सुदूरपश्चिममा कोरोना संक्रमणको खतरा पछिल्ला दिनमा बढेको छ। केही सातायता भारत गएका हजारौं नेपाली घर फर्किएको अनुमान गरिएको छ। भारतमा कोरोना संक्रमण नेपालभन्दा धेरै भएकाले घर फर्किएका कतिपय नेपालीलाई पनि संक्रमण भएको आशंका छ।
शनिबार मात्रै भारतबाट फर्किएका दुई जनालाई संक्रमण पुष्टि भएको छ। तीमध्ये कैलालीका २१ वर्षीय युवाबाट उनकी भाउजूलाई पनि सरेको छ। नेपालभित्रै एकबाट अर्कोलाई सरेको यो पहिलो घटना हो। सुदूरपश्चिमका गाउँगाउँमा कैयन मानिस क्वारेन्टाइनमा बसेका छन्। त्योभन्दा धेरै आ-आफ्नै घर गएका छन्। त्यसले संक्रमण बढ्ने खतरा झनै बढाएको छ।
यस्तो संक्रमणसँग लड्न सुदूरपश्चिममा कस्तो तयारी छ? स्वास्थ्यकर्मी कति तयार छन्? उनीहरूको सुरक्षाका लागि सामग्रीहरू कति पर्याप्त छन्? कसैलाई कोरोना संक्रमणको लक्षण देखियो भने उनको स्वाब कसरी परीक्षण गरिन्छ? शंकास्पद बिरामीलाई क्वारेन्टाइन सेन्टरमा कसले, कसरी पुर्याउँछ? हामीले यिनै प्रश्न सुदूरपश्चिमका आठ जिल्लाका सिडिओलाई फोन गरेर सोधेका थियौं।
यो कुराकानीले सुदूरपश्चिमको तयारी कति छ, चुनौती के-के छन् भन्ने प्रस्ट छनक दिन्छ। उनीहरूसँग कुराकानीको सम्पादित अंश:
डडेल्धुराका हरेक स्थानीय तहमा कोरोना ‘र्यापिड रेस्पोन्स टिम’ गठन
– जगन्नाथ पन्त (सिडिओ, डडेल्धुरा)
डडेल्धुरामा सात गाउँपालिका छन्, जसमा आठवटा क्वारेन्टाइन बनाइएको छ। भारत र अन्य देशबाट आएका १५० मध्ये ७१ जनालाई ती क्वारेन्टाइनमा राखिएका छन्। अरूलाई होम-क्वारेन्टाइनमा बस्न सम्झाएर पठाइएको छ। सुरूमै हामीले पालिकास्तरलाई नै एउटा बस्तीमा कम्तिमा एक जना स्वास्थ्यकर्मी गएर जाँच गर्नू भनेका थियौँ। उनीहरूले जाँच पनि गरिरहेका छन्। अहिलेसम्म दुई जना शंकास्पद भेटिएका थिए। उनीहरूको जाँच गरिसकेका छौं, जसको नतिजा नेगेटिभ आएको छ।
भोलिका दिनमा संक्रमण फैलियो भने सबभन्दा पहिला लक्षण देखिएकाहरूलाई नजिकैको स्वास्थ्य चौकी जानू भनेका छौं। हरेक गाउँपालिकामा नगर/ गाउँ प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृत, स्वास्थ्य संयोजक र एम्बुलेन्स ड्राइभरको एउटा टिम बनाएका छौं। यसको नाम ‘र्यापिड रेस्पोन्स टिम’ राखिएको छ।
