कोरोनाभाइरसको संक्रमण हुनसक्ने डरले कीर्तिपुरको एक घरबाट गर्भवती महिलालाई निकाला गरिएको समाचार विभिन्न सञ्चारमाध्यममा छापिएको छ । ९ महिनाकी गर्भवती महिलालाई कीर्तिपुरकी घरधनी ज्ञानीशोभा महर्जनले जबरजस्ती निकालेको विषयले यतिबेला चर्चा पाएको छ ।
बागलुङको जैमिनी नगरपालिकाको स्थायी बासिन्दा देवी शर्मालाई कीर्तिपुर–१० की घरधनी ज्ञानीशोभा महर्जनले कोरोना संक्रमण हुने डरले जबरजस्ती निकालेको आरोप लागेको थियो ।
यसै सम्बन्धमा के भएको हो भनी बुझ्न मङ्गलबार रातोपाटीको टोली कीर्तिपुर नगरपालिका वडा नम्बर १० को कार्यलयमा पुगि वडाध्यक्ष अमन महर्जनसँग भेटघाट गरेको थियो । वडाध्यक्ष महर्जनका अनुसार यस्तो छ घटना विवरण ः
जब राज्यले लकडाउनको घोषणा गर्यो, स्थानीय तहमा पनि त्यसको असर पर्ने नै भयो । कीर्तिपुर नगरपालिका यसबाट अछुतो रहेन । यहाँका स्थानीयहरु आफै जागरुक भएर लकडाउनको परिपालना गराउन लागिपरे ।
यही वडाको गणेशमान महर्जनको घरमा बागलुङकी बबिता आचार्य नाम गरेकी बहिनी बिगत ३–४ वर्षदेखि भाडामा बस्नु हुँदोरहेछ । लकडाउनको समयमा पनि उहाँ यहीँ हुनुहुँदो रहेछ । यसैबीच चैतको २६ गते साँझ उहाँको दिदी र भिनाजु तथा सानो बच्ची पनि कीर्तिपुरको डेरामा आएका रहेछन् ।
खासमा बागलुङ घर भइ जाजरकोटमा बस्नुहुँदो रहेछ उहाँहरु । यहाँ आउन मध्ये ती बहिनी (बबिता)को दिदी ९ महिनाको गर्भवती हुनुहुँदो रहेछ । केही समयअगाडि उहाँको प्रजनन स्वास्थ्यमा केही समस्या आएपछि जाजरकोटका डाक्टरले उनलाई राम्रो अस्पतालमा जान रिफर गर्नुभएको रहेछ । त्यसपछि उहाँहरु जारजरकोटबाट एम्बुलेन्समै कीर्तिपुर आउनुभएको रहेछ ।
लकडाउनकै समयमा एम्बुलेन्समै कोही व्यक्ति टोलमा आएपछि सोधखोज भएछ । त्यसपछि गर्भवती महिला देखेपछि उहाँहरुले घरभित्रै बस्ने तर बाहिर निस्कन नपाउने भनी होम क्वारेन्टाइनमै बस्न भन्नुभएको रहेछ ।
उहाँहरु पनि समस्या परेर नै उपचारका लागि आउनुभएको भनेपछि चैत २७ गते नै कोरोना परीक्षण गराउने भनी बस्न दिइएको रहेछ ।
तर, उहाँहरुमध्ये कोही भने कोठाभित्रै नबसेर बाहिर बार्दलीमा आएर थुक्ने गरेको स्थानीयले भनेका छन्, तर मैले भने देखेको छैन । उहाँहरुलाई बाहिर ननिस्कन पनि भनिएको थियो र बाहिरबाटै चुकुल लगाइएको थियो ।
तर, गर्भवती महिला बसेको घरमा बाहिरबाटै चुकुल लगाउने कुरा राम्रो नभएपछि मेरै उपस्थितिमा चुकुल खोलिएको हो र भित्रैबाट चुकुल लगाएर बस्नुस् भनी त्यही घरमा बस्नेहरुलाई साचो दिएर भित्रैबाट ताला लगाइएको रहेछ । यसबीचमा घरधनी र उहाँहरुबीच सामान्य विवाद भएको भन्ने सुनेको छ, तर मलाई अरु थप केही थाहा छैन ।
