शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • समाज
  • १०७ वर्षे हजुरआमाले हासिल गरिन् कोरोना भाइरसमाथि विजय

१०७ वर्षे हजुरआमाले हासिल गरिन् कोरोना भाइरसमाथि विजय

  • शनिबार, चैत्र २९, २०७६
१०७ वर्षे हजुरआमाले हासिल गरिन् कोरोना भाइरसमाथि विजय

कोरोना भाइरस संक्रमणका सम्बन्धमा अहिलेसम्मको मान्यता छ, खासगरी बालबच्चाहरू र बढी उमेरका वृद्धवृद्धाहरू यसको जोखिमका बढी छन् । यो भाइरसको संक्रमणपछि भएका मृत्युका तथ्यांकहरूले पनि यही देखाएका छन् । तर, शताब्दी उमेर नाघिसकेका यस्ता वृद्धवृद्धाहरू पनि छन्, जो कोरोना भाइरसको संक्रमणबाट पीडित भए पनि संक्रमणलाई पराजित गर्दै सामान्य जीवन बिताउन थालेका छन् ।

यस्तैमा, युरोपेली मुलुक नेदरल्यान्डकी एक सय सात वर्षीया महिला कर्नेलिया रासले कोरोना भाइरसविरुद्ध विजय हासिल गरिन् । ‘कोरोना संक्रमणबाट बाँच्न सफल सबैभन्दा बढी उमेरको व्यक्ति’को परिचयसमेत उनले बनाइन् ।

आफ्नो १०७औँ जन्मदिनको भोलिपल्टै १७ मार्चमा रास बिरामी परेकी थिइन् । डच अखबार एडीले उल्लेख गरेअनुसार उनी आफू बसोवास गर्दै आएको नर्सिङ होमका अन्य साथीहरूसँग दक्षिण पश्चिमको गोरी–ओभरफ्कीस्थित एउटा चर्चमा गएकी थिइन् ।

पछि थाहा भयो, उनीसहित सो चर्चको कार्यक्रममा उपस्थित ४० जनालाई कोरोना भाइरसको संक्रमणले छोएछ । त्यसमध्ये १२ जनाको मृत्यु भइसकेको छ । उनकी भतिजी माइक डे ग्रोटले भनेकी छिन्, ‘हामीले रास बाँच्नुहोला भन्ने आशा नै गरेका थिएनौँ ।’

उपचारमा संलग्न चिकित्सकहरूले रासले कोरोना भाइरसको संक्रमणमाथि विजय हासिल गरेको बताउँदै बधाई दिएका छन् । रोचकचाहिँ के छ भने, कोरोना संक्रमण भएपनि उनले औषधि प्रयोग गर्नुपरेको छैन । बयोवृद्ध अवस्थाका बीच उनी आफैँ ठमठम हिँड्न सक्छिन् । भतिजी ग्रोटले थप भनेकी छिन्, ‘उनी हरेक साँझ घुँडा टेकेर ईश्वरको नाममा प्रार्थना गर्छिन् । लाग्छ, उनी अझै लामो समय यही दैनिकीलाई निरन्तरता दिन सक्षम हुनेछिन् ।’

बेलायती समाचारपत्र ‘डेली मेल’को अनलाइन संस्करणअनुसार, १०७ वर्षे रासभन्दा पहिले कोरोना भाइरसको संक्रमणलाई पराजित गर्ने वृद्ध व्यक्ति थिए, बिल ल्यापसिस । १०४ वर्षका उनी दोस्रो विश्वयुद्ध र स्पेनिस फ्लुको महामारीबाट मात्र जोगिएनन्, कोरोना भाइरसको महामारीबाट पनि जोगिन सके । उनी सन् १९१६ मा जन्मेका थिए । उनमा पहिलोपटक ५ मार्चमा कोरोना भाइरसको संक्रमण भेटिएको थियो ।

अमेरिकी नागरिक ल्यापसिसले चाहिँ झाङ गुआंगफेनको रेकर्ड तोडेका थिए । एक सय तीन वर्षीय चिनियाँ नागरिक झाङलाई पनि कोरोना भाइरसको संक्रमणले छोएको थियो । तर, बुढ्यौली उमेरका बाबजुद पनि उनले कोरोना भाइरसको संक्रमणमाथि विजय हासिल गर्न सके ।

यसैगरी नाम उल्लेख नगरिएकी इरानकी एक हजुरआमाले पनि कोरोनामाथि विजय हासिल गरेकी थिइन् । करिब एक हप्ता अस्पताल बसाइपछि उनी कोरोना संक्रमणबाट मुक्त भएर घर फर्केकी थिइन् ।

इटालिका ग्रान्डोना नामककी एक इटालियन हजुरआमाले पनि कोरोना भाइरसको संक्रमणमाथि विजय हासिल गरेकी थिइन् । स्थानीय जेनोवा सान मार्टिलो अस्पतालमा २० दिन बिताएपछि उनी पूर्ण रूपमा निको भएर घर फर्केकी थिइन् । उमेरका बाबजुद कोरोनामाथि विजय हासिल गरेपछि उनलाई ‘अमर हजुर’ आमा भन्ने अर्थ लाग्ने गरी ‘हाइल्यान्डर’ उपनाम दिइएको थियो । साभार

चर्चामा

सम्बन्धित समाचार