शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • राजनीति
  • संकीर्ण मानसिकता र ओली

संकीर्ण मानसिकता र ओली

  • सोमवार, बैशाख ८, २०७७
संकीर्ण मानसिकता र ओली

 हाम्रा प्रधानमन्त्री केपी ओली ज्यू आफूलाई मात्र सर्वज्ञानी, महाज्ञानी, दिव्यदृष्टिकर्ता ठान्दछन् र मान्दछन् पनि। किनकि सबैजसो उहाँका भाषण, बोलाई आदिमा यस्तै कुरा झल्किन्छ र दुनियालाई केहि न केही कुरा सिकाउँछन्। अर्ती उपदेश आदि दिन्छन्।

अस्ति मुख्य मन्त्रीसँगको एक ब्रिफिङ कार्यक्रममा त कोरोना भाइरस बारे आफू वरिष्ठ भारोलोजिष्ट नै भए झैं गरी प्रस्तुत भए। र कोरोना भाइरस निर्जीव तत्व भएको ठोकुवा गर्दै तातोपानी ले पखालिने तथा मर्छ भन्ने दाबी गर्दै विज्ञानलाई नै चुनौती दिए। अस्तिको एक सीमित पत्रकार सम्मेलनमा, नेपालमा कोरोनकालमा कोहीपनि नेपाली भोको नभएको सरकारले पर्याप्त व्यवस्था गरेको भन्दै मिडियामा आएका फुटेज प्रोपागान्डा मात्र भएको र सरकारले नदेखेको चिजलाई पत्रकारले कसरी देखें भन्ने प्रश्न नै गरेर यस्तो हुनै नसक्ने ठोकुवा पनि गरे।

जहाँ पुग्दैन रवि(सूर्य) त्यहाँ पुग्छ कवि भन्ने उखान विर्सिएकै हुनकी प्रम ज्यूले। वर्तमान ईमेल इन्टरनेट को दुनियामा पनि काठमाण्डु बाट कसरी एकैछिनमा धादिङ पुगेर भिडियो रेकर्ड गर्न भ्याए पत्रकारले भन्ने प्रधानमन्त्री को प्रश्नले त झन् – स्खलित मानसिकता वा आफूलाई अति बाठो ठान्ने प्रधानमन्त्री को बौद्धिक क्षमता माथि जोकोहीले सजिलै प्रश्न उठाउन सक्छन् नै। मानार्थ डाक्टर केपी ओलिज्यु लाई जनता बर्दि बिनाका सिपाहि र लाईसेन्स बिनाका पत्रकार हुन भन्ने कुरा पो कसले सिकाइ दिने? सरकारले आफूहरुलाई बेवास्ता गरेको, आफ्नो आवाज काठमाडौंले विशेष गरि सिंहदरबारले सुन्दै नसुनेको भन्दै रोइकराइ गरेका, बर्वर्ती आँसु झार्दै भक्कानो छुटेर बोल्नै नसकेका भिडियो देख्दा जोकोहीको मन दुख्छ। त्यसमाथि मजदुरहरूले काठमाडौं साँच्चिकै निर्दयी रहेछ, अब कहिल्यै नफर्किने कसम खाएका र काठमाडौँले पानी पनि नदिएको भन्दै आफ्नो गाउँ फर्किरहेका जनतालाइ के बालुवाटार र सिंहदरबारले नदेखेकै हो त। पक्कै होइन। आफ्नो शासनकाल अब्बल रहेको देखाउने कुचेष्टा मात्रै हो।

जति ढाकछोप गरेपनि जनताले हिसाबकिताब गरिरहेकै छन्। विशेष गरी ती मजदुर जनता – जसमाथि नदेखेजस्तो निर्मम प्रहार भएको छ – प्रधानमन्त्रीबाट नै। काठमाडौंमा खानबस्न समस्या भएरै भोकभोकै रातारात आफ्नो घर गाउतिर हिडेरै फर्किरहेकाबारे आखाले देख्ने कष्ट नगर्नु, लोकको आवाज सुन्ने प्रयास नगर्नु एवम् प्रकारले , सिंहदर्वार र बालुवाटार भन्दा बाहिर पनी नेपाल छ भन्ने नसोच्नु, नदेख्नु तथा जेकुरामा पनि विरोध गरेको देख्नु, सत्यलाई ढाकछोप गर्न खोज्नु, आफूमात्र जान्ने बुझ्ने अरुसबै अज्ञानी ठान्नु अथवा अरूले दिएका सुझाव इत्यादिलाई पनि हासो मजाकमा उडाउनु आदिले केपी ओली जनताको प्रधानमन्त्री नभएर संकीर्ण मानसिकताले ग्रसित दम्भी अहंकारी शासक हो भन्ने कुरा प्रमाणित नै हुन्छ।