स्वास्थ्य चौकीमा आएका बिरामीमा कोरोनाका लक्षण देखिए स्वास्थ्यकर्मीले तुरून्तै ‘र्यापिड रेस्पोन्स टिम’ लाई खबर गर्छ। उक्त टिमले पहिल्यै एम्बुलेन्स तयारी अवस्थामा राखेको हुन्छ। एम्बुलेन्समार्फत् जिल्लामा ल्याउने भनेका छौं। जिल्ला अस्पतालमा ल्याएपछि त्यहाँका स्वास्थ्यकर्मीले स्वाब झिकेर परीक्षण गर्न प्रदेश अस्पतालमा पठाउँछन्। जिल्ला अस्पताल र नजिकैको जोगबुढा अस्पतालमा गरी ११ वटा आइसोलेसन बेड बनाइएको छ। यहाँ आइसियू भने छैन।
चिकित्सकहरूलाई भनेर केही पिपिई आएका छन्, तर पर्याप्त छैनन्। स्वाब टेस्ट गर्ने उपकरण पनि नौवटा छन्। अहिलेसम्मको तयारी यही हो। फाट्टफुट्ट मात्र बिरामी देखिए भने यसैले धान्न सक्छौं। महामारी नै भयो भने त्यो चाहिँ धान्न सक्ने अवस्था छैन।
डोटीमा अझै स्वाब निकाल्न तालिमप्राप्त स्वास्थ्यकर्मी छैनन्
– टेकनारायण पौडेल (सिडिओ, डोटी)
लकडाउनपछि हामीकहाँ भारत वा तेस्रो मुलुकबाट आएका जम्मा ३०५ जना छन्। उनीहरू सबैलाई १६ वटा क्वारेन्टाइनमा राखेका छौं। त्यहाँ उनीहरूको नियमित स्वास्थ्य परीक्षण भइरहेकै छ। तीन जना शंकास्पद थिए, उनीहरूको परीक्षण नेगेटिभ आएको छ। सबै गाउँ र नगरमा डाक्टर छैनन्। जिल्लाभरि जम्मा सात जना डाक्टर छन्। तर हरेक गाउँपालिकामा तीन-चार जना स्वास्थ्यकर्मी छन्।
हाम्रो जिल्लामा कोरोना संक्रमणसँग लड्ने एक चरणको तयारी पूरा भएको छ। नगरपालिका र गाउँपालिका गरी जम्मा नौवटा स्थानीय निकाय छन्। ती निकायमा प्रमुख र स्वास्थ्य चौकीको ‘फोकल पर्सन’ (सम्पर्क गर्न तोकिएको एक जना मानिस) गरी एउटा ‘रेस्पोन्स टिम’ बनाइएको छ। स्थानीय तहका पदाधिकारीलाई गाउँ-गाउँ र टोल-टोलमा गएर खबर बुझ्नू भनेर हामीले नै भनेका छौं।
हामीले सदरमुकाममा सुरक्षाकर्मीको रेस्पोन्स टिम पनि बनाएका छौं। कसैलाई कोरोनाको लक्षण देखिइहाले पहिले नजिकैको स्वास्थ्य चौकीमा सम्पर्क गर्नू भनेका छौं। स्वास्थ्य संस्थालाई कोरोनाकै लक्षण हो भन्ने लाग्यो भने तुरून्तै ‘आइसोलेसन’ मा राख्छ, नभए पालिकाको संयन्त्रलाई खबर गरेर एम्बुलेन्समार्फत् नजिकैको आइसोलेसनमा लैजान्छ। त्यसपछि जिल्ला अस्पताललाई खबर गरेर स्वाब परीक्षणको व्यवस्था मिलाउँछ।
