बिहिबार, कार्तिक १, २०८१
  • होमपेज
  • समाज
  • कर्मचारीले आत्मदाह गरेपछि बयलपाटा अस्पतालको करार अवधी नथप्ने निर्णय फिर्ता

कर्मचारीले आत्मदाह गरेपछि बयलपाटा अस्पतालको करार अवधी नथप्ने निर्णय फिर्ता

  • बिहिबार, जेष्ठ २९, २०७७
कर्मचारीले आत्मदाह गरेपछि बयलपाटा अस्पतालको करार अवधी नथप्ने निर्णय फिर्ता

अछाम– अछामको बयलपाटा अस्पतालले करार अवधी नथप्ने निर्णय गरेपछि सरसफाई कर्मचारीका रुपमा कार्यरत सिद्धार्थ आउजीले आत्मदाह गरेपछि अस्पतालले उक्त निर्णय फिर्ता लिएको छ। आउजीसँगै करार सेवा अवधी नबढाउने भन्दै निकालिएका अन्य ३२ जनाचको करार अवधी बढाउने निर्णय गरिएको हो।

बुधबार अस्पतालले विज्ञप्ती जारी गर्दै करार अवधी नथप्ने भन्दै बैशाख ३१ गते कार्य समितिले गरेको निर्णय स्थगीत गरिएको जनाएको हो। विज्ञप्तीमा संस्थामा कार्यरत केही कर्मचारीको करार सम्झौता नहुने भनिएको निर्णय कार्यान्वयन नहुने उल्लेख गरिएको छ।

संस्थाका अध्यक्ष सुरज वैद्यले सरोकारवालाहरुसँग भएको सुझावका आधारमा उक्त निर्णय स्थगन गरिएको विज्ञप्ति मार्फत जानकारी दिएका हुन्।

गत सोमबार बिहान निकालिएका सरसफाइ कर्मचारी साँफेबगर नगरपालिका वडा नम्बर ६ भागेश्वरका २७ वर्षीय सिद्धार्थ आउजीले अस्पताल परिसमै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए।

उनको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको थियो। उनीसंगै अन्य ३२ जना कर्मचारीको समेत कोभिड–१९ को महामारीका कारण सेवा सुविधा दिन नसकिने भन्दै करार अवधी नथप्ने निर्णय गरिएको थियो।

जारी विज्ञप्तीमा चालु खर्चका लागि अनुदान विनियोजन गर्न तीन तहकै सरकारसँग आग्रह गरिएको समेत उल्लेख गरिएको छ।

चर्चामा

सम्बन्धित समाचार