• होमपेज
  • देश
  • भारतबाट आएका थिए सुदूरपश्चिमका ६० प्रतिशत कोरोना संक्रमित

भारतबाट आएका थिए सुदूरपश्चिमका ६० प्रतिशत कोरोना संक्रमित

  • मङ्लबार, जेष्ठ १३, २०७७
भारतबाट आएका थिए सुदूरपश्चिमका ६० प्रतिशत कोरोना संक्रमित

धनगढी : सुदूरपश्चिम प्रदेशमा भारतबाट आएका नौँ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। ७० दिनयता आएका नौँ जनामा कोरोना पुष्टि भएको हो। जुन प्रदेशमा देखिएका कुल कोरोना संक्रमितको ६० प्रतिशत हुन्छ।

अहिलेसम्म १५ जनामा कोरोना पुष्टि भएकोमा नौँ जना भारतबाट फर्किएका पुरुष र एक जना युएईबाट फर्किएका पुरुषमा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। निर्देशनालयक अनुसार आन्तरिक ट्राभल हिस्ट्री मात्रै भएका तीन जना पुरुष र दुई जना महिलामा पनि कोरोना पुष्टि भईसकेको छ।

सुदूरपश्चिम प्रदेशमा गत चैत १४ गते पहिलो कोरोना संक्रमित फेला परेका थिए। धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो। उनी युएईको दुबईबाट फर्किएका थिए।

त्यसपछि चैत २२ गते थप तीन जनामा कोरोना पुष्टि भएको थियो। धनगढी उप–महानगरपालिका वडा नम्वर ५ की ३४ बर्षीय महिला, कैलाली लम्कीका २१ बर्षीय युवक र कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ बर्षीय युवकमा कोरोना पुष्टि भएको थियो। लम्कीका २१ बर्षीय युवक भारतबाट फर्किएका थिए।

बैशाख १ गते लम्की चुहा नगरपालिका वडा नम्वर १ की ६१ बर्षीय महिलामा पनि कोरोना पुष्टि भएको थियो। उनी पूर्वी नेपालबाट सुदूरपश्चिम आएकी थिईन्। बैशाख १ गते सम्म पुष्टि भएका पाँचै जना संक्रमित कोरोनालाई जितेर घर फर्किसकेका छन्। त्यसपछि ४० दिनसम्म सुदूरपश्चिम प्रदेशमा कोरोनाका नयाँ संक्रमित फेला परेनन्।

जेठ नौँ गते एकैदिन सुदूरपश्चिमका थप ५ जनामा कोरोना संक्रमण पुष्टि भयो। कैलालीको जानकी गाउँपालिकाका तीन जना, डडेल्धुराको परशुराम नगरपालिका एक जना र बैतडीको शिवनाथ गाउँपालिकामा एक जनामा कोरोना पुष्टि भएको थियो।

कैलालीका तीन जना संक्रमित मध्ये एक जना भारतबाट लुकिछीपी आएका थिए भने बैतडीका संक्रमित पनि संक्रमण पुष्टि हुनुभन्दा ६५ दिन अगाडि भारतबाट फर्किएका थिए। अन्य तीन जनाको भने आन्तरिक ट्राभल हिस्ट्री मात्रै रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

त्यसपछि जेठ १० गते थप चार जनामा कोरोना पुष्टि भयो। बैतडीको शिवनाथ गाउँपालिका वडा नम्वर १ र २ का २०, २०, २२ र २७ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो। चारै जना जेठ ८ गते भारतबाट गौरीफन्टा नाका हुँदै धनगढी भित्रिएका थिए। जेठ ११ गते अछामको मेल्लेख गाउँपालिकाका ३२ बर्षीय पुरुषमा पनि कोरोना पुष्टि भयो।

उनी पनि जेठ ८ गते नै भारतबाट फर्किएका थिए। पछिल्लो पटक पुष्टि भएका संक्रमित जेठ ८ गते दुई हजार चार सय ९८ जना नेपालीसंगै गौरीफन्टा नाकाबाट फर्किएका थिए। अहिले प्रदेशमा १० जना कोरोना संक्रमितको उपचार भईरहेको छ भने ५ जना कोरोनालाई जितेर घर फर्किसकेका छन्। ५ जनाको सेती प्रादेशिक अस्पताल, तीन जनाको टीकापुर अस्पताल तथा एक÷एक जनाको डडेल्धुरा र बैतडी अस्पतालमा उपचार भईरहेको छ। #साभार दिनेश खबर

चर्चामा

सम्बन्धित समाचार