शुक्रबार, बैशाख १४, २०८१

बजारमा लुट

  • आइतवार, माघ २६, २०७६
बजारमा लुट

राजेश बर्मा /काठमाडौं —  बढ्दो महँगीका कारण लेटाङ–९ मोरङकी पायल श्रेष्ठलाई राजधानीको बसाइ कष्टकर बन्न थालेको छ । उनका पति किरण श्रेष्ठ त्रिपुरेश्वरस्थित चुन कारखानामा काम गर्छन् । पतिको मासिक २५ हजार रुपैयाँले घरभाडा, खाना, छोराछोरीको पढाइ खर्च र औषधिउपचार गर्न हम्मे परेको उनी बताउँछिन् । श्रेष्ठको चारजनाको परिवार अनामनगरमा डेरा लिएर बसेको छ ।

परिवारको सामान्य गर्जो टार्न ३० हजार खर्च हुँदै आएको पायल बताउँछिन् । उनी भन्छिन्, ‘छोराको शिक्षा र पतिको जागिरका कारण राजधानी बसेका छौं । महँगीले गाउँ फर्कनुपर्ने अवस्था आयो ।’

झापाकी निर्मला दाहाल दैनिक उपभोग्य वस्तुको मूल्य दिनप्रतिदिन बढिरहेको बताउँछिन् । उनी भन्छिन्, ‘चामल, दाल, तरकारी, घरभाडा बढेको बढ्यै छ । एकजनाको आम्दानीले राजधानीमा बाँच्न असहज भयो ।’ उनका अनुसार यातायात, औषधिउपचार, लुगाफाटो र मनोरञ्जनबाहेक घरखर्च धान्न मासिक न्यूनतम ३५ हजार खर्च हुन्छ ।

पायल र निर्मलाले अनुभव गरेजस्तै बजार निकै अराजक बनेको छ । कार्टेलिङ, सिन्डिकेट, कालोबजारी र माफियाका कारण मूल्यवृद्धि हुँदा उपभोक्ता मारमा परेका छन् ।

पछिल्लो २५ दिनमा चामल, खाने तेल, पिठो, आँटा, दाल, लसुन, अण्डा, मासुको मूल्य न्यूनतम दुई रुपैयाँदेखि चार सय ७० रुपैयाँसम्म बढेको छ । फलामे रडमा प्रतिकिलो ८ आठ रुपैयाँ र सिमेन्ट प्रतिबोरा ५० रुपैयाँसम्म मूल्य बढेको छ ।

सरकारले कुन तहमा कति नाफा लिने विषयमा संरचना निर्धारण नगरेका कारण व्यवसायी र उद्योगीले आफूखुसी मूल्यवृद्धि गरेका हुन् ।

‘वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन गरे पनि सर्वसाधारण उपभोक्ताले भने राहत अनुभव गर्न पाएनन्,’ उपभोक्तावादी प्रेमलाल महर्जनले भने, ‘बजारलाई नियन्त्रण गर्न नसक्ने हो भने विभाग चाहिँदैन ।’ महर्जनले शुक्रबार मात्रै अनुचित व्यापारिक क्रियाकलाप गरी कालोबजारी गर्ने व्यवसायीमाथि कारबाही गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई ज्ञापनपत्र बुझाएका छन् ।

विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले भने, ‘दैनिक उपभोग्य वस्तु र निर्माण सामग्रीको मूल्य अवस्था बुझ्न अनुगमन टोली परिचालन गरेका छौं । टोलीले दिने सुझावका आधारमा कार्टेलिङ र कालोबजारी गर्ने व्यवसायी र उद्योगीलाई कारबाहीको दायरामा ल्याउँछौं ।’

नेपाल खुद्रा व्यापार संघका अनुसार चामलको भाउ प्रतिबोरा एक सय २५ देखि एक सय ७५ रुपैयाँ बढेको छ ।

संघका अध्यक्ष राजकुमार श्रेष्ठले बोराको एक हजार चार सय ५० मा पाइने २५ किलो सोना मन्सुलीको मूल्य अहिले एक हजार पाँच सय ७५ पुगेको छ । यस्तै एक हजार ६ सय रुपैयाँ पर्ने जिरा मन्सुलीको एक हजार सात सय ७५ मा पुगेको छ ।

संघका अनुसार सबै प्रकारका खाने तेलको मूल्य बढेको छ । एक सय ३५ रुपैयाँ प्रतिलिटर पाइने भटमासको तेलको मूल्य एक सय ५० पुगेको छ । यस्तै एक सय ३४ मा आउने सनफ्लावर तेलको मूल्य एक सय ६० पुगेको छ ।

एक सय ५० रुपैयाँमा आउने तोरी तेलको मूल्य एक सय ६० र एक सय ३० पर्ने प्याकेट घिउको मूल्य एक सय ४० मा पुगेको छ । मासको दालमा प्रतिकिलो १५ रुपैयाँ, मुसुरो दालमा ३० रुपैयाँ, रहर दालमा १० र मुङ दालमा २० रुपैयाँ बढाइएको छ ।

