बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाचार
  • इतिहासमै पहिलो पटक विमान चार्टड गरि ठूलो संख्यामा नागरिकको उद्दार गरिँदै

इतिहासमै पहिलो पटक विमान चार्टड गरि ठूलो संख्यामा नागरिकको उद्दार गरिँदै

चीनमा रहेका आफन्तको व्यग्र प्रतिक्षामा अभिभावक

  • शनिबार, फाल्गुन ३, २०७६
इतिहासमै पहिलो पटक विमान चार्टड गरि ठूलो संख्यामा नागरिकको उद्दार गरिँदै

काठमाडाैं, ३ फागुन । अब ४८ घण्टाभित्र त मेरी छोरी पनि नेपाल आइपुग्छे । छोरीलाई कतिखेर अँगालौँ जस्तो भइरहेको छ । तर मैले छोरीलाई भेट्न कम्तिमा अर्काे १५ दिन कुर्नुपर्छ । त्यसैले म लगायत हामी सबै अभिभावक आफ्ना छोराछोरी लिन जाने विमान उडेको हेर्न आतुर छौं, भगवतिलाल कक्षपतिले उत्साहित हुँदै भन्नुभयो– हामी धेरै खुशी छौं, सरकार र उद्दारका लागि जाने टोलीलाई धेरै धेरै धन्यवाद ।

अन्य दिनहरुमा मलिन स्वरमा कुरा गर्ने पल्लवी श्रीवास्तव शुक्रबार हँसिलो देखिनुहुन्थ्याे । अब त पक्का भयो, श्रीमान् सामान प्याक गरि तयार भएर बस्नुभएको छ, आइतबारसम्म त नेपाल आइपुग्नुहुन्छ– उहाँले भन्नुभयो । श्रीवास्तवले हाँस्दै भन्नुभयो– श्रीमान् चीन जाँदा छोरो भर्खर जन्मिएको थियो, छोरोका जन्मदिनमा आउन टिकट बुकिङ गर्नुभएको थियो तर चीनमा कोरोना भाइरसको संक्रमण भएपछि कोठामै थुनिनु भएको थियो । एक वर्षपछि छोरोले आफ्नो बाबुलाई भेट्दैछ । यो खुुशी म शब्दमा व्यक्त गर्न सक्दिन ।

आफूले पहेँलो पानी पिउन परिरहेको कुरा छोरोले बताएदेखि पीरले छट्पटाएकी विमला श्रेष्ठ सरकारले छोरालाई ल्याउन लागेकोमा खुशी देखिनुहुन्छ । भगवतिलाल कक्षपति, पल्लवी श्रीवास्तव र विमला श्रेष्ठ सहित १ सय ८० जना विद्यार्थीका अभिभावकहरु आफ्ना छोराछोरीको व्यग्र प्रतिक्षामा छन् । छोराछोरी र आफन्तलाई भेट्न अर्काे २ हप्ता कुर्नु परे पनि अति प्रभावित क्षेत्रबाट उद्दार गरेर आफ्नै भुमिको क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलेपछि अभिभावक र विद्यार्थी दुबै खुशी छन् ।

अभिभावकहरु चीन जाने विमान उडेको हेरेर तुरुन्तै आफन्तलाई भेट्न नपाउने पीडालाई मलम लगाउन खोजिरहेका छन् । त्यसैले सम्पूर्ण अभिभावहरु आज (शनिबार) अन्तर्राष्ट्रिय विमानस्थलमा जम्मा हुँदैछन् । उनीहरु उद्दारका लागि चीन जाने टोलीलाई बिदाई गर्न र नेपाल एयरलाइन्सको विमान आकाशमा उडेको हेर्न चाहन्छन् ।

स्वस्थ र सुरक्षित रुपमा नेपाल ल्याउन विशेष तालिम प्राप्त दलका सदस्य तथा स्वास्थ्यकर्मी सहित १७ जनाको टोली आज चीन जाँदैछ । उद्दार गरि ल्याइएका नेपाली विद्याथीलाई सरकारले तयार गरेको क्वारेन्टाइन स्थल खरिपाटीमा १४ देखि १७ दिन वा आवश्यकता अनुसार सो भन्दा बढि राखिनेछ ।  विमानस्थलदेखि क्वारेन्टाइन स्थल खरिपाटी लैजान पाँच ओटा बसको व्यवस्था गरिएको छ । क्वारेन्टाइन स्थलमा पुग्नु अगाडि बीच बाटोमा बस रोकिने छैन ।

