• होमपेज
  • राजनीति
  • अभिभावक बन्ने बेलामा सत्ता मोह

अभिभावक बन्ने बेलामा सत्ता मोह

  • मङ्लबार, बैशाख ९, २०७७
अभिभावक बन्ने बेलामा सत्ता मोह
सुरेन्द्र केसी

वर्तमान सरकार झण्डै दुई तिहाइको, त्यो पनि वामपन्थीको । जनताको ठूलो आशा एवं भरोसाका साथ स्थापित भएको सरकार । नेपाली राजनीतिमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सफलतापूर्वक कार्यान्वयन गर्नका खातिर जनताले चुनेको आफ्नो वारेस ।

मुलुकमा धेरै पार्टी हुँदा राजनीतिक स्थायित्व महसुस जनताले नगरेका कारण दुई वामपन्थी पार्टीहरुको एकता घोषणलाई मूर्तरूप दिनका लागि जनतामा जाँदा जनताले उक्त एजेन्डालाई ल्याप्चे ठोकी स्वीकृति दिँदा बनेको सरकार । हुनेको खोस्ने होइन नहुनेलाई सम्पन्न हुने मौका प्रदान गर्ने उद्घोष गर्दै चाइना मोडेलको समाजवाद कायम गर्छौं, काम समूहमा मुनाफा व्यक्तिमा भन्दै व्यक्तिको वैयत्तिक स्वतन्त्रता आर्थिक उन्नतिका साथ जनताले मतदान गरी मुलुकको सङ्घीय लोकतान्त्रिक गणतन्त्र, नीति नियम एवं कार्यान्वयन गर्नका खातिर तीनै तहको निर्वाचनमा झण्डै दुई तिहाइको मत प्राप्त गरी तीनै तहमा नेतृत्व गरेको वर्तमान सरकार ।

दुई वामपन्थी पार्टीको नेतृत्वद्वय केपी शर्मा ओली र पुष्पकमल दाहल (प्रचण्ड)ले आआफ्नो पार्टीको कमान्ड सम्हाली चुनावी तालमेलका साथ चुनावमा होमिएका कारण दुई पार्टीको मिलाउँदा झण्डै दुई तिहाइ मत प्राप्त भयो । जनताले पूर्ण विश्वास गरे । पार्टी एकीकरण भयो । केपी ओली प्रधानमन्त्री भए । अढाई अढाई वर्ष वा आधा आधा कार्यकाल पालैपालो प्रधानमन्त्री बन्ने भन्ने लिखित सहमति भयो ।

महाधिवेशनसम्म दुवै जना अध्यक्ष बन्ने सहमति भयो । त्यतिबेलासम्म उक्त पार्टीका कार्यकर्ता मात्र होइनन् मतदान गर्ने मतदातासमेत अब मुलुकले स्थायी सरकार पायो पार्टी जुनसुकै होस् भन्ने ठाने । अब देशले काँचुली फेर्छ भन्ने सोच्न थाले । पार्टी एकीकरणले छिटै पूर्णता प्राप्त गर्ने छ भने जतिसुकै उद्घोष गरे पनि प्रथम चरण पार गर्न नै करिब एक वर्ष लाग्यो । दुई पार्टीको ‘मत’ मिलाएर ठूलो पार्टी भएछ वा बनाइएछ तर ‘मन’ मिलेको रहेनछ भन्दै उक्त पार्टीका स्वाभिमानी कार्यकर्ताहरु पाखा लाग्ने स्थितिसम्म पार्टी पुग्न लाग्यो भनी स्वाभिमानी कार्यकर्ताहरु विचलित हुन थालेको यत्रतत्र सुन्नमा आउन थाल्यो ।

