शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • देश
  • अर्को जिल्लामा जान प्रतिबन्ध : सबै पास रद्ध गर्ने गृहमन्‍त्रालयको निर्णय

अर्को जिल्लामा जान प्रतिबन्ध : सबै पास रद्ध गर्ने गृहमन्‍त्रालयको निर्णय

  • मङ्लबार, बैशाख ३०, २०७७
अर्को जिल्लामा जान प्रतिबन्ध : सबै पास रद्ध गर्ने गृहमन्‍त्रालयको निर्णय

काठमाडौं : कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिदै गएपछि गृहमन्त्रालयले आवतजावतमा कडाई गर्ने निर्णय गरेको छ । मंगलबार एकै दिन ५७ जनाको रिपोर्ट पोजिटिभ आएपछि मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्लामा जान प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

मन्त्रालयका शाखा अधिकृत सहदेव गौतमले सार्वजनिक गरेको विज्ञप्तिमा जेठ १ गतेदेखि एक जिल्लादेखि अर्को जिल्लामा अनुमति दिइएका इपास र अन्य पास रद्ध हुने उल्लेख गरिएको छ ।  गृहले जिल्लाभित्र आवतजावतमासमेत कडाई गर्ने निर्णय गरेको छ । सरकारले केही दिनअघिमात्र लकडाउन खुकुलो पार्दै सरकारी कर्मचारी, बैंक, उद्योग र निर्माण क्षेत्रका कर्मचारीलाई कार्यालय आवत जावतका लागि पासको व्यवस्था गरेको थियो । गृहले गरेका निर्णय बुँदामा
-एक जिल्लाबाट अर्कोजिल्लामा जाने गरि हालसम्म जारी भएका ईपाससहित सबै सवारी पास रद्ध,
-अत्यावश्यक अवस्थामा एक जिल्लाबाट अर्को जिल्लामा जाने पास जारी गर्नुपरेमा जारी गर्ने जिल्लाले पुग्ने जिल्लाको प्रमुख जिल्ला अधिकारीको स्विकृतिमा मात्रै जारी गर्नुपर्ने,
-अत्यावश्यक अवस्थामा काठमाडौं उपत्यका बाहिरका जिल्लाबाट काठमाडौं उपत्यकाभित्र प्रवेशका लागि सवारी पास जारी गर्नुपरेमा गृहमन्त्रालयको स्वीकृति लिनुपर्ने,
-पास जारी गर्दा पासमा गृहमन्त्रालयको स्वीकृति नम्बर समेत समावेश गर्नुपर्ने,
-पास स्वीकृतिका लागि अनुरोध गर्दा पास जारी गर्नुपर्ने प्रयोजन र पुस्ट्याइ समेत खुलाउनुपर्ने,
-पासबिना एक जिल्लाबाट अर्को जिल्लामा सवारी आवागमन भएको पाइए तत्काल सुरु जिल्लाले नै अर्को जिल्ला पुग्नु अगावै सवारी आवागमन रोक्ने व्यवस्था मिलाउने,
– सबै निर्णय जेठ १ गतेदेखि लागू हुने ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार  मंगलबार एकै दिन पर्सामा ३९, कपिलवस्तुमा ८, रुपन्देहीमा ९ र बारामा एक गरी ५७ जनामा कोरोना पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या १९१ पुगेको छ। जसमध्ये १५८ पुरुष र ३३ महिला छन्। ३३ जना निको भएका छन्। जसमध्ये तीन जनाको पुनः पीसीआर परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएपछि अस्पताल भर्ना गरिएको छ।

संक्रमित सबैको आइसोलेसनमा उपचार भइराखेको छ। सबैको स्वास्थ्य अवस्था सामान्य भएको प्रवक्ता देवकोटाले जानकारी दिए। अहिलेसम्म सम्भावित संक्रमित मानिएका २२८ जना आइसोलेसनमा छन्। १२ हजार सात सय ८५ जनालाई भने क्वारेन्टाइनमा राखिएको छ।

मन्त्रालयका अनुसार मंगलबारसम्म पीसीआर १८ हजार ९ सय ६४ र आरडीटी विधिबाट ५९ हजार ६ सय २७ जनाको नमुना परीक्षण गरिएको छ। पछिल्लो २४ घण्टामा दुई हजार दुई सय ३६ जनामा कोरोना परीक्षण गर्दा ५७ जनाको रिपोर्ट पोजिटिभ देखिएको हो।

चर्चामा

सम्बन्धित समाचार