मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • समाज
  • अनलाइनमार्फत उपभोक्तालाई फुड सप्लाइन गर्दै सरकार

अनलाइनमार्फत उपभोक्तालाई फुड सप्लाइन गर्दै सरकार

  • आइतवार, चैत्र १६, २०७६
अनलाइनमार्फत उपभोक्तालाई फुड सप्लाइन गर्दै सरकार

काठमाडौं । सरकारले उपभोक्ताको घरघर खाद्यवस्तु पु-याउने व्यवस्थाको तयारी थालेको छ । विश्वव्यापी फैलिइरहेको कोरोना भाइरस संक्रमण फैलिन नदिन सरकारले गरेको मुलुकभर लकडाउनले उपभोक्तालाई खाद्य वस्तुको अभाव हुन नदिन सरकारले यो तयारी थालेको हो । मोबाइल एप तयार गरेर अनलाइनमार्फत उपभोक्ताको घरघरमा खाद्यन्न पु-याइने वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले बताए । उनका अनुसार निजीक्षेत्रबाट अनलाइन सेवा दिइँदै आएका कम्पनीसँग समन्वय गरेर सरकारले अनलाइन सेवा सञ्चालन गर्नेछ ।

विगतदेखि नै अनलाइनमार्फत उपभोक्तालाई फुड सप्लाइन गर्दै आएका कम्पनीसँग समवन्य गरेर घरघरमा खाद्यान्न पु-याउने तयारी भइरहेको सुवेदीले बताए । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको छलफलपछि विभागले अनलाइन सेवा सुरु गर्ने विभागअघि बढेको सुवेदीको भनाइ छ ।

उनका अनुसार अनलाइनमार्फत उभपोक्ताको घरमा पु-याउनका मोबाइल एपको परीक्षण भइरहेको छ । मोबाइल एप परीक्षण सफल भएपछि केही दिनमै सेवा सुरुवात गर्ने सुवेदीले बताए । सुवेदीले यो सेवा प्रभावकारी बनाउन एक्लो केन्द्र सरकारले नसक्ने हुँदा स्थानीय सरकार र वडा कार्यलयसँग समवन्य गरेर जाने बताए । उपभोक्तालाई अनलाइन सेवा दिन ललितपुर महानगरपालिका र काठमाडौं महानगरपालिकासँग छलफल भएको सुवेदीले राजधानीलाई जानकारी दिए ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको छलफलपछि विभागले अनलाइन सेवामार्फत सेवा सुरु गर्ने

सुवेदीले भने, ‘अहिले पनि कसैलाई खाद्यान्नको अभाव भएको छ भने पनि हामीलाई टोल फ्री नम्बर ११३७ फोन गरेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग भएको मोबाइल भ्यानमार्फत सेवा दिन सक्छौं’ । ‘मागअनुसार स्थानको पहिचान गरी खाद्य व्यापार कम्पनीसँग भएका दैनिक उपभोग्य वस्तु चामल, दाल, कर्णालीको सिमी, फापर, बोडीलगायतका गेडागुडी उपभोक्ताको घरमै पु-याउन सक्छौं’ सुवेदीले भने, ‘सरकारले अत्यावश्यकीय वस्तुको आपूर्ति र बिक्री वितरण गर्ने प्रयोजनका लागि यो कम्पनी स्थापनाको गरेको हो ।’ अहिलेको असहज परिस्थितिमा नै कम्पनीले अनलाइन कारोबार सुरु गर्न सके त्यसले सकारात्मक सन्देश जाने भएकाले यसको तयारी तीव्र भइरहेको छ ।

कम्पनीले आमनागरिकले राखेको अपेक्षाअनुसार भूमिका निभाउन नसकेपछि नयाँ प्रविधिको प्रयोगमार्फत अत्यावश्यक खाद्य वस्तुमा बजारको एकाधिकार तोड्ने योजना बनाएको पनि सुवेदीले बताए । लकडाउन भएको पाँच दिन हुँदासम्म कुनै पनि उपभोक्ताले खाद्य वस्तुको अभाव भयो भनेर गुनासो नगरेको उनको भनाइ छ ।