विसं २००८ साल फागुन ११ गते तेह्रथुम जिल्लामा जन्मेका खड्गप्रसाद ओली वर्तमान सरकारको नेतृत्व गर्दैगर्दा मुलुकको प्रमुख पार्टीको दुईमध्ये एक अध्यक्षका रूपमा रहेका छन् । १४ वर्षको उमेरमा राजनीति सुरु गरेका ओलीले २०२६ सालमा नेकपाको सदस्यता लिएका थिए । २०२८ सालको झापा आन्दोलनका प्रमुखमध्ये एक थिए भने निरङ्कुश तानाशाही निर्दलीय पञ्चायती व्यवस्था विरुद्धमा लाग्दा १४ वर्षसम्म जेल जीवन विताएका ओली कठोर जेल जीवनमा गोलघरदेखि काल कोठरीसम्म भोगेका थिए, मात्र प्रजातन्त्र पुनस्र्थापनाका लागि । हठी स्वाभावका ओली जेलभित्र समेत कुनै कुरामा आत्मसमर्पण नगरी धेरैचोटि मृत्यु शय्यामा नपुगेका होइनन् ।

तर पनि हरेस नखाई १४ वर्ष लामो कठोर जेल जीवन समाप्त हुँदै गर्दा देशमा नाम मात्रको जनमत सङ्ग्रह २०३६ सालको र त्यसपछि नाम मात्रको बालिक मताधिकारको निर्वाचनले समेत प्रजातन्त्रको पक्षमा लागेका योद्धाहरुलाई काल कोठरीमा धान्न नसक्ने देखेपश्चात २०४४ सालमा रिहा गर्न बाध्य हुनुप¥यो ।

यसरी यति लामो जेल जीवन व्यतित गरेका केपी ओली विसं २०४८, २०५१ र २०५६ सालमा झापा जिल्लाबाट संसदमा प्रतिनिधित्व गरे भने २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा पराजित हुन पुगेका ओली २०५१÷२०५२ मा गृह मन्त्री र २०६४÷०६५ सालमा उपप्रधानमन्त्री एवं पराराष्ट्र मन्त्री भएका ओली कहीँकतै विवादमा परेनन् र उक्त दुई कार्यकाल सकारात्मक रूपमा नै विताए । जब पहिलो चोटि प्रधानमन्त्री भए तब उनका विवादास्पद छविहरु बाहिर आउन थाले । यत्रो लामो त्याग र बलिदानका बाबजुद जसरी एकाङ्की रूपमा प्रस्तुत भएका ओलीले माओवादीसँग मिलेर बनेको प्रधानमन्त्री र त्यसपश्चात प्रचण्डलाई बनाउनुपर्ने सहमति लत्याई एकलौटी रूपमा अघि बढ्न खोज्दा वामपन्थी आन्दोलनमा ठेस लाग्नपुग्यो भने माओवादी र नेपाली काँगे्रस मिलेर सरकार निर्माण गरे ।

यति लामो बलिदान दिएका व्यक्तिले मुलुक र जनताप्रति गैरजिम्मेवार होलान् भन्ने सायद कल्पना नै गर्न सकिन्न तर निहित स्वार्थ भएका व्यक्तिहरुद्वारा तिनीहरुका व्यक्तिगत स्वार्थका कारण प्रधानमन्त्री ओली दिनप्रति दिन आफ्ना कारणले नभई अरूकै कारणले बदमान हुँदै जान थाले । केपी ओलीले परम्परालाई निरन्तरता दिई राखेका छैनन् ताकि संविधान निर्माण पछिको पहिलो जनप्रतिनिधिका रूपमा यो सरकार छ । यो सरकार फेल हुँदा लोकतान्त्रिक गणतन्त्रप्रति जनताको विश्वास घट्छ भने समाजवाद उन्मुखता पूर्ण बिराम लाग्ने मात्र होइन कतै नेपालमा पनि वामपन्थीहरुले विश्वमा भोगेका तीतो यर्थात भोक्नुपर्ने त होइन ?