जिल्ला अस्पतालमा अहिलेसम्म जम्मा १० वटा पिपिईका सेट छन्। केन्द्रबाट हजार सेट गाउन र ५० वटाजति ‘एन-९५’ मास्क आएका छन्। ती सामानमा पूरै पिपिईका सेट भने छैनन्। आएका जति स्थानीय स्वास्थ्य चौकीहरूलाई बाँडिसकेका छौं।
स्वाब निकाल्न तालिमप्राप्त स्वास्थ्यकर्मीहरू हामीकहाँ छैनन्। जिल्ला अस्पतालकाले त तालिम नलिए पनि तीन जनाको निकालेर पठाउनुभएको हो। हामीले अझै पनि स्वास्थ्यकर्मीलाई तालिम दिनुपर्यो भनेर सम्बन्धित निकायलाई भनिरहेका छौं।
डाक्टरहरूको नेतृत्वमा ‘र्यापिड रेस्पोन्स टिम’, बिरामी परे दुई घन्टामा सदरमुकाम
– गंगाप्रसाद न्यौपाने (बाजुरा)
लकडाउन भएपछि भारत र बाहिरी मुलुकबाट आएका सय जनालाई क्वारेन्टाइनमा राखेका छौं। जिल्लामा १५ वटा आइसोलेसन बेड छन्।
प्रत्येक गाउँ/नगरपालिकामा कम्तिमा एउटा स्वास्थ्य चौकी छ। कोरोना संक्रमण बेला उनीहरूले नै अग्रपंक्तिमा बसेर काम गर्ने हो। कोरोनाका लक्षण आफूलाई र आफ्नो परिवारलाई देखिए सबभन्दा पहिले स्वास्थ्य चौकी जान वा नजिकैको आफ्नो जनप्रतिनिधिलाई भन्न गाउँ/ नगरपालिकाले सूचना दिइरहेका छन्।
जिल्ला अस्पतालका डाक्टरहरूको नेतृत्वमा ‘र्यापिड रेस्पोन्स टिम’ बनाइएको छ। गाउँ/नगरका स्वास्थ्य चौकीमा पनि यही टिमले संयोजन गर्ने हो।
अहिलेसम्म जिल्ला अस्पतालमा १५ वटा र अन्य केही स्वास्थ्य चौकीमा ४/५ वटा पिपिई सेट छन्। मास्क सबै स्वास्थ्य चौकीमा पठाइएको छ तर ती पर्याप्त छैनन्। स्वास्थ्यकर्मीलाई दिने भनिएको २५ लाखको बिमाबारे मलाई केही जानकारी छैन।
जिल्लाभर पाँचवटा एम्बुलेन्स छन्। संक्रमण देखिइहाल्यो भने हामीले परिचालन गर्ने तिनै पाँचवटा एम्बुलेन्स हो। यिनलाई बेला-बेला ‘डिस-इन्फेक्सन’ गर्ने व्यवस्था भने भएको छ।
कोरोना परीक्षण गर्न प्रादेशिक अस्पतालमै पठाउने हो। स्वाब निकाल्ने काम जिल्ला अस्पतालका स्वास्थ्यकर्मीले गरिरहनुभएको छ। स्थानीय तहका स्वास्थ्यकर्मीलाई त्यस्तो तालिम दिएका छैनौं।
एम्बुलेन्समा प्लास्टिक र प्लाईले बारेर चालक र बिरामी बस्ने ठाउँ छुट्टयाएका छौं
– गोकर्ण उपाध्याय (सहायक सिडिओ, कञ्चनपुर)
