बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • देश/प्रदेश
  • सुदूरपश्चिममा भारतबाट दैनिक हजारौँ भित्रिदै, थप क्वारेन्टाईन व्यवस्थापनमा समस्या

सुदूरपश्चिममा भारतबाट दैनिक हजारौँ भित्रिदै, थप क्वारेन्टाईन व्यवस्थापनमा समस्या

  • आइतवार, जेष्ठ १८, २०७७
सुदूरपश्चिममा भारतबाट दैनिक हजारौँ भित्रिदै, थप क्वारेन्टाईन व्यवस्थापनमा समस्या

धनगढी — सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किनेहरुको संख्या बृद्धि हुदै गईरहेको भएपनि थप क्वारेन्टाईन व्यवस्थापनमा उदासिनता देखाईएको छ। कोरोना जोखिमयुक्त क्षेत्रबाट फर्किनेहरुका लागि भन्दै स्थापना गरिएका क्वारेन्टाईनका शैया भरिएका बेला थप व्यवस्थापनमा सम्बन्धीत निकायले ध्यान नदिएका हुन्।

कोरोना भाईरसको जोखिम युक्त क्षेत्रबाट फर्किनेहरुको संख्याको पूर्व आकलन नगरिएपछि सुदूरपश्चिमका अधिकांश जिल्लामा अहिले क्वारेन्टाईनको क्षमाता भन्दा बढि मानिस राख्न थालिएको छ। कञ्चनपुर, डोटी, बाजुरा लगायतका जिल्लामा स्थापना गरिएका क्वारेन्टाईनको क्षमता भन्दा बढि भित्रिएपछि एउटै ठाउँमा राख्न थालिएको छ भने अन्य जिल्लामा समेत दैनिक हजारौँको संख्यामा मानिसहरु प्रभावित क्षेत्रबाट फर्किरहेका छन्।

तर स्थानीय प्रशासन र पालिकाहरुले उनीहरुलाई सुरक्षित रुपमा राख्न थप क्वारेन्टाईनको व्यवस्थापन गर्न सकेका छैनन्। जसका कारण जोखिम बढ्ने देखिएको छ। तर भारतबाट फर्किनेहरुलाई व्यवस्थित रुपमा राखेर कोरोनाको जोखिम र संक्रमण फैलिन नदिने तयारीमा जुटेको दावी गरिएको छ।

जिल्ला क्वारेन्टाईन व्यवस्थापन समितिका संयोजक समेत रहेका कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले अन्यत्रबाट जिल्ला भित्रिरहेकाहरुको व्यवस्थापनका लागि निरन्तर काम भईरहेको बताए। उनले स्थानीय स्तरमा रहेका सामुदायिक विद्यालय एवंम् सार्वजनिक भवनहरुलाई वडा कार्यालयहरुले क्वारेन्टाईनको रुपमा व्यवस्थापन गरिरहेको जानकारी दिए।

संघिय सरकारले बनाएको मापदण्ड अनुसार क्वारेन्टाईन स्थापना गर्न सबै पालिकाहरुलाई निर्देशन समेत दिईएको उनले बताए। स्वास्थ्य निर्देशनालयका अनुसार कञ्चनपुरमा पाँच हजार पाँच सय ८५ जना अटाउने क्षमताको क्वारेन्टाईनमा अहिले पाँच हजार पाँच सय ९२ जनालाई राखिएको छ।

नौ वटा स्थानीय तह रहेको बाजुरामा पनि यसअघि स्थापना गरिएका क्वारेन्टाईन भारतबाट फर्किनेहरुले भरिभराउ भएका छन्। अन्य ठाउँमा झै बाजुरामा पनि भारत तथा कोरोना प्रभावित क्षेत्रबाट फर्किएकालाई राख्न सामुदायिक विद्यालय, सार्वजनिक भवनहरुलाई क्वारेन्टाईनका रुपमा व्यवस्थापन गरिएको छ। जिल्लामा स्थापना गरिएका क्वारेन्टाईन भरिएपनि बाहिरबाट भित्रिने क्रम भने रोकिएको छैन्।

दुई हजार बढिलाई क्वारेन्टाईनमा राखिएको छ। अब के कती मानिस जिल्ला भित्रिन्छन् भन्ने कुराको कुनै टुङ्गो छैन्। तैपनि स्थानीय पालिकाहरुसँग समन्वय गरी व्यवस्थापनमा जुटिरहेको बाजुराका प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले बताए। उनले सामुदायिक विद्यालय र सार्वजनिक भवनहरु अपुग भए नीजि घरहरु भाडामा लिएर भएपनि क्वारेन्टाईन व्यवस्थापनमा स्थानीय पालिकाहरु जुटिरहेको सुनाए।

१० हजार ६ सय ४१ जना अटाउने गरी कैलालीका दुई सय २१ स्थानमा स्थापना गरिएका क्वारेन्टाईनमा अहिले आठ हजार बढिलाई राखिएको छ। शनिवार उद्धार गरीएका जिल्लावासीलाई राखेपछि क्वारेन्टाइन भरिने देखिएको छ। अब के कती मानिस जिल्ला भित्रिन्छन् भन्ने कुनै टुङ्गो छैन्। तर स्थानीय तहसँगको समन्वयमा थप क्वारेन्टाइन व्यवस्थापनको काम भईरहेको दावी स्थानीय प्रशासनको छ।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले केही दिन पहिले स्थानीय तहका जनप्रतिनिधीहरुसँग बसेको संयुक्त बैठकमा जिल्लामा थप क्वारेन्टाईन व्यवस्थापन गर्ने निर्णय नै भएको बताए। स्थानीय तहहरुले वडा स्तरमा क्वारेन्टाईन विस्तार गर्दैै लैजाने समझदारी अनुसार काम भईरहेको बताउँदै अहिले क्वारेन्टाईनमा बसेकाहरुको स्वास्थ्य परीक्षण गरी घर फर्काउने व्यवस्था पनि मिलाईरहेको जानकारी दिए।

सामुदायिक विद्यालय एवंम् सामुदायिक भवनहरुमा स्थापना गरिएका क्वारेन्टाईन व्यवस्थित नहुँदा जोखिम बढेको छ। क्वारेन्टाईनहरुमा सामाजिक दुरी समेत कायम नगरी क्षमता भन्दा बढि मानिसलाई एउटै ठाउँमा राख्दा कोराना मात्र नभई अन्य सरुवा रोगको समेत जोखिम बढेको छ।

त्यसैले सावधानी अपनाउनुपर्ने सुझाव दिईएको छ। धैरै ठाउँमा सौचालय, खानेपानी लगायत पूर्वाधारको अभाव देखिएको छ। तर सरकारले बनाएको मापदण्डमा क्वारेन्टाईनमा आधारभुत स्तरका सबै सेवा उपलब्ध हुनुपर्ने उल्लेख छ। सुदूरपश्चिम प्रदेशभरी अहिले ३६ हजार बढिलाई अनिवार्य क्वारेन्टाईनमा राखिएको छ।

चर्चामा

सम्बन्धित समाचार