राष्ट्रियता, प्रजातन्त्र र पछिल्लो समय गणतन्त्रलाई जीवन समर्पण गरेका प्रधानमन्त्री आजकाल किन बढी भावनामा बग्न थालेका छन् ? पार्टीमा योगदान गर्ने कार्यकर्ता विलय हुने स्थिति किन आयो ? के गाउँपालिका अध्यक्ष हुन नसुहाउने व्यक्तिलाई सांसद र मन्त्री बनाएकाले त होइन ? हो, प्रधानमन्त्रीको असल नियतमा खोट लगाउन मिल्दैन तर उहाँको स्वास्थको कारणले गर्दा यस्तो समस्या भोग्दै त होइन ? हामी प्रधानमन्त्रीको सदा स्वास्थ्यको कामना गर्दछौँ । त्यही स्वास्थ्यलाई हतियार बनाई प्रधानमन्त्रीका गिरोहले पार्टीका सही व्यक्ति र सदा पार्टीको हित चाहने कार्यकर्तालाई छेउमा नै पर्न नदिएका त हैनन् ?
हाल पार्टी एकतालाई मूर्तता दिन उहाँको अहं भूमिका छ । सरकार वामपन्थीको छ । यदि सम्पूर्ण जनताको हितमा काम गर्न सक्यो भने देश नै वामपन्थीमय हुन्छ वा ‘समाजवादी लोकतान्त्रिक गणतन्त्र’ देश नेपाल हुन्छ । तर यसमा ठूलो छाती र त्यागको भावना प्रधानमन्त्रीमा हुनुपर्दछ ।

वर्तमानमा पार्टीभित्र रहेकाले विरोध गर्दा अर्काे समूहको तक्मा भिराउने, लेखक, पत्रकार स्वतन्त्र बुद्धिजीवी एवं आम जनताले विरोध गर्दा अर्काे पार्टीको विल्ला भिराउने परिपाटीले गर्दा अब उहाँबाट यो कुरा सम्भव देखिन छाडेको कुरा उहाँकै पार्टीभित्र निकै चर्चा हुन थालेको छ । अझ केले पुष्टि गर्छ भने रवीन्द्र अधिकारी, गोकुल बाँस्कोटा, भानुभक्त ढकाल आदिले गरेको गल्तीमा सोझै आफू नै सर्वाेच्च अदालतको न्यायाधीश जस्तो गरी निर्दाेषिताको तक्मा लगाइदिएको मात्र होइन, ती सहयात्रीहरुको लाज छोप्नका लागि आफ्नो धोतीको फेर टुक्रा टुक्रा पारेर दिदाँ आफै नाङ्गगो हुने स्थिति आउँदा पनि किन चेत खुलेको छैन ? अझ गिरोहकै चक्करका कारणले पार्टीको निर्णय कार्यान्वयन गर्न किन र कसले रोक्यो ? के यसले पार्टी एकताको मर्म पूरा हुन्छ ? हिजोको केपी ओली यति कमजोर होइनन् तर वर्तमानमा कसले कमजोर बनाउँदै छ ? यसको हेक्का स्वयं प्रधानमन्त्रीले सिंहावलोकन गर्नुपर्ने बेला आएन र ?

प्रख्यात राजनीतिज्ञ एवं विश्लेषक राल्फ नाडरले भनेका छन् । नेताले नेता जन्माउँछ भने केपी ओलीले गुटका सदस्य जन्माउन बाहेक को नेता जन्माए ? त्यसैगरी राल्फ नाडरले नै राष्ट्रप्रमुख दुई प्रकारका रहन्छन् १. क्रिएटिभ जोन २. कम्फर्ट जोन । क्रिएटिभ जोनमा मुलुकका लागि के नयाँ दिशा दिए प्रधानमन्त्रीले भने कम्फर्ट जोनमा सरकारको निरन्तरता दिनुबाहेक ?

