शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • अमेरिकाका विभिन्न सहरमा व्यापक प्रदर्शन, अमेरिकामा किन दन्किँदैछ आन्दोलन

अमेरिकाका विभिन्न सहरमा व्यापक प्रदर्शन, अमेरिकामा किन दन्किँदैछ आन्दोलन

  • मङ्लबार, जेष्ठ २०, २०७७
अमेरिकाका विभिन्न सहरमा व्यापक प्रदर्शन, अमेरिकामा किन दन्किँदैछ आन्दोलन

वासिंटन : मे २५ मा अफ्रिकन अमेरिकी नागरिक जर्ज फ्लोइडको हिरासतमै हत्या भयो । मिनेपोलिसका तीन प्रहरी अधिकृतले जर्जको हात पछाडि बाँधेर भुइँमा लडाउँदै घाँटी थिचेर उनको हत्या भएको थियो । गोरो जातिका डेरेक चौभिन नामका प्रहरी अधिकृतले ८ मिनेटभन्दा धेरै बेरसम्म घाँटी थिचेर उनको हत्या गरेका थिए । अरु दुई अधिकृत ताउ थाओ र जे अलेक्जेन्डर क्युङ पनि जर्जको हत्यामा संलग्न थिए । प्रहरीको गाडीछेउमै भुइँमा टाउको थिचेर जर्जको हत्या भएको थियो ।

उनको हत्याको ८ मिनेट ४६ सेकेन्डको लाइभ भिडिओ घटनापछि भाइरल बनेपछि अमेरिकाका विभिन्न सहरमा व्यापक प्रदर्शन हुन थालेको छ । सामाजिक सञ्जालमा भाइरल बनेको उक्त भिडिओमा जर्ज जीवन बचाउन अनुनय विनय गरिरहेको देखिन्छन् ।

उनले ‘मलाई स्वास फेर्न गाह्रो भयो’ भन्दै त्यसो नगर्न अनुरोध गरिरहेका छन् । उनले ‘मलाई मनार्नूस्’, ‘कृपया, मैले स्वास फेर्न सकिन’ भन्दै अनुरोध गरिरहेको भिडिओमा देखिन्छ ।
जर्ज हत्याकाण्डले अन्ततः अमेरिकामा जातीय दमनविरुद्धको मुद्दा समेत उठेको छ ।

जर्जको हत्यालाई लिएर अमेरिकाका विभिन्न सहरमा हिंसात्मक प्रदर्शन भएका छन् । यतिसम्म कि, कतिपय प्रहरीका गाडीमा आगजनी र आक्रमण भए । प्रहरीले भने प्रदर्शन दबाउन टियर ग्यास र रबर गोली प्रहार गरेको छ । अमेरिकाका ५० राज्यमा २ सय सहरमा प्रदर्शन भएको छ । पछिल्लो समय ह्वाइटहाउसको अगाडि तिर सुरक्षा निगरानीका लागि सेनालाई समेत खटाइएको छ ।

जातीय मुद्दा

फ्लोइडको हत्यासँगै अमेरिकामा जातीय दमनविरुद्धको मुद्दा उठेको छ । काला जातिमाथि प्रशासनले देखाएको असहिष्णु व्यवहार उचित नभएको गुनासो प्रदर्शनमा उठेको छ । २०१४ मा एरिक गार्नरको मृत्युसँग जर्जको हत्यालाई तुलना समेत गरिएको छ । गार्नरको पनि न्युयोर्क प्रहरीबाट यस्तै गरी हत्या गरिएका एक आम अस्वेत अमेरिकी थिए । उनको हत्यामा स्वेत प्रहरी अधिकृतले यसै गरी हिरासतकै क्रममा हत्या गरेका थिए ।

जर्ज फ्लोइडको पुरा नाम जर्ज पेरी फ्लोइड हो । ४६ वर्षीय उनी अफ्रिकन मूलका अमेरिकी थिए । जसको जन्म नर्थ क्यारोलिनास्थित फ्याटभिल्लामा भएर पछि उनको परिवार हस्टन, टेक्ससमा सरेको थियो ।

स्कुले जीवनमा बास्केटबल र फुटबल खेलाडी बनेका जर्ज पछि हिपहप समूहसँग जोडिए । हस्टनमा छँदा उनले ‘बिग फ्लोइड’ नामको स्टेज नामबाट र्याप गर्न थाले । २००४ पछि उनी जब मिनेसोटा पुगे । त्यहाँ उनी एक रेस्टुरेण्टमा सुरक्षागार्डको रुपमा काम गर्न थाले । पाँच वर्षसम्म उनी यस पेशामा थिए । हत्या हुनुअघि फ्लोइड लकडाउनका कारण बेरोजगार बनेका थिए । फ्लोइड २२ र ६ वर्षीया दुई छोरीका बाबु थिए । जो हस्टनमै बस्दैआएका छन् ।