हामीले गाउँपालिका र वडा कार्यालयमार्फत् भारतबाट फर्किएका नेपालीको तथ्यांक अपडेट गरिरहेका छौं। अहिलेसम्म ५३५७ जना नेपाली भारतबाट आएको भेटेका छौं। गाउँ र नगरपालिका स्तरमा विद्यालयहरूलाई क्वारेन्टाइन बनाएर मानिसहरू राखेका छौँ। जिल्लाभरि गरेर १०१ जना क्वारेन्टाइनमा छन्। क्वारेन्टाइनमा बिरामी भए तत्काल धनगढीस्थित प्रादेशिक अस्पताल पठाउने व्यवस्था मिलाएका छौं।
कुनै पनि व्यक्ति बिरामी भएको अवस्थामा उसलाई उपचारका लागि अस्पतालसम्म पुर्याउने जिम्मा गाउँ र नगरपालिकामा रहेका स्वास्थ्य संयोजकलाई दिएका छौं। कञ्चनपुरमा ३० वटा एम्बुलेन्स छन्। ती सुविधासम्पन्न छैनन्। हामीले एम्बुलेन्स चालक र बिरामीबीचको खाली ठाउँमा प्लाइबोर्ड वा प्लास्टिकले बार्न भनेर चालकहरूलाई भनेका छौं।
हाम्रा लागि सबैभन्दा ठूलो चुनौती खुला सीमाना बनेको छ। हाम्रो जिल्लाको मात्रै १२९.५ किलोमिटर खुला सीमा भारतसँग छ। जबकि सशस्त्र प्रहरी छ ठाउँमा मात्र छन्। भारतबाट आउने कतिपय नेपालीले महाकाली नदी ट्युबमा तर्ने वा हामफालेर तर्ने गरेका छन्। कतिपय मानिस रातको समय जंगलबाट छिर्ने गरेको सूचना पनि स्थानीयले दिएका छन्।
हामीले यसरी आएकामध्ये ७० जनालाई प्रहरी नियन्त्रणमा राखेका छौं। भारत जान खोज्ने २९ भारतीय पनि नियन्त्रणमा छन्। भारतबाट कोही आएको पत्ता लागे तुरून्तै समातेर छुट्टाछुट्टै नियन्त्रणमा राखेका छौं।
हामीले चैत ८ गते यता नेपाल आएका सबैको कम्युटर टाइपिङ गरेर वेबसाइटमा राखेका छौं। ताकि कोही बिरामी भए सम्पर्क पत्ता लगाउन सजिलो होस्। आवश्यक परे पालिकाहरूका स्वास्थ्य संयोजकमार्फत् उनीहरूसँग सम्पर्क गर्छौं। हामीले वडामा रहेका जनप्रतिनिधिमार्फत् गाउँ-गाउँमा विदेशबाट आएका मानिसको सूचना पनि लिएका छौं। जिल्लामा केही परे फोन गर्न दुईवटा नम्बर दिएका छौं।
हामीलाई सबभन्दा ठूलो चुनौती नै मानिसको हिँडडुलमा पूर्ण प्रतिबन्ध लगाउन भइरहेको छ। हामीले कोही बिरामी भइहाले १८ बेडको आइसोलेसन तयार पारेका छौं। यहाँ स्वास्थ्यकर्मीका लागि न्यूनतम सामग्री छैनन्। कोही बिरामी भए जिल्लाका जुनसुकै ठाउँबाट दुई घन्टाभित्र अस्पताल ल्याउन सकिने व्यवस्थापन हाम्रो छ। पिपिई सेट न्यूनतम छन्। स्वास्थ्यकर्मीलाई जोखिम छ, तर स्वास्थ्य जाँच गराउन समस्या छैन।
जिल्लाभर जम्मा १० पिपिई छन्!
– आनन्द पौडेल (सिडिओ, बैतडी)
बैतडीमा अहिलेसम्म ४४३ जनालाई क्वारेन्टाइनमा राखेका छौं। त्यस्तो क्वारेन्टाइन स्थलमा दुई-दुई जना सुरक्षाकर्मी र स्वास्थ्यकर्मी खटाएका छौं।
हाम्रो जिल्लामा स्तरीय एम्बुलेन्स छैनन्। बिरामी ओसारपसार गर्न सामान्य एम्बुलेन्स प्रयोग गर्नुपर्ने अवस्था छ। हामीले एम्बुलेन्स मागेर प्रदेशको सामाजिक विकास मन्त्रालयलाई पत्राचार गरेका छौं।
जिल्लाभर रहेका ६८ स्वास्थ्य चौकी र उपस्वास्थ्य चौकीलाई नै हामीले हेल्थ डेस्कमा रूपान्तरण गरेका छौं। जिल्लामा २६ जना बिरामी आइसोलेसनमा राख्न सकिने गरी बेड छन्। तीमध्ये एउटा निजी अस्पतालको १९ बेड छ।
स्वास्थ्यकर्मीका लागि पिपिई छैन। जिल्लाभरमा १० वटा पिपिई छन्। हामीले ४/४ वटा पिपिई प्रत्येक पालिकाका लागि मागेका छौं। प्रदेशको मन्त्रालयलाई हामीले कम्तिमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकारलाई दिने गरी मास्क र पञ्जा पठाइदेऊ भनेर भनेका छौं। प्रदेशमन्त्रीसँगको भिडिओ कन्फरेन्समा पनि मैले मास्क र पञ्जा मागेको छु। मैले यही कुरा मुख्यमन्त्री कार्यालयदेखि स्वास्थ्य मन्त्रालयसम्म जानकारी गराएको छु।
अर्को चुनौती खुला सीमा देखिएको छ। भारतबाट मानिसको आवातजावत पूर्ण नियन्त्रण गर्न सकिएको छैन। ६१ किलोमिटरको खुला सीमामा जम्मा चार ठाउँमा सशस्त्र प्रहरी छ। लकडाउनपछि ठूलो संख्यामा आउने त रोकिएको छ, तर छिटपुट आइरहेका छन्। सुरक्षाकर्मी आराम गरिरहेका बेला फुत्त छिर्ने अवस्था छ।
हामीले अहिलेसम्म हटलाइन टेलिफोन बनाएका छैनौं। तर मोबाइलमा फोन गर्दा सम्पर्क हुने अवस्थामा छौं। जिल्लामा कमान्ड पोस्ट बनाएका छौं। कोही बिरामी परे कमान्ड पोस्टबाट खटनपटन हुन्छ।
स्वास्थ्यकर्मी चार सय, पिपिई जम्मा १५ वटा, पर्याप्त मास्क पनि छैनन्
– यदुनाथ पौडेल (सिडिओ, दार्चुला)
हामीले एक साताभन्दा बढी कोरोना संक्रमणबाट जोगिने उपायबारे पढायौं। स्थानीय तहदेखि जिल्ला तहसम्मले यो काम गरिरहेका छन्। संक्रमण बेला के गर्ने भन्ने तयारी पनि वडा तहदेखि नै गरेका छौं।
वडाध्यक्षको नेतृत्व हुने गरी प्रत्येक ३० वटाजति घरधुरी हेर्न एउटा समिति बनेको छ। उक्त समितिमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी एक-एक जना छन्। उक्त टोलीले आफ्नो क्षेत्रमा को-को बाहिरबाट आएका छन्, उनीहरूको सम्पर्क को-कोसँग छ र कसरी बसेका छन् भन्ने सूचना दिनदिनै राख्छन्। त्यो सूचना वडाध्यक्षमार्फत् गाउँ/नगरपालिकाको अध्यक्षलाई जान्छ। उहाँले हामीलाई जानकारी गराउनुहुन्छ।
कोरोनाको लक्षण कहाँ, कसलाई देखिएको छ भन्नेबारे त्यही टोलीले पत्ता लगाउँछ। जनताले आफू बिरामी पर्यो वा अरू बिरामी परेको थाहा भयो भने पनि नजिकैको स्वास्थ्य चौकी, जनप्रतिनिधि वा त्यही टोलीलाई जानकारी गराउनुपर्छ भनिएको छ।