‘पछिल्लो दुई सातायता केही वस्तुको मूल्य बढेर आएको छ,’ अध्यक्ष श्रेष्ठले भने, ‘यस विषयमा हामीले तत्कालै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई जानकारी गराए पनि सुनुवाइ भएको छैन ।’

लसुन एक किलोको ६ सय रुपैयाँ

माग र आपूर्तिबीच समन्वय नहुँदा लसुनको मूल्य निकै बढेको छ । लसुनका थोक विक्रेता अर्जुन सिलवालका अनुसार चीनमा फैलिएको कोरोना भाइरसका कारण लसुन आयात भएको छैन । त्यसैले पुस पहिलो सातासम्म एक सय ३० प्रतिकिलोमा पाइने लसुन माघ अन्तिम सातासम्म आइपुग्दा ६ सय रुपैयाँ पुगेको छ ।

‘पछिल्लो २० दिनदेखि चीनबाट लसुन आएको छैन,’ सिलवालले भने, ‘व्यापारीले भण्डारण गरिराखेका लसुन झिक्दै मौकाको फाइदा उठाएर चर्को मूल्यमा बिक्री गरेका हुन् ।’ उनका अनुसार चीनबाट आयात हुने लसुनको विकल्पमा भारतको लसुन भए पनि नेपालीले चिनियाँ लसुन मन पराउँदै आएका छन् । भारतीय लसुन प्रतिकिलो तीन सय ५० मा बिक्री भइरहेको उनले जानकारी दिए ।

चल्ला, मासु र अण्डामा कालोबजारी

मासुको मूल्यवृद्धि गर्न विगतमा नेपाल ह्याचरी उद्योग संघले नष्ट गरेको ३० लाख जिउँदो चल्लाको असर अहिले बजारमा परेको छ । मूल्यवृद्धि गर्नैका लागि संघले मंसिर २९ देखि पुस ८ सम्म ३० लाख जिउँदो चल्ला मारेको थियो । नष्ट गरिएका चल्लाको बजार मूल्य १५ करोड थियो । यस्तै ४५ करोड मूल्यको चल्ला निस्कने अण्डा नष्ट गरिएको थियो ।

व्यावसायिक लाभ लिन संघले चल्ला र अण्डा नष्ट गरेको उपभोक्तावादी माधव तिमल्सिना बताउँछन् ।

मंसिर अन्तिममा दुई सय ५० प्रतिकिलोमा बिक्री भएको कुखुराको मासु चार सयसम्म पु¥याइएको छ । कुखुरा व्यवसायी संघका अध्यक्ष जंगबहादुर बीसीका अनुसार चल्ला र अण्डा नष्ट गरिएकाले खपतअनुसार आपूर्ति नहुँदा मासुको मूल्य बढेको हो ।

कुखुरा पालक किसान संघका अध्यक्ष झनक पौडेलले दाना संघ, ह्याचरी संघ, ठूला कोल्ड स्टोर र सप्लायर्सको ‘सेटिङ’ मा दाना, अण्डा, चल्ला र जिउँदो कुखुराको मासुको मूल्यवृद्धि गरिएको आरोप लगाए । उनले भने, ‘दाना उद्योग संघ, ह्याचरी संघ, ठूला कोल्ड स्टोर र सप्लायर्सलाई कारबाही गर्ने हो भने किसानले लागत मूल्य पाउँछन् र उपभोक्ताले सहज मूल्यमा खरिद गर्न पाउँछन् ।’

ह्याचरी संघले ४० रुपैयाँमा पाइने चल्लाको मूल्य ७० रुपैयाँ कायम गरेको छ । एउटा चल्ला हुर्काएर ४५ दिनमा मासुयोग्य कुखुरा तयार पार्दा किसानको लागत खर्च दुई सय ३० रुपैयाँसम्म पर्छ ।

‘तर सप्लायर्सले एक सय ५० देखि दुई सय रुपैयाँ प्रतिकिलोमा किसानबाट खरिद गरी उपभोक्तालाई चार सय रुपैयाँमा बिक्री गर्दै आएका छन्,’ पौडेलले भने,‘हामीले लागत खर्च पनि नपाउने । उता उपभोक्ताले अत्यधिक मूल्य तिर्नुपर्ने । यो भन्दा लुट केमा हुन्छ ? ’

अण्डामा पनि दुई रुपैयाँ मूल्यवृद्धि गरिएको छ । नेपाल अण्डा उत्पादक संघका अध्यक्ष शिवराम केसीका अनुसार अण्डाको मूल्य हालसम्म प्रतिगोटा १३ मात्रै कायम छ । उनले भने, ‘बिचौलियाले आफूखुसी प्रतिगोटा अण्डाको १५ रुपैयाँ असुल गर्दै आएका छन् ।’ अन्नपुर्ण पाेष्टबाट शाभार

चर्चामा

सम्बन्धित समाचार