२०२०, मे २५ को साँझ, सोमबार, जर्ज फ्लोइड सिगरेट र खानाको प्याकेट बोक्दै थिए । जब कि, कोरोनाभाइरस महामारीका कारण पसलहरु अक्सर बन्द हुन्छन् । यसैले उनी अक्कल झुक्कल पसलमा खाद्यान्न र अत्यावस्यक वस्तु लिन जान्थे ।

मिनेसोटाको मिनेपोलिसस्थित सिकागो एभेन्युको घटना थियो । खाद्यान्न सटोरका एक कामदारका अनुसार फ्लोइडले त्यस साँझ जम्मा २० डलरको सामान खरिद गरेका थिए । साँझ ८ बज्नुअघिको बेला थियो, त्यस पसलका दुई कामदार उनको सामान बोकेर अगाडिको कारसम्म लैजान सहयोग गरे ।

यस्तैमा स्टोरका कामदारले फ्लोइडले सिगरेट किन्न नक्कली बिल दिएको भन्दै प्रहरीलाई फोन गरे । तर कामदारहरु स्वयं भने रक्सीले मातेका थिए । ८ बजेर ८ मिनेट जाँदा मिनेपोलिस विभागका प्रहरी अधिकृतहरु त्यहाँ आइपुगे ।

अधिकृत थोमस के लेन र जे अलेक्जेन्डर क्युङ त्यहाँ आइपुगे । लेनले फ्लोइडलाई बन्दुग तेस्र्याए र हात पछाडि बाँधिदिए । सडकमा लडाए । सबा ८ बजेतिर जर्जलाई भुइँमा लडाएर घाँटी थिचियो ।

८ बजेर १७ मिनेट जाँदा अर्का प्रहरी अधिकृत डेरेक माइकेल चौभिन त्यहाँ आइपुगे । उनको साथमा अधिकृत ताउ पनि थिए । ताउले सुरक्षा दिँदै चौभिनले घुँडाको सहायताले जर्जको घाँटी थिच्न थाले । घटनास्थलमा स्थानीयले भिडिओ खिच्दै थिए । प्रहरी अधिकृत उनीहरुको आग्रह सुन्न तयार देखिएका थिएनन् ।

जब कि, जर्ज भने जीवनका लागि अनुनय गरिरहेका थिए । ८ मिनेट ४६ सेकेन्डसम्म घाँटी थिचेपछि जर्ज चलमलाउन छाडे । त्यसपछि प्रहरीले एम्बुलेन्स बोलाएर उनको शरीरलाई घिस्याउँदै एम्बुलेन्सभित्र कोचे ।

फ्लोइड चल्न बन्द गरेपछि हेनेपिन काउन्टी मेडिकल सेन्टरमा उनलाई लगिएको थियो । जहाँ रातको ९ बजेर २५ मिनेट जाँदा मृत्यु भयो । घटनास्थलको सबै दृश्य स्थानीयहरुले पनि कैद गरिसकेका थिए । जुन भिडिओ पछि सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

फ्लोइडको हत्यामा डेरेक चौभिन सँगै अन्य तीन अधिकृत पनि प्रत्यक्ष संलग्न भएको भन्दै उनीहरुलाई जागिरबाट बर्खास्त गरिसकेको छ । जर्जको घाँटी थिच्ने अधिकृत चौभिनको तस्बिर सार्वजनिक गर्दै रंगभेदविरुद्धको नारा लेख्दै विरोध जनाउन थाले ।

मे २९ मा चौभिन पक्राउ पर्दा मिनेसोटाका पहिलो प्रहरी अधिकृत बने, जसमाथि हत्याको मुद्दा परेको छ । उनले तेस्रो तहको हत्या गरेको अभियोग उनीमाथि परेको छ । प्रहरीले यस घटनालाई प्रमुख प्राथमिकता दिएर अनुसन्धान गरेको छ । यद्यपि आन्दोलन रोकिएको छैन ।

अस्वेत समुदायको प्रतिनिधित्व गर्ने अमेरिकी विधायक इल्हान ओमर, टिना स्मिथ, गभर्नर टिम वाल्ज लगायत थुप्रै नेता तथा सेलिब्रिटीहरुले समेत हत्याको विरोध गरेका छन् । त्यसो त, अमेरिकामा कोरोना भाइरस महामारीबाट मृत्यु हुने र संक्रमित हुने अधिकांश काला जातिका मानिस नै छन् ।

