बिहिबार, कार्तिक १, २०८१
  • होमपेज
  • देश
  • बझाङमा औषधि नपाएर आमा बितिन्, दाहसंस्कार भइसक्यो छोरालाई थाहा छैन

बझाङमा औषधि नपाएर आमा बितिन्, दाहसंस्कार भइसक्यो छोरालाई थाहा छैन

  • सोमवार, बैशाख २२, २०७७
बझाङमा औषधि नपाएर आमा बितिन्, दाहसंस्कार भइसक्यो छोरालाई थाहा छैन

बझाङ : बझाङको साईपाल गाउँपालिका– १ धलौन घर भएकी एक दिर्घरोगी महिलाकोे नियमित खाने औषधि नपाएर सोमबार बिहान मृत्यु भएको छ। ४७ वर्षीया कंकादेवी बोहराको जिल्ला अस्पतालमा मृत्यु भएको हो।

मुटुको भल्वमा समस्या भएकी बोहराले विगत ६ वर्षदेखि नियमित औषधि सेवन गरिरहेकी थिइन।  विगत एक वर्षदेखि सदरम्ुकाम चैनपुरमा डेरागरी बस्दै आएकी कंका बोहराले खाने गरेको नियमित औषधि दुई साताअघि सक्कीएपछि उनको स्वास्थ्य कमजोर हुँदै गएको थियो।

बोहराले खाने नियमित औषधि सेवन गर्न छाडेकै कारण उनको मृत्यु भएको जिल्ला अस्पतालका डाक्टर सन्दीप ओखेडाले बताए। डाक्टर ओखेडाले भने, ‘मुटुको भल्वमा समस्या भएकी बोहराले दुई हप्तादेखि नियमित खानुपर्ने औषधि नपाएकी रहेछिन, गम्भीर अवस्थामा अस्पतालमा आएकी उनलाई प्रयास गर्दागर्दै बचाउन सकिएन।’ ‘उहाँको समस्याबारे हामीहरुलाई अगाडि जानकारी भएकोभए नियमित औषधि उपलब्धका लागि केहि पहल गर्नसकिने थियो’ उनले थपे।

बोहरा आफ्ना पाँच वर्षे र सात वर्षे छोराहरुको साथमा चैनपुरमा डेरागरी बस्दै आएकी थिइन। मृतक बोहराले आफ्नो नियमित खाने औषधि सक्किएपछि आफन्तहरुलाई समेत जानकारी गराउँदै आएकी थिइन। उनको डेरा नजीकै बस्ने करिस्मा विकले भनिन, ‘लकडाउनको समय भएकाले समस्या सम्बन्धित निकायमा नपुग्दा उनको मृत्यु भएको हो। काठमाडौंबाट औषधि मगाउने गरेका थियौ। तर देशमा लकडाउन भएका कारण २ हप्ता सम्म पहल गर्दापनि औषधि मगाउन नसकेपछि उनलाई झन समस्या भएको थियो।’ त्यस्तै घरबेटी पवित्रा बोहाराले पनि पहिले आफुहरुले काठमाडौंबाट औषधि मगाउने गरेको तर लकडाउन भएका कारण २ हप्तासम्म पहल गर्दासमेत औषधि मगाउन असफल भएपछि समस्या भएको बताइन।

उनको स्वास्थ्य समस्या बल्झिदै गएपछि डेरा वरपर बस्ने छिमेकीहरुले उनलाई बोकेर दुई दिनअघि जिल्ला अस्पतालमा पुर्याएका थिए। तर उनको उपचारकै क्रममा मृत्यु भयो।  उनको मृत्यु भएपछि दाहसंस्कार समेत भइसकेको छ तर मृतकका छोराहरुले भने आमा अझै अस्पतालबाट आइनन् आन्टी भनेर आफुलाई सोध्ने गरेको घरबेटी पवित्रा बोहराले बताइन। उनले भनिन, ‘नाबालकहरुलाई आमाको मृत्युबारे जानकारी गरेको छैन तर उनीहरुको खानापिनाको भने हामीले व्यवस्था गरेका छौं।

आमाको मृत्यु भएपछि डेरामा रहेका २ छोरा र गाउँमा रहेकी १ छोरी र एक छोराको बिचल्ली हुने समेत पवित्राले बताइन। ‘काठमाडौंबाट औषधि मगाउने गरेका थियौ। तर देशमा लकडाउन भएका कारण २ हप्ता सम्म पहल गर्दापनि औषधि मगाउन नसकेपछि उनलाई झन समस्या भएको थियो।’

एक दशक अघिदेखि मुटुको समस्या झेल्दै आएकी कंकादेवी बोहरालाई केहि वर्षअघि काठमाडौंमा उपचार गर्दा डाक्टरले अप्रेशन गर्नुपर्ने सुझाव दिएका थिए। तर त्यो समयमा उनका श्रीमान राजमल बोहराको मृत्यु भएको र त्यसकै केही वर्षपछि देवरको समेत मृत्यु भएपछि घरायसी समस्याका कारण उनले अप्रेशन गर्न सकेकी थिइनन्। मृतक बोहरा आफुले पाउने एकलमहिला भत्ताले डेरा खर्च, छोराछोरीको पढाईखर्चका साथै आफ्नो औषधि खर्चको जोहो गर्दैआएकी थिइन।

आमाको मृत्यु भएको जानकारीपछि गाउँमा रहेकी उनकी छोरी बेहोस अवस्थामा रहेको मृतकका आफन्त बसन्त बोहराले बताए। उनले भने ‘साना छोराहरुलाई  भने आमाको मृत्युबारे जानकारी दिएका छैनौ।’ अहिले मृतक बोहराको दाहसंस्कार उनका आफन्तहरुले गरिसकेका छन्। तर उनका नाबालक छोराहरुले भने आमा अस्पतालमा नै छन् भन्ने सोचेका छन्।
दिनेश खबर बाट

चर्चामा

सम्बन्धित समाचार