शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • क्रिकेट
  • अमेरिकाविरुद्धको जितमा करण केसीका महत्वपूर्ण चार विकेट

अमेरिकाविरुद्धको जितमा करण केसीका महत्वपूर्ण चार विकेट

  • शनिबार, माघ २५, २०७६
अमेरिकाविरुद्धको जितमा करण केसीका महत्वपूर्ण चार विकेट

काठमाडौं : आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले पहिलो जित हात पारेको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबार भएको त्रिकोणात्मक शृंखलामा नेपालले अमेरिकालाई ३५ रनले हरायो। शृंखलाको पहिलो खेलमा नेपाल ओमानसँग १८ रनले पराजित भएको थियो।

नेपालले दिएको एक सय ९१ रनको विजय लक्ष्यसहित जवाफी ब्याटिङ गरेको अमेरिका ४४.१ ओभरमा एक सय ५५ रनमा समेटिएको थियो। अमेरिकाका लागि इयान होलान्डले ७५ रन बनाए। क्यामरुन स्टेभेन्सनले १९ र कारिमा गोरले १० रन बनाए। नेपालका करण केसीले १५ रन खर्चिएर चार विकेट लिए। यसैगरी सुशन भारीले तीन, सन्दीप लामिछानेले दुई तथा कुशल मल्लले एक विकेट हात पारे।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाएर एक सय ९० रन बनाएको थियो। नेपालका लागि विनोद भण्डारी र डेब्यु खेलाडी कुशल मल्लले अर्धशतकीय पाली खेले। विनोदले ५९ रन बनाए। विनोदले ६२ बलमा ६ चौका र एक छक्काको मद्दतमा ५९ रन बनाए। एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा विनोदको यो पहिलो अर्धशतक हो। एकदिवसीय खेलमा अन्तर्राष्ट्रिय अर्धशतक बनाउने उनी आठौं नेपाली खेलाडी हुन्।

डेब्यु खेलमै अर्धशतक पूरा गरेका कुशलले ५० रन बनाए। कुशलले डेब्यु खेलमै अर्धशतक बनाएर विश्व–कीर्तिमानसमेत रचेका छन्। कुशल सर्वाधिक कम उमेरमा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक प्रहार गर्ने खेलाडी पनि बनेका छन्। कुशलले १५ वर्ष तीन सय ४० दिनमा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने विश्व–कीर्तिमान बनाएका हुन्। उनले ४९ बलमा तीन छक्का र चार चौका प्रहार गरेका थिए। यसअघि उक्त कीर्तिमान नेपालकै रोहितकुमार पौडेलको नाममा थियो। पौडेलले १६ वर्ष एक सय ४६ दिनको उमेरको कीर्तिमान बनाएका थिए। 

रोहितले यसअघि यूएईसँगको दोस्रो एकदिवसीय खेलमा अर्धशतक प्रहार गर्दै भारतीय पूर्वकप्तान सचिन तेन्दुल्कर र पाकिस्तानका पूर्वकप्तान साहिद अफ्रिदीको नाममा रहेको कीर्तिमान तोडेका थिए। रोहितले ५८ बलमा ५५ रन बनाएका थिए। सचिनले भने टेस्टमा १६ वर्ष दुई सय १३ दिन र अफ्रिदीले १६ वर्ष दुई सय १७ दिनमा अर्धशतक बनाएका थिए।

साभार अन्नपुर्ण

चर्चामा

सम्बन्धित समाचार