• होमपेज
  • समाज
  • छोरालाई कैलालीमा खटाएर दुर्गमका डाक्टरलाई स्वास्थ्य निर्देशकको धम्की

छोरालाई कैलालीमा खटाएर दुर्गमका डाक्टरलाई स्वास्थ्य निर्देशकको धम्की

  • आइतवार, बैशाख १४, २०७७
छोरालाई कैलालीमा खटाएर दुर्गमका डाक्टरलाई स्वास्थ्य निर्देशकको धम्की

धनगढी : सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डाक्टर गुणराज अवस्थी दुर्गममा सेवारत डाक्टरलाई धम्की दिन थालेका छन्। छात्रवृत्तिमा अध्ययन गरेका आफ्ना छोरालाई प्रदेशको सबैभन्दा सुगम जिल्ला कैलालीमा खटाउन लविङ गरेका डाक्टर अवस्थीले सबैभन्दा दुर्गममा रहेको बाजुरामा कार्यरत डाक्टरलाई धम्की दिएका हुन्।

उनले शुक्रवार मात्रै संघीय स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई पत्र पठाउँदै बाजुराको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा कुनै पनि चिकित्सक जान नमानेको भन्दै आफूलाई कामकाजका लागि खटाइदिन अनुरोध गरेका छन्।

कोल्टीबाट चिकित्सकको माग भई आएपछि निर्देशनालयले जिल्ला अस्पताल बाजुरामा कार्यरत डाक्टर राजुराज जैशीलाई खटाएको तर उनले निर्देशनालयको निर्देशनको अवज्ञा गरेको भन्दै डाक्टर अवस्थीले आफैँलाई सो क्षेत्रमा खटाईदिन अनुरोध गरेका हुन्।

आँफैलाई खटाउन आग्रह गरेका डाक्टर अवस्थीले भने छात्रवृत्तिमा अध्ययन गरेका आफ्ना छोरा सचिन अवस्थीलाई कैलालीको जोशीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा खटाउन स्वास्थ्य सेवा विभागमा लविङ गरेका थिए। जोशीपुरमा एक जनाको मात्रै दरबन्दी रहेकोमा उक्त दरबन्दीमा डाक्टर दीपक जोशी कार्यरत थिए। तर छात्रवृत्ति करारमा डाक्टर अवस्थीका छोरा पनि जोशीपुरमै खटाईएको थियो।

उता डाक्टर जैशी भने छात्रवृत्ति करारमै बाजुरा जिल्ला अस्पतालमा विगत एक बर्षदेखि नै कार्यरत छन्। उनलाई निर्देशनालयले अघिल्लो शनिवार २४ घण्टा भित्रै कोल्टीमा हाजिर हुन निर्देशन दिएको थियो।

जैशीले भने, ‘मसंग एक पटक छलफल समेत नगरी २४ घण्टे पत्र आयो। २४ घण्टा भित्रै उपस्थित हुने अवस्था थिएन्। लकडाउनले सवारी साधन सञ्चालन भएका छैनन्। सबै व्यवस्थापन गर्न ढिलो भयो। म जाने तयारीमै थिए।’

जिल्ला अस्पतालका डाक्टर रुपचन्द्र विश्वकर्माका अनुसार डाक्टर जैशीले कोल्टी जानका लागि तयारी गरिसकेका थिए। उनले भने, ‘अहिले विभिन्न सञ्चार माध्यममा डाक्टर जैशीले अवज्ञा गरेको कुरा आईरहेको छ। अव के हुन्छ थाहा भएन्।’

डाक्टर जैशी र निर्देशकका छोरा डाक्टर अवस्थी दुबै अहिले छात्रवृत्ति करारमै छन्। सुदूरपश्चिममै कार्यरत एक जना डाक्टरले दिनेश खवरलाई भने, ‘निर्देशक ज्यूले आँफैले बाजुरामा खटिनु भन्दा आफ्नै छोरालाई खटाए पनि भईहाल्यो नि। किन चर्चामा आउने प्रयास गरिदैछ।’ यता डाक्टर अवस्थीले भने आफू कानुन अनुसार काम गरिरहेको बताउँदै प्रतिक्रीया नदिने बताए। याे खबर दिनेश खबर बाट साभार गरिएकाे हाे ।

चर्चामा

सम्बन्धित समाचार