अहिलेसम्म यहाँ कोरोनाको लक्षण कसैलाई देखिएको छैन। भोलि देखियो भने सम्बन्धित गाउँपालिकाले जिल्लासम्म ल्याउने व्यवस्था गर्नुपर्छ भनेका छौं। जिल्लाभरि छवटा एम्बुलेन्स छन्, तर चाहिनेबित्तिकै तयारी अवस्थामा दुईवटा मात्र छन्। कतिपय गाउँपालिकामा गाडी जाने सुविधा छैन। त्यस्तो गाउँबाट तल सदरमुकाम कसरी झार्ने भन्ने व्यवस्था स्थानीय सरकारले नै गर्ने हो।
जिल्लामा दुई अस्पतालमा गरी छवटा आइसोलेसन बनाइएको छ। भोलि धेरैलाई संक्रमण देखियो भने हामीले सिंगो अस्पतालका सबै बेडलाई आइसोलेसन बेड बनाउनुपर्ने हुन्छ।
जिल्लाभरिमा सात जना डाक्टर छन्। अरू स्वास्थ्यकर्मीको संख्या त्यस्तै साढै तीन सयदेखि चार सय छ। हामीसँग अहिलेसम्म १५ वटा पिपिई छन्। एउटा ज्वरो नाप्ने मेसिन आएको छ। अस्ति सामान ल्याउन भनेर दुईवटा गाडी धनगढी पठाएका थियौं। जम्मा दुई पोका सामान आयो। गाउँमा कोही बिरामी भए जाँच्ने स्वास्थ्यकर्मीलाई पिपिई छैन, मास्क पनि पर्याप्त छैन। उनीहरूलाई बिरामीबाट टाढै बस्नू, बरू यहीँ जिल्लामा पठाउनू भनेका छौं।
स्वाब निकाल्ने भाँडो पनि आठवटा मात्रै छन्। सामानका लागि माथि कुरा गरिरहेका छौं। अहिलेसम्म यहाँका स्वास्थ्यकर्मीलाई पिपिई होइन, हौसला बढाएर फ्रन्टलाइनमा पठाउने मात्रै उपाय छ हामीसँग।
सरकारले भत्ता, बिमा दिने व्यवस्थाबारे समाचार सुनेको छु। निर्णय गरेको भए दिने नै होला, अहिलेसम्म आधिकारिक सूचना मैले केही पाएको छैन।
ज्वरो आए वडाका स्वास्थ्य स्वयंसेविका र जन प्रतिनिधिलाई फोन
– उमेश पाण्डे (सिडिओ, बझाङ)
कोही व्यक्तिलाई ज्वरो आयो वा कुनै खालको लक्षण देखियो भने हामीले सम्पर्क गर्न जिल्लाको नम्बर दिएका छौं। हरेक वडामा रहेका स्वास्थ्य स्वयंसेविकालाई यसबारे भन्नू भनेका छौं। स्थानीय जनप्रतिनिधिलाई समेत फोन गर्न सक्ने व्यवस्था मिलाइएको छ।
जिल्ला अस्पतालमा २७ वटा आइसोलेसन वार्ड बनाइएको छ। बाह्रवटै पालिकाहरूले क्वारेन्टाइन वार्डको व्यवस्था गरेका छन्। हामीसँग केन्द्रले पठाइदिएका ३५ वटा पिपिई र स्थानीय स्तरमै बनाइएका २५ वटा गरी ६० वटा पिपिई छन्। अहिले जिल्लाभरि ३७९ बिरामी क्वारेन्टाइनमा छन्। बैतडी र दार्चुलामा खुला सीमाना रहेकाले त्यहाँबाट आएकाहरूले केही समस्या पारेको छ। हामीले उनीहरूलाई पक्रेर भए पनि क्वारेन्टाइनमा पठाएका छौं।
सडक पुग्ने ठाउँमा एम्बुलेन्स र जिपको व्यवस्था गरिएको छ। नाैवटा एम्बुलेन्स तयारी अवस्थामा छन्। परी आए जिप पनि तयार छन्। सडक नपुगेको ठाउँमा भने बिरामीलाई स्ट्रेचरमा राखेर वा हिँड्न सक्नेहरू हिँडेरै भए पनि आउनुपर्ने बाध्यता छ।