यसको असर अस्वेत समुदायमा परेकोमा केही अनुसन्धान समेत भए । राष्ट्रपति ट्रम्प स्वयं काला जातिप्रति असहिष्णु देखिँदैआएका छन् । उनले सार्वजनिक स्थलमै अस्वेतहरुविरुद्ध अभिव्यक्ति दिने गरेका छन् । यस घटनालाई पनि अनुसन्धानमा ट्रम्प प्रशासनले तिव्रता नदेखाएपछि आन्दोलन थप सशक्त बन्न थालेको हो ।

सरकारले भने आन्दोलन दबाउन सेना समेत परिचालन गरेको छ । युवाहरु भने कर्फ्यू तोड्दै प्रदर्शन गरिरहेका छन् । यस क्रममा २ सय भन्दा धेरै पदर्शनकारी पक्राउ परिसकेका छन् ।
ट्रम्पको आप्रवासी र अस्वेत विरोधी नीतिका बीच अहिले अमेरिकामा आन्दोलन थप फैलिएको छ । चुनाव आउन केही महिना मात्रै बाँकी रहँदा, कोरोना महामारीले आक्रामक रुप लिँदा अमेरिकामा उठेको यो आन्दोलनलाई भिन्न तरिकाले हेरिएको छ ।

अमेरिकामा आप्रवासी समुदायहरुको ‘अल अमेरिकन्स’ अभियान सेलाउन नपाउँदै जातीय विभेदविरुद्धको झल्को दिने आन्दोलन अहिले देशव्यापी बनेको छ । एउटा सहरको घटना, एउटा सहरमै सिमित प्रदर्शनलाई अमेरिकी सरकारले दबाउन खोज्दा अन्ततः आगो झैँ देशव्यापी आन्दोलनको रुप लिएको छ ।

पूर्वराष्ट्रपति बाराक ओबामा, जो आफैँ अस्वेत समुदायको प्रतिनिधित्व गर्छन्, उनले समेत सरकारमाथि टिप्पणी गरेका छन् । अर्थात् प्रदर्शनकारीहरुप्रति उनको सहानुभुति छ । उनले भनेका छन्, ‘यदी हामी परिवर्तन ल्याउन चाहन्छौँ भने प्रदर्शन र राजनीतिमा छनोट गर्नु हुँदैन, जनचेतना र प्रतिनिधि छनोट दुबैको खाँचो पर्छ ।’

यसअघि मात्रै ओबामाले युवाहरुलाई अबको शासन व्यवस्था र समाज कस्तो बनाउने भनेर प्रेरणादायी सम्बोधन गरेका थिए । भलै त्यो सम्बोधन यस घटना अघिकै हो । आप्रवासीविरुद्ध ट्रम्पको राष्ट्रवादी नीतिको असर आज अमेरिकाका कैयौँ सहरमा आगो बलिरहेको छ । ट्रम्प प्रशासन यदी जनपक्षीय र संयम् भैदिएको भए आज सायद त्यहाँ चीनमा झैँ कोरोनाभाइरस नियन्त्रित भइसकेको हुने थियो ।

अमेरिकामा महामारीका कारण गम्भीर संकट देखिएको छ । यो क्षतिको जिम्मेवारी किन लिएनौ ? भनेर पत्रकारले सोध्नुअघि नै ट्रम्प यसको जिम्मेवारी त चीनले लिनुपर्ने ‘कुतर्क‘ गर्छन् । विश्व स्वास्थ्य संगठनले चीनका लागि काम गरेकाले अमेरिकामा संकट पैदा भएको उनको खुलेआम चेतावनी दिन्छन् ।

आज करोडौँ अमेरिकीहरुले कोभिड १९ महामारी भन्दा पनि ट्रम्पको मुर्ख र अहंकारी शैलीका कारण दुख व्यहोर्नु परेको छ । यही शिलशिलामा जर्ज हत्यासँग जोडिएको आन्दोलनलाई संवादबाट समाधान गर्ने भन्दा पनि दबाएरै बढ्ने नीति उनको देखिन्छ । तर अमेरिकी सरकार जति धेरै असहिष्णु बन्दैजान्छ त्यति नै आन्दोलन र विरोधका आवाज फैलिनेछन् ।

(एजेन्सीहरुको सहयोगमा)

चर्चामा

सम्बन्धित समाचार