• होमपेज
  • प्रदेश ६
  • लकडाउन नमान्‍ने सुर्खेत वाणिज्य संघको निर्णय, विद्यालय खोल्न प्रदेश सरकारको सिफारिस

लकडाउन नमान्‍ने सुर्खेत वाणिज्य संघको निर्णय, विद्यालय खोल्न प्रदेश सरकारको सिफारिस

अर्थ व्यवस्था अस्तव्यस्त हुन थालेपछि कर्णालीमा लकडाउनविरुद्ध जनमत देखिन थाल्याे

  • मङ्लबार, जेष्ठ २०, २०७७
लकडाउन नमान्‍ने सुर्खेत वाणिज्य संघको निर्णय, विद्यालय खोल्न प्रदेश सरकारको सिफारिस

सुर्खेत — लकडाउनले अर्थ व्यवस्था र दैनिक कार्यतालिका अस्तव्यस्त हुन थालेपछि कर्णालीमा लकडाउनविरुद्ध जनमत देखिन थालेको छ । व्यापारी/व्यवसायीले बुधबारदेखि लकडाउन नमान्ने घोषणा गरेका छन् भने प्रदेश सरकारले समेत विद्यालय र यार्चा संकलन खोल्ने निर्णयको लागि संघीय सरकारलाई अनुरोध गरेको छ ।

सुर्खेत उद्योग वाणिज्य संघले बुधबारदेखि लकडाउन नमान्ने निर्णय गरेको छ । संघले मंगलबार प्रेस विज्ञप्ति प्रकाशित गरी लकडाउनका कारण निजी क्षेत्र धराशायी भएको र राहत दिन सरकारले कुनै पहल नगरेकाले यस्तो निर्णयमा पुग्नुपरेको बताएको छ । संघका अध्यक्ष धनबहादुर रावत र महासचिव लक्ष्मण कँडेलद्वारा जारी विज्ञप्तिमा जेठ २१ गते (बुधबार) देखि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सुरक्षा सावधानी अपनाउँदै सम्पूर्ण पसल खोल्ने उल्लेख छ । फलफूल, तरकारी, डेरी, ग्यास पसलहरु भने बिहान ५ देखि ९ बजेसम्म र साँझ ५ बजेदेखि ८ बजेसम्म सञ्चालनमा रहने विज्ञप्तिमा उल्लेख छ । ‘शनिबारको दिन भने सम्पूर्ण पसल बन्द रहनेछन्,’ विज्ञप्तिमा भनिएको छ ।

सोमबारमात्र सुर्खेतमै घर भएका हिरालाल रेग्मी प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भएका छन् । कार्यकालको सुरुमै व्यापारी/व्यवसायीबाट भएको यस्तो निर्णयले उनलाई अप्ठेरो पारेको छ । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत पदमलाल लामिछानेले निर्णय फिर्ता लिई लकडाउन कार्यान्वयन गराउने विषयमा छलफल भइरहेको बताए ।

यार्सा संकलन र विद्यालय खोल्न सिफारिस

आइतबारमात्र कर्णाली प्रदेश सरकारले कोरोना संक्रमणको जोखिम कम देखिएका हिमाली जिल्लामा विद्यालय खोल्न र यार्चा संकलन खुला गर्ने व्यवस्था मिलाउन संघीय सरकारलाई सिफारिस गरेको छ । आइतबार बसेको प्रदेश विपद व्यवस्थापन केन्द्रको बैठकमार्फत यस्तो सिफारिस गरिएको हो ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको बैठकले संक्रमणबाट सुरक्षित देखिएका हुम्ला, मुगु, जुम्ला, डोल्पा र कालीकोटमा सुरक्षा सावधानीसहित विद्यालय सञ्चालन गर्ने निर्णयको लागि नेपाल सरकार र कोभिड–१९ विपद् व्यवस्थापन केन्द्रलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

बैठकले भारतबाट आएका व्यक्तिलाई प्रवेश नदिने गरी जेठ २५ बाट यार्चा संकलन खुला गर्न पनि अनुरोध गरेको छ । यसको लागि भारतबाट आउने हुम्ला, डोल्पा र मुगुका नागरिकलाई सुर्खेतमै क्वारेन्टाइनको व्यवस्थापन गर्ने सरकारको तयारी छ ।

संक्रमण बढ्दै

जनमत लकडाउनविरुद्ध जान थाले पनि पछिल्लो समय कर्णालीमा कोरोना संक्रमितको संख्या भने बढ्दै गएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार सोमबारसम्म कर्णालीमा २ सय ६२ जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये १२ जना कर्णाली सुदूरपश्चिम प्रदेशका रहेका छन् । उनीहरु सुर्खेतमै आइसोलेसनमा रहेका छन् । दैलेखमा एक जनाको मृत्यु भएको छ ।

संक्रमितहरु दुई जना जुम्लाका प्रहरीबाहेक अन्य सबै भारतबाट आएर क्वारेन्टाइनमा बसिरहेका व्यक्ति छन् । भारतबाट आउनेको संख्या पनि रोकिएको छैन । मुख्यमन्त्री कार्यालयका अनुसार जेठ सुरुदेखि आइतबारसम्म मात्र २० हजार ९ सय १ जना व्यक्ति भारतबाट फर्किएका छन् । २७ हजार ३ सय ४७ जना व्यक्ति अहिले पनि क्वारेन्टाइनमा बसिरहेका छन् ।

लकडाउनका कारण स्थानीय जनजीवनमात्र प्रभावित भएको छैन, भारतबाट आएका व्यक्ति र ज्याला मजदुरी गरेर खाने व्यक्तिले निकै सास्ती खेप्दै आएका छन् । जेठ १३ गतेमात्र भारतबाट आएका सुर्खेत अवचिङका एक व्यक्तिको सयमयमै उपचार नपाउँदा मृत्यु भएको थियो ।

सुर्खेत उपत्यकाको सुब्बाकुनामा पुगेका उनीलाई गाह्रो भएपछि डेढ घन्टासम्म एम्बुलेन्स नपाउँदा अस्पताल पुर्‍याउन ढिलो भई मृत्यु भएको २२ वर्षीय युवाका मामा हरि खत्रीले बताए । ‘लकडाउनको कारण चिनेजानेका मान्छे आउने कुरा भएन, दुइटा एम्बुलेन्सलाई फोन गर्दा आउनै मानेनन्,’ उनले भने, ‘यही ढिलाइले उपचार नपाएरै भान्जाको मृत्यु भयो ।’ कान्तीपुरबाट 

चर्चामा

सम्बन्धित समाचार