२०७२ सालको भूकम्पले पु-याएको क्षति हालसम्म पूर्ण रूपमा निर्माण सम्पन्न गर्न सकिएको छैन । भूकम्पको बेलामा दाता राष्ट्रहरुबाट कबोल गरिएका आर्थिक सहयोग विश्वासिलो परियोजना प्रस्तुत गर्न नसक्दा सहयोग बन्द भएका छन् । संसार कोरानाको महामारीमा त्रसित छ । शरीरिक एवं मानसिक रूपमा तन्दुरुस्त भई २४ घण्टा देश र जनताका लागि खट्नुपर्ने अवस्था छ । दक्षिण कोरिया, ताइवान, जर्मनी, जापान र हाम्रै छिमेकी मुलुक भारतको कुरा गर्ने हो भने सकेसम्म प्रत्येक वर्गसँग साक्षत्कार गरिरहेका छन् राष्ट्र प्रमुखहरुले ।

जर्मनीको कुरा गर्ने हो भने त्यहाँकी चान्सलरले त बालबालिकालाई समेत सचेतना फैलाउन प्रयोग गरेकी छिन् । हाम्रोमा लकडाउन बाहेक के छ ? मजदुरहरु खान नपाउने अवस्थामा पुग्दै छन् । तिनीहरुको लागि कार्यक्रम के छ ? सरकारको लापरबाहीका कारण देशमा सङ्क्रमण बढ्ने अवस्थामा छ । भारतमा दिल्लीका मुख्य मन्त्री केजरीवालले पाँच ‘टी’ को अवधारण बनाई दीर्घकालीन कार्यक्रमसमेत ल्याएका छन् । मुलुकको आर्थिक स्थितिको प्रमुख स्रोतका रूपमा रहेका करिब १५ लाख वैदेशिक रोजगारमा रहेका नेपालीहरको श्रम गुम्ने अवस्थामा छ । यदि तिनीहरु नेपाल फर्किने अवस्था आयो भने वर्षाैंसम्म देशले आर्थिक दुरावस्था बेहोर्छ । यसको व्यवस्थापन गर्न सरकारले के योजना बनाएको छ ? के तिनीहरुको पचासौँ लाख परिवारको विचल्ली हुनबाट जोगाउने सरकारसँग कुनै योजना छ ?

हुन त तपाईंहरुको पार्टीको कुरा हो । तपाईंले बोलेको पु¥याउनु हुँदोरहेनछ भनेर दोस्रो पटक प्रचण्डसँगको लिखित सहमति नमानेको देख्दा बोलेको कुराको के विश्वास भन्न थालेका छन् आम जनता र कार्यकर्ता । हो तपाईंमा लोभ छैन, जनताकै लागि सङ्घर्ष गर्नु भएको हो तर जसरी पञ्चायत र राजसंस्थालाई भूमिगत गिरोहले खायो त्यसैगरी तपाईं र तपाईंको पार्टीलाई खान सक्छ गिरोहले । पछिल्लो समय त आफूले गरेको पार्टीको निर्णय आफैं मान्दिनँ भन्नु त्योभन्दा ठूलो तपाईंको कमजोरी के हुन सक्छ ? तपाईंको पार्टीमा प्रधानमन्त्री र अध्यक्ष चलाउन सक्ने तन्दुरुस्त नेताहरु पहिलो पुस्ताका नै प्रचण्ड, माधव नेपाल र झलनाथ खनाल छन् भन्ने दोस्रो पुस्तासमेत तयार भएको अवस्था छ । तसर्थ पार्टीको अभिभावकझैँ प्रधानमन्त्रीको जिम्मेवारी आफ्नै पार्टीको नेतालाई सुम्पिनुभयो भने इतिहासले तपाईंको त्यागको मूल्याङ्कन गर्दछ । पार्टी र मुलुक दुर्घटना हुनबाट समेत जोगिन्छ । राताेपाटी बाट 

चर्चामा

सम्बन्धित समाचार