बिहिबार, कार्तिक १, २०८१
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • बाजुरा लगायत सुदूरपश्चिममा थप ५ जनामा कोरोना पुष्टि

बाजुरा लगायत सुदूरपश्चिममा थप ५ जनामा कोरोना पुष्टि

  • आइतवार, जेष्ठ १८, २०७७
बाजुरा लगायत सुदूरपश्चिममा थप ५ जनामा कोरोना पुष्टि

धनगढी —  सुदूरपश्चिममा थप पाँच जनामा कोरोना पुष्टि भएको छ। धनगढीमा रहेको कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा थप ५ जनामा कोरोना पुष्टि भएको हो।

बाजुराको बुढिगंगा नगरपालिका वडा नम्वर १ की दुई बर्षिय मृतक बालिका र उनकी २३ बर्षीय आमा, धनगढी उप–महानगरपालिका वडा नम्वर ३ का ४७ वर्षीय पुरुष, कैलालीको भजनी नगरपालिका वडा नम्वर ७ का २३ वर्षीय पुरुष र जानकी गाउँपालिका वडा नम्वर ९ का ३४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

सुदूरपश्चिममा यसअघि २० जनामा कोरोना पुष्टि भईसकेको छ भने कर्णाली प्रदेशमा सुदूरपश्चिमकै थप दुई जना संक्रमितको उपचार भईरहेको छ। यस्तै स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार बलम्बुको कोभिड –१९ अस्पतालमा उपचाररत ३२ बर्षीय पुरुष कोरोनालाई १६औँ दिनमा कोरोना जित्दै हिजो डिस्चार्ज भएका थिए।

सुदूरपश्चिम प्रदेशमा गत चैत १४ गते पहिलो कोरोना संक्रमित फेला परेका थिए। धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो। उनी युएईको दुबईबाट फर्किएका थिए। त्यसपछि चैत २२ गते थप तीन जनामा कोरोना पुष्टि भएको थियो।

धनगढी उप–महानगरपालिका वडा नम्वर ५ की ३४ बर्षीय महिला, कैलाली लम्कीका २१ बर्षीय युवक र कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ बर्षीय युवकमा कोरोना पुष्टि भएको थियो। लम्कीका २१ बर्षीय युवक भारतबाट फर्किएका थिए।

बैशाख १ गते लम्की चुहा नगरपालिका वडा नम्वर १ की ६१ बर्षीय महिलामा पनि कोरोना पुष्टि भएको थियो। उनी पूर्वी नेपालबाट सुदूरपश्चिम आएकी थिईन्। बैशाख १ गते सम्म पुष्टि भएका पाँचै जना संक्रमित कोरोनालाई जितेर घर फर्किसकेका छन्। त्यसपछि ४० दिनसम्म सुदूरपश्चिम प्रदेशमा कोरोनाका नयाँ संक्रमित फेला परेनन्।

जेठ नौँ गते एकैदिन सुदूरपश्चिमका थप ५ जनामा कोरोना संक्रमण पुष्टि भयो। कैलालीको जानकी गाउँपालिकाका तीन जना, डडेल्धुराको परशुराम नगरपालिका एक जना र बैतडीको शिवनाथ गाउँपालिकामा एक जनामा कोरोना पुष्टि भएको थियो। कैलालीका तीन जना संक्रमित मध्ये एक जना भारतबाट लुकिछीपी आएका थिए भने बैतडीका संक्रमित पनि संक्रमण पुष्टि हुनुभन्दा ६५ दिन अगाडि भारतबाट फर्किएका थिए।

अन्य तीन जनाको भने आन्तरिक ट्राभल हिस्ट्री मात्रै रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ। त्यसपछि जेठ १० गते थप चार जनामा कोरोना पुष्टि भयो। बैतडीको शिवनाथ गाउँपालिका वडा नम्वर १ र २ का २०, २०, २२ र २७ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो। चारै जना जेठ ८ गते भारतबाट गौरीफन्टा नाका हुँदै धनगढी भित्रिएका थिए।

जेठ ११ गते अछामको मेल्लेख गाउँपालिकाका ३२ बर्षीय पुरुषमा पनि कोरोना पुष्टि भयो। उनी पनि जेठ ८ गते नै भारतबाट फर्किएका थिए। १३ गते मात्रै कैलालीको जानकी गाउँपालिकाका ३८ बर्षीय पुरुष र अछामको मेल्लेख गाउँपालिकाकी ११ बर्षीय बालिका गरी सुदूरपश्चिममा थप दुई जनामा कोरोना पुष्टि भएको थियो।

अछामकी संक्रमित बालिका जेठ ८ गते आफ्ना बुवासंगै गौरीफन्टा नाका भएर धनगढी भित्रिएकी थिईन्। कैलालीका संक्रमित पनि भारतबाट आएका थिए। यस्तै जेठ १५ गते कैलालीको जानकी गाउँपालिकाका २५ र ३० बर्षीय पुरुष तथा दार्चुलाको महाकाली नगरपालिका वडा नम्वर ५ का २१ बर्षीय युवकमा कोरोना पुष्टि भएको थियो। सुदूरपश्चिममा सुरुवातका ५ जना संक्रमित पनि कोरोना जितेर डिस्चार्ज भईसकेका छन्।

चर्चामा

सम्बन्धित समाचार