बिहिबार, कार्तिक १, २०८१
  • होमपेज
  • राजनीति
  • सुदूरपश्चिमका सांसदले लकडाउनमै तलब भत्ता वापत ६५ लाख बुझे

सुदूरपश्चिमका सांसदले लकडाउनमै तलब भत्ता वापत ६५ लाख बुझे

  • बिहिबार, जेष्ठ २९, २०७७
सुदूरपश्चिमका सांसदले लकडाउनमै तलब भत्ता वापत ६५ लाख बुझे

धनगढी — कोराना भाइरसको जोखिम न्यूनीकरणमा सक्रिय भएको बताउँदै आएका सुदूरपश्चिमका प्रदेशसभा सदस्य लकडाउनमा पनि मासिक सेवासुविधा लिदै आएका छन्। कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि पारिश्रमीक नै दिने घोषणा गरेका प्रदेशसभा सदस्यहरुले पनि सेवासुविधा वापतको रकम बुझिरहेको पाईएको छ।

गत चैत ११ गतेबाट लकडाउन जारी गरिएको भएपनि सुदूरपश्चिम प्रदेशका सभामुख, उप–सभामुख र प्रदेशसभा सदस्यहरुले पारिश्रमीक मात्रै नभएर दैनिक भ्रमण भत्ता समेत बुझेका छन्। केही प्रदेशसभा सदस्यहरुले भने राहत वितरणको अनुगमन गरेको भन्दै भत्ता बुझेको पाईएको छ।

 बैशाख र जेठमा मात्रै प्रदेशसभा सदस्यहरुले पारिश्रमिक वापत, दैनिक भ्रमण, अतिथि सत्कार, सञ्चार शुल्क लगायतका शिर्षकमा ६५ लाख ३८ हजार आठ सय ३७ रुपँैया बुझेका छन्।  उनीहरुले यातायात शुल्क पनि लिएका छन् भने केही प्रदेशसभा सदस्यहरुले राहत वितरणमा समेत अनुगमन गरेको भन्दै भत्ता बुझेका छन्।

आवास सुविधा, संचार सुविधा, अतिथी सतकार, सचिवालय व्यवस्थापन, बिद्युत र खानेपानीको समेत प्रदेशसभा सदस्यहरुले सुविधा पाउँदै आएका सुदूरपश्चिम प्रदेशसभा सचिवलयका सूचना अधिकारी धनबहादुर शेरपुंजा मगरले बताए। लकडाउनको अवधीमा धनगढीमै रहेका प्रदेशसभा सदस्यहरुले जिल्ला भ्रमणमा गएको भन्दै पनि तीन लाख ५३ हजार भत्ता बुझेका छन्।

बैशाख महिनामा ३० लाख ५५ हजार नौ सय ८८, जेठ महिनामा २८ लाख ११ हजार चार सय ८८ रुपैँया पारिश्रमीक, तीन लाख ५३ हजार दैनिक भ्रमण भत्ता, सभामुख र उप–सभामुखको बैशाख महिनाको सेवा सुविधा बापतको एक लाख ३४ हजार दुई सय ४३, जेठ महिनाको सभामुख र उप–सभामुखको सेवा सुविधा एक लाख ३४ हजार दुई सय ४३ र विभिन्न समितिका सभापतिको भ्रमण भत्ता शिर्षकमा ३५ हजार आठ सय ७५ रुपैया खर्च भएको  मगरले बताए।

प्रदेशसभा सदस्यहरुले धनगढीमा हुँदा पनि भ्रमण भत्ता लिएको, नागरिकलाई राहत वितरणको अनुगमन गरेको, प्रदेशसभाको बैठकका लागि पहाडी जिल्लाबाट धनगढी आएको लगायतका विवरण पेश गर्दै सेवा–सुविधा लिएकोसूचना अधिकारी मगरले बताए।

चर्चामा

सम्बन्धित समाचार