सुवेदीले भने, ‘अहिले विभागले सञ्चालन ल्याएको टोल फ्री नम्बर ११३७ मा ग्यास नपाएको गुनासा धेरै नै आउँछन् । त्यसैले हामीले नेपाल आयल निगमका एक अधिकारीलाई विभागमै बोलाएर छौं । त्यसैले अहिले उपभोक्ताबाट ग्यास नपाएको गुनासो आउँदा निगमले नै सहजीकरण गर्ने काम गरिरहेको छ । उपभोक्ताबाट अहिले अन्य यस्तो गुनासो आएको छैन । केही फट्फुट खाद्यान्न पसल किन खोलेका छैन भन्ने गुनासा आउने गर्छन् । त्यसभन्दा बाहेक गुनासा अहिले आएका छैनन् ।

महानिर्देशक सुवेदीले भने, ‘अहिले विभागले बजार अनुगमन पनि उपभोक्ताले गरेको गुनासोका आधारमा अनुगमन गरिरहेको छ । शुक्रबार मात्र चावहिलबाट एउटा उपभोक्ताले नेपाल ग्यासको बढी मूल्य लिएको भन्ने गुनासो आएको थियो । त्यो गुनासोको आधारमा विभागको टोली अनुगमन जाँदा बढी मूल्य लिएको पाइएन । जुन आयल निगमले तोकेको मूल्य छ त्योअनुसार लिइरहेको पाइयो । जुन व्यक्तिले ग्यासमा बढी मूल्य लिएको गुनासो गरेका थिए उनी पनि सम्र्पकमा आउन चाहेनन् । गुनासो गर्ने व्यक्ति नै सम्र्पकमा नआएपछि हाम्रो टोली यतिकै फर्केको उनले बताए ।

भरी सिलिन्डर ग्यास बिक्री गरे कारबाही
आइतबार १ बजे पछि ग्यास विक्रेताले भरी सिलिन्डर ग्यास बिक्री वितरण गरे कारबाही गर्ने नेपाल आयल निगमले चेतावनी दिएको छ । निगमले ग्यास उद्योगलाई आतइबारदेखि बजारमा आधा ग्यास सिलिन्डर मात्र पठाउन गत बुधबार निर्देशन दिएको थियो । निगमका प्रवक्ता विनित मणि उपाध्यायका अनुसार ग्यास विक्रेतासँग मौज्दात भरी सिलिन्डर ग्यास भएको १ बजेसम्म बिक्री गरिसक्नुपर्नेछ । यदि बिक्री नभएको अवस्थामा सम्बन्धित ग्यास उद्योगमा फिर्ता पठाइसक्नु पर्नेछ । १ बजेपछि १४.२ किलोको भरी ग्याँस सिलिन्डर विक्रेताको पसलमा मौज्दात रहेको पाइमा प्रचलित कानुनबमोजिम कारबाही हुनेछ ।

प्रवक्ता उपाध्यायले पहाडी जिल्लाको हकमा जिल्ला प्रशासनले तोकेबमोजिम हुने बताए । उनले निगमबाट अर्काे व्यवस्था वा निर्देशन नभएसम्मका लागि ग्यास व्यवसायीले एक आपसमा सहमति गरी एकअर्काको उद्योगको सिलिन्डर रिफिल गरी गुनासोरहित ढंगबाट सहज, सरल र समानुपातिकबाट बिक्री गर्ने व्यवस्था मिलाउन सक्ने बताए । यसैगरी उनले सबै ग्यास बिक्रीले दैनिक सुरुवाती मौज्दात र कहाँ प्राप्त हुने ग्यासको विवरण सर्वसाधारणले देखिने गरी ग्यास बिक्री स्थलमा टाँस्नुपर्ने बताए ।  राजधानी दैनिकले खबर छापेकाे छ ।

चर्चामा

सम्बन्धित समाचार