नभए बिग्रिएको केही छैन अझैपनि आफू लोककल्याकारी जनसेवक नै हो भनी प्रमाणित गर्नलाई समय छ। तत्कालीन राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन कालमा पञ्च, दरबारिया र आसेपासे, सल्लाहकारले सरकार ! मौसुफ सरकारको शासनमा जनता अत्यधिक खुसी छन्। बहुदलवादी भन्दा मौसुफ सरकारको शासन मै आफ्नो भविष्य देखेका छन्। जता ततै मौसुफ कै जय जयकार छ – हेरी बक्सियोस् सरकार, भनेझै प्रधानमन्त्री केपी ओलीका सीमित दलाल सल्लाहकार, भारदारहरु र देशभरि रहेका भजनमण्डलीहरुले पनि दरबारियाहरुले जस्तै गरी गलत रिपोर्टिङ गरी अथवा ढाकछोप गरी, अलिक कामकारबाहीलाई पनि बढाई चढाई गरी ऐले सम्मकै चमत्कारिक कार्य गरेको भनी प्रफुल्ल पार्दै अलौकिक प्रधानमन्त्रीको पगरी गुथाई दिदाकै परिणाम हो – हिजो आज देखें भोगेको अपमान जनजनले। अन्ततोगत्वा यसले प्रधानमन्त्री ज्युलाई पनि घाटा गर्छ नै देश दुनियालाई पनि।

राष्ट्रिय एकतालाई मजबूत गरेर मात्र कोरोना कहरलाई परास्त गर्न सकिन्छ। त्यसको लागि सरकारले जनताको आवाज सुन्ने प्रयास गर्नु नै उत्तम विकल्प हुनजान्छ। वचनै पिच्छे मलाई कमाउन केही छैन, जनताको सेवा गर्न बाहेक मेरो केही स्वार्थ छैन भन्ने प्रधानमन्त्रीले जनताको भावना, चाहना बुझून् पनि कसरी? किनकि उहाँ त बालुवाटारमा बस्नु हुन्छ, तेह्रथुममा होइन। चौरासि व्यञ्जन पाकेकै छ, ऐले खाए भोलि के खाऊ भन्ने त केही छैन। कसरी थाहा हुन्छ त जनताको पीडा, रोग भोक शोक सुर्ता। बालुवाटार र बालकोट दरबारले भोक, रोग शोक के हो भोगेकै छैन। अभाव भए, परी आएपो थाहा हुन्छ। न त कोठा भाडा नै तिर्नु परेको छ। नत रशनको जोहो नै गर्नु परेको छ। मिर्गौला बिग्रियो मिर्गौला दिने मान्छे छन्, मुटु फेर्नु पर्यो मुटु दिने मान्छे छन्। अनि कसरी देख्छन् त जनता भोकै मरेको, रातदिन पानी पनि खाना नपाई तड्पिएर हिँडिरहेका जनता ।

फूलको आँखामा फुलै संसार भनेझै चिर निद्रामा डुबेको सरकार र प्रधानमन्त्रीले कसरी देख्छन त बाहिरी दुनिया, न्युज मा आएका देखिएका, बोलिएका ,खिचिएका भिडियो सब सरकारलाई बद्नाम गर्नलाई हो। फगत झुट बाहेक केही होइन भन्छन् प्रधानमन्त्री। सरकारले नदेख्ने मिडियाले देख्ने यस्तो पनि कहीं हुन्छ संसारमा। यो त चमत्कार भयो हैन प्रधानमन्त्री ज्यू। की त सरकार असफल पर्ने ग्रान्ड डिजाइन अनुसार मात्रै पो होकी। कस्तो संकीर्ण सोच हाम्रो प्रधानमन्त्री को, कस्ता जनता हामी प्रधानमन्त्री माथि पूर्वाग्रह मात्रै राख्ने। आउनुहोस सबैजना अब प्रधानमन्त्री ले जे जे भन्छन्, गर्छन्, त्यसैमा होमा हैंसे गर्दै ल्याप्छे लगाऔं। डुब्नै लागेका प्रधानमन्त्री लाई वैतरणी तर्न लाई सहयोगी बनौं।

चर्चामा

सम्बन्धित समाचार