त्यसपछि स्थानीयहरुले मलाई पनि ती परिवारलाई क्वारेन्टाइनमा पठाउन दबाब दिएका थिए । मैले कोरोना परीक्षण गर्ने र यसको व्यवस्था मिलाउने कुरा गर्दै थिएँ ।
अस्ति आइतबार (चैत ३० गते) उहाँहरुको कोरोना परीक्षण भयो । परीक्षणका क्रममा नतिजा नेगेटिभ आयो । नेगेटिभ आएपछि कुरा सामसुम नै भइसकेको थियो । तर एक्कासी उहाँले काठमाडौँका सहायक सिडियोको पावर प्रयोग गरेर साँझ करिब २ सय ५० जना प्रहरीलाई यहाँ तैनाथ गराउनुभएछ । खै उहाँले किन त्यस्तो गर्नुभयो थाहा छैन । त्यसपछि यहाँका स्थानीयहरु पनि आक्रोशित बने र आफ्नो टोलमा प्रहरी उतारेर आतंकित बनाएको भन्दै नाराबाजी गर्न थाले ।
त्यसपछि म आफैले समन्वय गरेर उहाँहरुलाई कीर्तिपुर नगरपालिकाले नै तयार गरेको क्वारेन्टाइनमा पठाएको हुँ । उहाँहरुसँग छलफल गरेर नै क्वारेन्टाइनमा राख्न पठाइएको हो ।
पश्चिमबाट आएको मान्छे सोझै कीर्तिपुरमा आएर बस्दा स्थानीयहरु चिन्तित हुनु नराम्रो पनि होइन । डर सबैलाई हुन्छ । उहाँहरु यहाँ आउँदा पनि न घरधनीलाई केही भन्नुभयो, न स्थानीय तहसँग समन्वय नै गर्नुभयो । अझ उहाँहरुले आफ्नो पावर देखाउन थाल्नुभएपछि समस्या बढेको हो । उहाँलाई घरबाट निकालिएको होइन, क्वारेन्टाइनमा राखिएको हो । क्वारेन्टाइनमा राख्ने कुरा गलत होइन, यसलाई घरधनीले डेराबाटै निकालेभन्दा पनि क्वारेन्टाइनमा राखियो भन्दा ठीक हुन्छ जस्तो लाग्छ । अहिले उहाँहरुलाई क्वारेन्टाइनमा राखिएको छ र गर्भवती महिला भएको कारणले थप सेवा तथा सुविधाको पहल भइरहेको छ । हिजो मात्रै हामी आफैले प्रसूति रोग विशेषज्ञलाई क्वारेन्टाइनमै लगेर स्वास्थ्य परीक्षण पनि गराएका छौँ । उहाँहरुको स्वास्थ्य र सुरक्षाप्रति हामी जिम्मेवार छौँ र हेरचाह गर्ने नै छौँ ।
यता, कीर्तिपुरको डेराबाट निकालिएकी देवी शर्माका पति वैकुण्ठ शर्मा भने आफूहरुलाई घरधनीले जबरजस्ती निकालेको दाबी गर्छन् । घटनाबारे यस्तो भन्छन् वैकुण्ठ ः
हामी चैत २६ गते साँझ काठमाडौँ आइपुगेका थियौँ । मेरो श्रीमतीलाई एक महिनाअगाडि देखि नै स्वास्थ्यमा केही समस्या आइरहेको थियो । उनी ९ महिनाकी गर्भवती छिन् र डाक्टरले वैशाखको २४ गते प्रसूतिको मिति दिएको छ । एक महिना अगाडि ब्लिडिङ भएको थियो । पहिलो बच्चा पनि अप्रेसन गरी जन्माएको कारण दोस्रो बच्चा पनि अप्रेसन नै गर्नुपर्ने सम्भावना बढी हुन्छ । तर जाजरकोटमा राम्रो स्वास्थ्य सेवा नभएको र अप्रेसन गर्नुपरेको अवस्थामा रगतको अभाव पनि हुनसक्ने भएपछि जाजरकोटकै डाक्टरले सिफारिश गरेपछि हामी काठमाडौँ आएका थियौँ ।
यो डेरा पनि हाम्रो नै हो । उनी (डेरामा बस्ने बबिता) मेरो दोहोरो नाता पर्ने बहिनी हुन् । उनी मेरी साली पनि हुन् र भाइ बुहारी पनि हुन् । त्यसैले हामी यही कोठामा आएका हौँ । किनकी यतिबेला हाम्रो अन्त बस्ने ठाउँ पनि थिएन र छैन ।
तर यहाँ आएको पहिलो दिनदेखि नै हामीलाई मानसिक तनाब दिन थालियो । घरधनी अन्टीले हामीलाई पटकपटक डेरा छाडेर जान धम्की दिइरहनु भयो । तर हाम्रो जाने ठाउँ कतै थिएन । ९ महिनाकी गर्भवती श्रीमतीलाई लिएर म कहाँ जाउँ ।
यहीबीच उहाँहरुले हामी घरको चौथो तल्लामा बसिरहेको अवस्थामा बाहिरबाटै ताला लगाइदिनुभयो । हामीले यो कुरा कीर्तिपुर प्रहरीलाई भन्यौँ । त्यसपछि प्रहरी आए र त्यसको भोलिपल्ट बिहान मात्रै उहाँहरुले बाहिरबाट लगाएको ताला खोलिदिनुभयो ।
तर उहाँहरुले फेरि भित्रबाट ताला लगाइदिनुभयो । साँचोचाहीँ त्यही घरमा बस्ने अर्को व्यक्तिलाई दिनुभएको रहेछ । यहीबीचमा पनि घरधनी आन्टीले पटकपटक डेरा छाड्न दबाब दिइरहनुभयो ।
चैत ३० गते आइतबार पनि उहाँले हाम्रो कोठामै आएर तत्कालै कोठा छाड्न निर्देशन दिइरहनुभयो । करिब १ घण्टा वादविवाद भयो । अनि तल कोरोना परीक्षणका लागि टोली आएको भन्दै चार जना नै तल जान भन्नुभयो । हामी चारै जना तल गयौँ । तर हामी तल जानेबित्तिकै उहाँहरुले ढोकामा ताला लगाइदिनुभयो । यहीबीचमा हाम्रो कोरोना परीक्षण पनि भयो । हामी सबै जनाको परीक्षण नेगेटिभ आयो । तर पनि हामीलाई घरभित्र पस्न दिइएन । मेरी गर्भवती श्रीमती करिब ५ घण्टा बाहिरै उभिएर बस्नुपर्यो ।
आफ्नो जिउज्यानकै खतरा भएपछि मैले काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारीलाई फोन गरी घटनाबारे बताएको हुँ । उहाँले नै कसैले पनि डेराबाट निकाल्न पाइँदैन भन्दै सुरक्षाका लागि प्रहरी पठाउनुभएको हो ।
नयाँ वर्षको अघिल्लो दिन भएकाले धेरै स्थानीयहरु त्यहाँ जम्मा हुनुभएको थियो । हामीलाई घरबाट निकाल्नपर्छ भन्दै दबाब दिई नाराबाजीसमेत गरिरहेका थिए । यस्तो अवस्थामा हामीले सुरक्षा खोज्ने भनेको राज्यबाट नै हो । त्यसकारण हामीले सहायक सिडियोलाई फोन गरेका हौँ र सुरक्षाका लागि उहाँहरु आउनुभएको थियो ।
पछि छलफल भयो र उहाँहरुले हामीहरुलाई क्वारेन्टाइनमा राख्ने कुरा गर्नुभयो । हामीले त्यो कुरा स्वीकार गर्यौँ ।
तर गर्भवती महिलाका लागि आवश्यक सुरक्षा र खानाको प्रबन्ध गरिएको छैन । पिरो तरकारी र दाल खाएर गर्भवती महिलालाई पुग्दैन । यसका लागि राम्रो व्यवस्था गरिदिन वडा अध्यक्षलाई आग्रह गरेका छौँ । उहाँले व्यवस्था मिलाउँछु भन्नुभएको छ तर व्यवस्था भइसकेको भने छैन ।
म यस घटनालाई धेरै उचाल्न चाहन्न । तर जे भयो, त्यो राम्रो भएन । बाहिर हिँड्यो वा थुक्यो भनेर उहाँहरुले आरोप लगाउनुभउको छ, त्यो सरासर गलत आरोप हो ।