शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • फुटबल
  • पुलिसलाई हराउँदै एपीएफ सेमिफाइनलमा

पुलिसलाई हराउँदै एपीएफ सेमिफाइनलमा

  • शुक्रबार, फाल्गुन १६, २०७६
पुलिसलाई हराउँदै एपीएफ सेमिफाइनलमा

धनगढी : साबिक विजेता नेपाल पुलिस क्लबलाई हराउँदै एपीएफ क्लब नेपाल आइस सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण सुदूरपश्चिम खप्तड गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। धनगढी रंगशालामा बिहीबार भएको विभागीय डर्बी भिडन्तमा एपीएफले पुलिसलाई टाइब्रेकरमा ४–३ गोलले हरायो। हारसँगै पुलिस बाहिरिएको छ।

निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेले पनि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो। टाइब्रेकरमा एपीएफका सुदीप शिख्राकार, आशिष लामा, प्रवीण स्याङ्तान र दिनेश राजवंशीले गोल गरे। एपीएफएका नवीन लामाको प्रहारलाई पुलिसका गोलरक्षक रोशन खड्काले बचाएका थिए। पुलिसका सौजन राई याक्खा, तेज तामाङ र बुद्ध बल तामाङले मात्र गोल गर्न सके।

कप्तान भरत शाहको प्रहार पोलमा लागेर बाहिरिएको थियो। अजित भण्डारीको प्रहारलाई एपीएफका गोलरक्षक रोमन रसाइलीले बचाएका थिए। एपीएफले पुलिससँग सहिद स्मारक ‘ए’ डिभिजन लिगका खेपेको हारको बदलासमेत लिएको छ। लिगमा एपीएफ पुलिससँग १–० गोलले पराजित भएको थियो। एपीएफका आशिष लामा म्यान अफ दी म्याच भए। उनले १० हजार रुपैयाँ पुरस्कार पाए।

खेलपछि एपीएफका प्रशिक्षक सुदीप श्रेष्ठले पाएका मौका सदुपयोग गर्न नसक्दा खेलमा गोल नभएको बताए। ५०÷५० को खेलमा टाइब्रेकरमा हामी भाग्यमानी भयौं, सुदीपले भने। पुलिसका व्यवस्थापक सञ्जीव जोशीले लगातार खेल्दा पुलिसका खेलाडी थाकेको बताए। राम्रो खेले पनि समयमै गोल नहुँदा टाइब्रेकरमा दुर्भाग्य भयो, सञ्जीवले भने। एपीएफले फाइनल प्रवेशको लागि शनिबार आयोजक सुदूरपश्चिम– ११ सँग प्रतिस्पर्धा गर्नेछ। शुक्रबार हिमालयन शेर्पा क्लब र गोर्खा ब्वाइज क्लब रूपन्देहीबीच प्रतिस्पर्धा हुनेछ। फागुन २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेतालाई २१ लाख एक रुपैयाँ र उपविजेतालाई १० लाख एक रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल र व्यक्तिगत विधाका खेलाडीलाई जनही १५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार