शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • भारतबाट आएका १५८ नेपालीको खेतमा बास

भारतबाट आएका १५८ नेपालीको खेतमा बास

अलपत्र नागरिकको उद्धारमा संघीय र प्रदेश सरकारको निर्णय बाझिँदा उनीहरु दुई दिनदेखि खुला आकाशमुनि खेतमा रात काट्न बाध्य छन् ।

  • बिहिबार, चैत्र २०, २०७६
भारतबाट आएका १५८ नेपालीको खेतमा बास

संघीय र प्रदेश सरकारको निर्णय बाझिँदा भारतबाट नेपाली भूमिमा आइसकेका एक सय ५८ जना नेपाली खेतमा अलपत्र परेका छन् । सीमा क्षेत्रमा आइपुगेका नागरिकको उद्धार र व्यवस्थापनमा दुई सरकारको निर्णय फरक–फरक हुँदा जमुनाह नाकादेखि पश्चिमतर्फको खेतमा उनीहरु दुई दिनदेखि अलपत्र परेका नेपालगन्ज उपमहानगरपालिकाकी उपप्रमुख उमा थापामगरले बताइन् ।

मगरका अनुसार हालसम्म उनीहरुलाई न त क्वारेन्टाइनमा लगिएको छ, न त घर फर्कन नै दिइएको छ । बस्न र सुत्नका लागि पनि व्यवस्था गरिएको छैन । समयमै उद्धार नहुँदा जमुनाहमा अलपत्र नेपालीहरु खेतको चिसोका कारण बिरामी पर्न थालेका छन् ।

भारतको रुपैडियामा रोकिएका उनीहरुलाई सोमबार राति एसएसबीले नाका पार गराइदिएको थियो ।

प्रदेश सरकारले अलपत्र नागरिकको उद्धार गर्ने निर्णय गरेको छ भने संघीय सरकारको निर्देशन भन्दै स्थानीय प्रशासन भने उनीहरुको उद्धार गर्न हच्किएको छ । दुई सरकारको समन्वय नहुँदा नेपाल प्रवेश गरिसकेकाहरु पनि आफ्नै भूमिमा बेसहारा भएको मगरको भनाइ छ ।

छिमेकी जिल्ला बर्दिया जमुनीका दिपक बुढाले आँपको रुखमुनि बसिरहेको बताए । ‘चिसो र लामखुट्टेका कारण खेतमा सुत्नै नसकिने अवस्था छ,’ उनले भने, ‘बिरामी नभएकालाई पनि रुखाखोकी र ज्वरोले समातेको छ ।’

गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्लामा जाँदा अनिवार्य अनुमति लिनुपर्ने उर्दी जारी गरेपछि कर्णाली प्रदेशका विभिन्न जिल्लाका उनीहरु यहीँ रोकिएका हुन् ।

बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले उनीहरुलाई यहीँ क्वारेन्टाइनमा राख्ने कि सम्बन्धित जिल्लामा पठाएर क्वारेन्टाइनमा राख्ने भन्ने विषयमा छलफलपछि निर्णय लिने बताए । कान्तीपुर दैनिकबाट

चर्चामा

सम्बन्धित समाचार