवस्थित बनाउँन नसक्दा जोखिम बढेको बताए।

कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्वर ९ को दीपशिखर प्राविको क्वारेन्टिन र वडा नम्वर ५ को गौरीशंकर माविको क्वारेन्टिनमा ६ जना कोरोना संक्रमित भेटिए। संक्रमितको कन्ट्रयाक्ट ट्रेसिङका आधारमा दुवै क्वारेन्टाइनमा ६० जनाको स्वाब परीक्षण गर्दा थप १३ जनामा संक्रमण पुष्टि भयो।

‘अहिलेसम्म दुई स्वास्थ्यकर्मी र दुईजना भान्सेमा समेत क्वारेन्टिनबाटै संक्रमण फैलिएको छ,’ कोभिड–१९ कञ्चनपुरका सम्पर्क व्यक्ति सिद्धराज भट्टले भने, ‘कञ्चनपुरमा क्वारेन्टिनमै सुरक्षामा खटिएका दुई जना प्रहरीमा पनि कोरोना पुष्टि भएको छ।’ अधिकांश संक्रमित क्वारेन्टाइनमा बसेकाहरू नै रहेको र तिनैबाट सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र भान्सेलाई समेत संक्रमण फैलिएको हुन सक्ने उनले बताए।

जेठ ९ गते कैलालीको जानकी गाउँपालिका वडा नम्वर १ को सरस्वती माविको क्वारेन्टिनमा तीन जनामा कोरोना पुष्टि भएको थियो। एक सातासम्म संक्रमित तीनै जना अन्य ४२ जनासंग सोही क्वारेन्टिनमा थिए। सोही क्वारेन्टिनमा रहेका अन्यको समेत स्वाब संकलन गरी परीक्षण गर्दा थप चार जनामा कोरोना पुष्टि भईसकेको जानकी गाउँपालिकाका अध्यक्ष प्रदिप कुमार चौधरीले बताए।

उनले क्वारेन्टिनबाटै कोरोना संक्रमण समुदायस्तरमा फैलिने खतरा बढेको बताए। कैलालीको गौरीगंगा नगरपालिकामा पनि एकै पटक १२ जनामा कोरोना पुष्टि भएको थियो। उनीहरु सबैलाई मालिका माविको क्वारेन्टिनमा राखिएको थियो।

कोरोना भाईरसको जोखिमयुक्त क्षेत्रबाट फर्किएकाहरुलाई १४ दिन सम्म अनिवार्य रुपमा क्वारेन्टिनमा राख्न संघीय सरकारले छुट्टै मापदण्ड तयार गरी प्रदेश र स्थानीय सरकारलाई समेत कार्यान्वयन गर्न निर्देशन दिएको छ।

उक्त मापदण्ड अनुसार क्वारेन्टिनमा स्वास्थ्य, सञ्चार, खानेपानी, विद्युतको पू्र्ण व्यवस्था हुनुपर्ने, सम्भव भए सम्म एक सयभन्दा बढी व्यक्ति राख्ने क्षमताको हुनुपर्ने, प्रती एक सय जनाको लागि एक जना चिकित्सक सहित ८ जनाको स्वास्थ्यकर्मीको टिम परिचालन गर्नुपर्ने हो। तर उक्त मापदण्ड अनुसार क्वारेन्टिन नहुँदा जोखिम बढ्दै गएको हो।

सेती प्रादेशिक अस्पतालका फिजिसियन डाक्टर निराजन दत्त शर्माले भने, ‘अधिकासं क्वारेन्टिन व्यवस्थीत छैनन्। न सामाजिक दूरी कायम गरीएको छ न त व्यक्तिगत सुरक्षा सामाग्रीको उपलव्धता छ। त्यसैले क्वारेन्टिनमै जोखिम बढेको हो।’ उनले संक्रमण रोक्न क्वारेन्टिन व्यवस्थीत बनाउनपर्नेमा जोड दिए।

चर्चामा

सम्बन्धित समाचार