काठमाडाैं विमानस्थलमा पाँचवटा हेल्थ स्क्रिनिङ डेस्कको व्यवस्था मिलाइएको छ । प्रत्येक स्क्रिनिङ टिममा तालिम प्राप्त मेडिकलअफिसर, नर्स र प्यारामेडिक्स गरी २ जनाको समूह हुनेछन् । सबै स्क्रिनिङ गर्ने सदस्यहरुले व्यक्तिगत सुरक्षा साधन पहिरिएका हुनेछन ।

स्वास्थ्य मन्त्रालयले संक्रामक रोगको आशंका गरिएका व्यक्तिहरुलाई तयारी अवस्थामा राखिएको एम्बुलेन्समा राखेर शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल वा पाटन अस्पताल वा सशस्त्र प्रहरी अस्पताल मध्ये कुनै एक अस्पतालको आइसोलेशन वार्डमा उपचारको लागि लैजाने व्यवस्था गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता सागर दाहालले नेपालीहरु बस्ने ठाउँको व्यवस्थापनदेखि त्यहाँ रहँदा उनीहरुले ध्यान दिनुपर्ने आचारसंहिता बनाइएको बताउनुभयो । चीनबाट आउने नेपालीहरुलाई नेपाल आउँदा एयरलाइन्समा पालना गर्नुपर्ने नियम र क्वारेनटाइनमा बस्दा अपनाउनुपर्ने सतर्कताका विषयमा पनि मन्त्रालयले जानकारी गराउनेछ– दाहालले भन्नुभयो ।

आचारसंहितामा नेपालीहरुले सर्जिकल मास्क लगाउनुपर्ने, शंकास्पद लक्षण देखा परेको छ भने उक्त यात्रु र निजको सम्पर्कमा आएका व्यक्तिहरूले एन ९५ मास्कको प्रयोग गर्नुपर्नेछ, शौचालय जानु पर्दा आफ्नो सिटबाट उठ्नु भन्दा पहिला शौचालयमा अन्य कोहि व्यक्ति छैन भन्ने यकिन गर्नुपर्ने उल्लेख गरिएको छ । शंकास्पद बिरामी यात्रुहरुको लागि छुट्टै शौचालय व्यवस्था गरिएको छ । यदि कुनै शंकास्पद लक्षण देखिएको भएमा तोकिएको शौचालय मात्र प्रयोग गर्नुपर्ने जस्ता जानकारी यात्राको क्रममा दिइनेछ ।

काठमाडौं विमानस्थलमा जहाजबाट उत्रनुभन्दा पहिला दिसा तथा पिसाब गरेर निस्कने, अन्य यात्रुहरूसँग कुराकानी गर्दा होशियारी अपनाउनुपर्ने जस्ता सामान्य विषयमा नेपाली विद्यार्थीलाई जानकारी दिइनेछ । सहप्रवक्ता दाहालले शुक्रबार चीनबाट आउने नेपालीलाई कसरी क्वारेनटाइनसम्म पुर्याउन सकिन्छ भनेर अभ्यास समेत गराइएको बताउनुभयो ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता डा.अनुप बाँस्तोलाले चीनबाट नेपाल ल्याइने विद्यार्थीहरु पूर्ण रुपमा स्वस्थ हुने भन्दै उनीहरुबाट संक्रमणको जोखिम नरहेको बताउनुभयो । उहाँले भन्नुभयो– चीनको विमानस्थलमा समेत स्वास्थ्य परीक्षण गरिने र यदि रुघाखोकी, ज्वरोजस्ता लक्षण देखिए चीनमै क्वारेनटाइनमा राखिने भएकाले यहाँ पूर्ण रुपमा स्वस्थ व्यक्ति आउनेछन् त्यसैले वरपरका समुदाय पनि आत्तिनु पर्दैन ।

चर्चामा

सम्बन्धित समाचार