• होमपेज
  • समाज
  • कीर्तिपुरमा आठ महिनाकी गर्भवतीलाई डेरामा ताला लगाएर पठाइयो क्वारेन्टाइन

कीर्तिपुरमा आठ महिनाकी गर्भवतीलाई डेरामा ताला लगाएर पठाइयो क्वारेन्टाइन

श्रीमान उपचारका लागि काठमाडौं

  • मङ्लबार, बैशाख २, २०७७
कीर्तिपुरमा आठ महिनाकी गर्भवतीलाई डेरामा ताला लगाएर पठाइयो क्वारेन्टाइन

कीर्तिपुरमा एक गर्भवती महिलासहित चार जनालाई क्वारन्टाइनमा पठाइएको छ। कीर्तिपुर नगरपालिका-१० मा जाजरकोटबाट आएकी गर्भवती महिलासहित चार जनालाई आइतबार राति क्वारन्टाइनमा पठाइएको हो। चैत २६ गते बुधबार जाजरकोटकी ती गर्भवती महिला र उनका श्रीमान उपचारका लागि काठमाडौं आएका थिए।

सुरूमा कोहलपुरको अस्पतालमा गएका उनीहरूलाई डाक्टरले अपरेशन गर्नु पर्ने भए रगतको अभाव हुने भन्दै काठमाडौं जान सुझाव दिएका थिए। लकडाउनको समयमा अन्य ठाउँ नभएपछि उनीहरू आफ्नी बहिनीको डेरामा पुगेका थिए। डाक्टरहरू ती गर्भवतीलाई वैशाख २४ गते डेलिभरी डेट दिएका छन्।

स्थानीयले एम्बुलेन्सबाट कोही मान्छे आएको देखेपछि वडाध्यक्ष अमन महर्जनसँग छलफलपछि उनीहरूलाई सेल्फ क्वारेन्टाइनमा बस्न लगाए। परिवारका सदस्य बाहिर निस्कन्छन् भनेर घरमा ताला समेत लगाइदिए। उनीहरू सहमतिमा बसिसकेका थिए तर गत आइतबार त्यहाँको माहौल एकाएक परिवर्तन भएको थियो। स्थानीयवासीले ती महिलालाई क्वारेन्टाइनमा पठाउनु पर्ने माग राख्दै नाराबाजी समेत लगाए।

‘उनीहरूलाई आयुर्वेद अस्पतालमा रहेको क्वारेन्टाइनमा राखिएको छ,’ वडाध्यक्ष महर्जनले भने, ‘र्‍यापिड टेष्टमा नेगेटिभ आएको छ तर त्यहाँ स्थानीयले नाराबाजी गरेर दंगा हुने अवस्था थियो।’ महर्जनका अनुसार त्यहाँको माहौललाई नियन्त्रण गर्न नसकिने भएपछि उनीहरूलाई क्वारेन्टाइनमा राख्न पठाइएको हो।

‘पाँच बजेदेखि १० बजेसम्म त्यहाँ कुराकानी भयो र पछि कन्ट्रोल गर्न नसकेपछि सम्झाइबुझाइ क्वारेन्टाइनमा पठाइएको हो,’ उनले भने। रिपोर्ट नेगेटिभ आइसकेपछि पनि किन त्यस्तो माहौल भयो त भन्ने प्रश्नमा उनले स्थानीयलाई सम्झाउन नसकेपछि बाध्य भएको बताए।

स्थानीयवासीले भने ती गर्भवती महिला बाहिर निस्केको तथा झ्यालबाट थुकेको आरोप लगाएका छन्। ‘हामीले छलफल गरेर राखेका थियौं। दुई दिनपछि पानी थाप्न आउने, झ्यालबाट थुक्नेलगायतका काम गर्न थाले,’ स्थानीय प्रदीप महर्जनले सेतोपाटीसँग भने, ‘झ्यालबाट थुकेपछि असर पर्ने भयो। एउटै टोलमा ४०० जना छन्। कोरोना रहेछ भने सर्ने भयो नि।’

र्‍यापिड टेष्टमा रिपोर्ट नेगेटिभ आए पनि सुरक्षितमात्रै हुन खोजेको उनले बताए। गर्भवतीकी बहिनीले भने स्थानीयवासीले अमानवीय व्यवहार गरेको बताएकी छन्।

‘अनावश्यक रूपमा हामीलाई आरोपहरू लगाइयो। हामीले माथिबाट थुक्यो भन्छन् तर हामीले थुकेका छैनौं,’ उनले भनिन्, ‘जुन तरिकाले हामीलाई अमानवीय व्यवहार गरियो त्यो असह्य छ।’ उनीहरूलाई परीक्षण गर्न बाहिर बोलाएपछि घरबेटीले घरमा ताला लगाइदिएको बताएका छन्।

‘हामीलाई घरबेटी आन्टीले बारम्बार फोन गरेर जहाँबाट आएको हो त्यही पठाउन भन्नुभएको थियो’ उनले भनिन् ‘आइतबार टेष्ट गर्न बाहिर बोलाएर हामी बाहिर भएका बेला घरबेटी आन्टीले ताला लगाइदिनुभएको हो।’ घरबेटीले ताला लगाएको छिमेकी प्रदीप महर्जनले स्वीकारेका छन्।

‘घरबेटीले ताल्चा लगाइदिनुभएको हो,’ उनले भने ‘हामीले अमानवीय व्यवहार देखाएका छैनौं। हामीले पहिले उहाँहरूलाई समस्या परेमा सम्पर्क गर्न भनेकै थियौं।’ घरबेटी ज्ञानीशोभा महर्जनले क्वारेन्टाइनमा नबसेपछि त्यस्तो अवस्था आएको बताइन्।

‘क्वारेन्टाइनमा नबसेर मात्रै यस्तो अवस्था आएको हो,’ घरबेटी ज्ञानीशोभा महर्जनले भनिन् ‘बस्न आउँदा हामीलाई कुनै जानकारी पनि दिइएको थिएन।’ सेताेपाटीबाट 

चर्चामा

सम्बन्धित समाचार