हामीले सीमित स्रोतसाधनमा सक्दो प्रयास गरेका छौं। शंकास्पद व्यक्तिको स्वाब निकाल्न जनशक्ति तयार पारेका छौं। भारतबाट आएका एक जनाको स्वाब झिकेर परीक्षणका लागि पठाइएको थियो, जसको नतिजा नेगेटिभ आयो।
हामी यहाँबाट स्वाब झिकेर धनगढी पठाउने गर्छौं। कोही बिरामीलाई यहाँबाट अन्यत्र उपचार गराउन लैजानुपर्यो भने त्यसको पनि तयारी गरेका छौं। स्थानीय स्वास्थ्य चौकीमा आएका शंकास्पद बिरामी परीक्षण गर्नुपरे पिपिईको व्यवस्था गरिएको छ।
स्वास्थ्यकर्मीका लागि राज्यले बिमा र अतिरिक्त भत्ताको व्यवस्था गरेकाले त्यसको कार्यान्वयन संघीय सरकारले गर्छ।
एम्बुलेन्स पनि स्यानिटाइज गर्ने गरेका छौं
– पुण्यविक्रम पौडेल (सिडिओ, अछाम)
अछाममा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा कमान्ड पोस्ट बनाइएको छ। गाँउ-गाँउमा कोरोना भाइरसबारे सचेतना पुर्याएका छौं। गाउँका जनतालाई कुनै समस्या देखिए नजिकको स्वास्थ्य चौकीमा गएर परीक्षण गर्नू भनिएको छ। त्योसँगै प्रत्येक वडामा रहेका स्वास्थ्य स्वयंसेविका र वडा सदस्यहरूलाई समेत टेलिफोन गर्नू भनेर भनेका छौं। समस्यामा परेका व्यक्तिले सिधै जिल्लाको कमान्ड पोस्टमा फोन गरेर भन्न सक्ने सन्देश पनि हामीले गाउँ-गाउँमा पुर्याएका छौं।
स्वास्थ्य चौकीमा कोरोनाका सम्भावित बिरामी आए उनीहरूलाई परीक्षण गर्न स्वास्थ्यकर्मीलाई पिपिईको व्यवस्था गरेका छौं। कतिपय पालिका आफैंले व्यवस्था गरेका छन्। कहीँ पुगेको रहेनछ भने पनि हामी व्यवस्था गर्छौं। एम्बुलेन्स पनि स्यानिटाइज गर्ने गरेका छौं। केही दिनअघि एउटा एम्बुलेन्स नमूना लिएर गएको थियो, त्यसलाई हामीले स्यानिटाइज गरेर ल्याएका थियौं।
स्वास्थ्यकर्मीका लागि बिमा र अतिरिक्त भत्ताको व्यवस्था हुन्छ। सरकारले गरेको घोषणा कार्यान्वयन गर्ने प्रत्याभूति हामी गर्छौं। फ्रन्टलाइनमा काम गर्ने मान्छे सुरक्षित नभएसम्म सुरक्षित सेवा दिन सकिन्न भन्नेमा हामी सचेत छौं। बिरामी बोक्ने एम्बुलेन्स चालक पनि संक्रमित भयो भने त्यो त झनै खतरनाक हो। उसको पनि सुरक्षामा हामीले ध्यान दिनैपर्छ।
हामीसँग परीक्षणका लागि स्वाब निकाल्न सक्ने विशेषज्ञ चिकित्सक पनि छन्। हरेक पालिकामा स्वास्थ्य चौकी छन्। बयलपाटामा मिसनरी अस्पताल छ भने मंगलसेनमा जिल्ला अस्पताल छ। अहिले जिल्लामा २५ वटा आइसोलेसन वार्ड तयार पारिएको छ। हामीसँग ८० वटा पिपिई छन्। हरेक पालिकाले क्वारेन्टाइन वार्ड बनाएको छ।
हामीले अहिलेसम्म ५३ जना क्वारेन्टाइनमा राखेका छौं। कुनै पनि स्वास्थ्य चौकीले बिरामी पठाउनुपर्यो भने वा स्वाब पठाउनुपर्यो भने लिन जाने गाडीको व्यवस्था हामीले गरेका छौं।
सेतोपाटीबाट