शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • अमेरिकी उपराष्ट्रपति ‘सेल्फ क्वारेन्टाइन’मा नबस्‍ने

अमेरिकी उपराष्ट्रपति ‘सेल्फ क्वारेन्टाइन’मा नबस्‍ने

  • मङ्लबार, बैशाख ३०, २०७७
अमेरिकी उपराष्ट्रपति ‘सेल्फ क्वारेन्टाइन’मा नबस्‍ने

वाशिङ्‌टन —अमेरिकाका उपराष्ट्रपति माइक पेन्सले सेल्फ क्वारेन्टाइनमा नबस्ने बताएका छन् । आफ्ना सहयोगीलाई कोरोनाभाइरसको सङ्क्रमण देखिएपनि उनले सेल्फ क्वारेन्टाइनमा बस्न अस्वीकार गरेका हुन् ।

उपराष्ट्रपतिका प्रवक्ता डेभिन ओमाल्लीले उपराष्ट्रपति पेन्स क्वारेन्टाइनमा बस्ने कुनै योजना नरहेको र नियमित रुपमा आफ्नो काम गरिरहने जानकारी दिए । उपराष्ट्रपति पेन्सका एक जना सहयोगी तथा सञ्चार सचिव केट मिल्लरलाई कोरोनाभाइरसको सङ्क्रमण भएको स्वास्थ्य अधिकारीहरुले पुष्टि गरेका छन् ।

सहयोगीलाई सङ्क्रमण भएकाले उपराष्ट्रपति पेन्सलाई पनि सङ्क्रमण भएको हुन सक्ने, नदेखिएको हुन सक्ने र उहाँबाट अरुलाई पनि सर्न सक्ने भएकाले उनी सेल्फ क्वारेन्टाइनमा बस्नु उपयुक्त हुने सुझाव धेरैले दिएका थिए ।

तर उनले भने आफु नियमितरुपमा कार्यालय जाने, काम गर्ने र आफ्नै कार्यालयको स्वास्थ्य ईकाइसँग निरन्तर परामर्शमा रहने जानकारी दिए ।

उपराष्ट्रपति पेन्सका अर्का एक सहयोगीले पहिलाभन्दा केही सतर्कता अपनाउने तर पूर्ण रुपमा सेल्फ क्वारेन्टाइनमा भने नबस्ने निर्णय भएको बताएका छन् ।

सञ्चार सचिव मिलरलाई गत शुक्रबार कोरोनासङ्क्रमण भएको पुष्टि गरिएको थियो । ह्वाइट हाउसमा कार्यरत भएका कोरोनाभाइरसबाट सङ्क्रमितमध्ये उनी दोस्रो व्यक्ति हुन् ।

विश्वभरी महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट मृत्यु भएका र सङ्क्रमित भएकाहरुको सवैभन्दा धेरै संख्या अमेरिकामै रहेको छ ।

पछिल्लो विवरण अनुसार अमेरिकामा कोरोनाका कारण १३ लाख २८ हजार २०१ जना विरामी भएका छन् भने ७९ हजार ५०८ जनाको मृत्यु भएको छ । – सीएनएन

चर्चामा

सम्बन्धित समाचार