प्युठान — स्वर्गद्वारी नगरपालिका वडा नम्बर ५ का अध्यक्ष हिरामणि भण्डारी हिजोआज चर्चामा छन्। विकास, निर्माणका काम गरेर होइन, झोलुंगे पुल भत्काएर।
नेपालमा पनि कोरोना संक्रमित देखिएपछि सरकारले लकडाउन गरेको छ। यही मेसोमा गाउँमा कोरोना संक्रमित भित्रिन्छन् कि भन्ने त्रासले अध्यक्ष भण्डारीले सोमबार लुम्दी खोलामाथिको पुल भत्काउन युवाहरू खटाए।
रोल्पा र प्युठान जोड्ने पुलको नटबल्टु खोलेर भत्काइयो। तर उक्त विरोधपछि अध्यक्ष भण्डारीले भोलिपल्टै मंगलबार पुल जडान गर्नुपर्यो।
पुल भत्काउनुको कारणबारे सेतोपाटीसँग उनले ‘चोर बाटोबाट मानिसहरू आउन थाले, वडामा को आयो को गयो थाहा नहुने भएकाले पुल भत्काउन लगाएको हुँ,’ भनेका छन्।
यो पुल भएर भारत र रोल्पाबाट मानिस आउनसक्ने चिन्ता उनलाई छ।
‘त्यो यहाँका मान्छेलाई अपायक पर्ने पुल थियो। रातविरात मान्छे हिँडेपछि भत्काउन लगाएको थिएँ, अहिले जडान गरिसकियो,’ उनले भने।
यता पर्वतको कुश्मा-बलेवा जोड्ने पुलमा ताला लगाइएको छ। पुलमा आवतजावत गर्नेहरू बढेको भन्दै स्थानीय बासिन्दाले ताला लगाइदिएका हुन्। चार दिनअघि यो पुलमा ताला लगाइएको थियो।
पुलको ताला खोल्न सशस्त्र प्रहरीले सक्छ। पुलमा छ जना सशस्त्र प्रहरी ड्युटीमा खटिएका छन्। उनीहरूको काम बिरामीलगायत अत्यावश्यक परेकालाई पुलको ताला खोलिदिएर आउजाउ गर्न दिने हो।
पर्वतकी प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले पुलमा ताला लगाउने निर्णय आफूहरूको नभएको बताइन्।
‘पुलमा ताला लगाउने निर्णय हामीले गरेको होइन,’ उनले सेतोपाटीसँग भनिन्, ‘बेलेवातिर ताला लगाएको भए मैले हेर्ने होइन।’
सुदुरपश्चिम प्रदेशको कञ्चनपुर शुक्लाफाँटा नगरपालिका वडा नम्बर २ र ३ जोड्ने सनवोरा खोलामाथिको पुल पनि बन्द छ। स्थानीय बासिन्दाले पुलको दुबैतर्फ मानिस आउजाउ गर्न नमिल्ने गरी अवरोध राखेका छन्।
यो पुलबाट मोटरसाइकल, साइकल पनि वारपार गरिन्थ्यो। अहिले अत्यावश्यक काम परे खोला नै तरेर आउजाउ गर्नुपर्ने बाध्यता छ।
स्थानीय बासिन्दा टिकुराम डगौराका अनुसार गाउँबाहिरका मानिसहरू पुलबाट आवतजावत गर्न थालेपछि बन्द गरिएको हो। गाउँमा हालै भारतबाट फर्केकाहरू पनि रहेको भन्दै उनले कम्तिमा १४ दिन क्वारेन्टाइनमा बस्न आग्रह गरिएको सुनाए।
पुलमा ताला लगाउनेमा गोरखाको भीमसेन थापा गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष पनि छन्। मंगलबार स्थानीय बासिन्दा र प्रहरीको उपस्थितिमा अध्यक्ष बासु थापाले धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर २ जोड्ने पुलमा ताला लगाइदिएका हुन्।
‘पुलबाट मोटरसाइकलमा मानिसहरू आउजाउ गर्न थालेपछि ताला नै लगाउनुपर्यो,’ वडाध्यक्ष थापाले सेतोपाटीसँग भने, ‘दुबैतर्फका स्थानीय बासिन्दा, टोल विकास संस्थासँग छलफल गरेर ताला नै लगाउँदा गाउँ सुरक्षित हुन्छ भनेर लगाइएको हो।’
ताला खोल्ने साँचो टोल विकास संस्था र प्रहरीसँग भएको उनले बताए। ‘बिरामीहरू आए भने ताला खुल्छ, नभए लकडाउनभरि ताला खोल्दैनौं,’ थापाले भने।
सरकारले भारत र चीनतर्फका सीमा नाकाहरू बन्द गरे पनि पुल बन्द गर्ने निर्णय भने गरेको छैन। गाउँका स्थानीय सरकारले पुलमा ताला लगाउनेदेखि सडकमा ढाट राखेर अवरोधसमेत गर्ने गरेका छन्। सेताेपाटी बाट शाभार