• होमपेज
  • कर्णाली प्रदेश
  • जुम्लामा १८ जनाले आठ दिनमै जिते कोरोना

जुम्लामा १८ जनाले आठ दिनमै जिते कोरोना

  • बुधबार, जेष्ठ २८, २०७७
जुम्लामा १८ जनाले आठ दिनमै जिते कोरोना
जुम्लामा आठ दिनमै कोरोना जीतेर घर फर्किएकालाई विदाइ गरिँदै ।

सुर्खेत–  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको आइसोलेसनमा रहेका १८ जना कोरोना संक्रमित घर फर्किएका छन् । उनीहरु कोरोना संक्रमण पृष्टि भएको आठ दिनमै निको भएपछि मंगलबार राती घर फर्किएका हुन् । आठ दिनमै कोरोना जीतेर घर फर्किनेमा भारतबाट फर्केका स्थानीयदेखि स्वास्थ्यकर्मी र सुरक्षाकर्मी समेत रहेका छन् ।

यही जेठ १९ गते प्रतिष्ठानले सार्वजनिक गरेको पीसीआर परीक्षण रिपोर्ट अनुसार उनीहरुलाई कोरोना संक्रमण भएको पृष्टि भएको थियो । भारतबाट फर्केर जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयमा क्वारेन्टाइन बसेका नागरिक, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको सबैको आरडीटी र पीसीआर परीक्षण गर्दा दुबै रिपोर्ट पोजिटिभ देखिएपछि उनीहरुलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा राखिएको थियो ।

आइसोलेसनमा उपचारका क्रममा चाँडै निको भएपछि १८ जनाकै पुन पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ देखिएको छ । कोरोना जीतेर घर फर्कनेमा जुम्ला सिंजा गाउँपालिकाका ६ जना, हिमा गाउँपालिकाका चारजना, जुम्लामा कार्यरत पाँचजना सुरक्षाकर्मी र तीनजना स्वास्थ्यकर्मी रहेका छन् ।

कोरोना जीतेर घर फर्किएकालाई प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्ले, प्रहरी नायव उपरीक्षक लालबहादुर धामी लगायत सरोकारवाला निकायको टोलीले खादा र मालासहित विदाइ गरेका हुन् ।

‘उनीहरुलाई कोरोना संक्रमण कहिले भएको हो । थाहा भएन । तर छोटो समयमा नै कोरोना जीतेर घर फर्किनु खुसीको कुरा हो,’ प्रतिष्ठानका रजिष्ट्रार काफ्लेले भने, ‘व्यक्तिमा कोरोना संक्रमण भएको लामो समय, इम्युनिटी पावर र उपचारमा राम्रो ख्याल राखेका कारण उनीहरुले छिट्टै कोरोना जीतेको हुनसक्छ।’

उनका अनुसार कोरोना जीतेर फर्किएकालाई घरमा पनि सावधानी अपनाउन सुझाइएको छ । हाल प्रतिष्ठानको आइसोलेसन कक्षमा थप आठजना कोरोना संक्रमितलाई राखिएको छ । उनीहरु पनि केही दिनमै कोरोना जीतेर घर फर्किने तयारीमा रहेको काफ्लेले बताए । प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले घर फर्किएका सबैलाई बधाइ दिँदै स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई इतिहासले नायक बनाउने हौसला दिए ।

कोरोना जितेर फर्किएका एक व्यक्तिले सावधानी अपनाए सजिलै कोरोना जित्न सकिने बताए । प्रतिष्ठानका विशेषज्ञ डा.धिरज गुरुङले कोरोना जीतेर घर फर्किए पनि केही हुन्न भन्दै खेलवाड नगर्न र थप सचेत रहन सुझाब दिएका छन् ।अन्‍नपूर्णबाट

चर्चामा

सम्बन्धित समाचार