बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाचार
  • अज्ञात रोेगले २०० बढी भेडा मरे

अज्ञात रोेगले २०० बढी भेडा मरे

  • शनिबार, माघ १८, २०७६
अज्ञात रोेगले २०० बढी भेडा मरे

चिसो छल्न भन्दै पूर्वीरुकुमको उत्तरी भेगबाट दाङ चरनका लागि ल्याइएका २०० बढी भेडा मरेपछि त्यहाँ पशु चिकित्सकको टोली पुगेको छ। घोराही उपमहानगरपालिका–१९ को पहाडी भेगमा पर्ने जङ्गलमा चराउन ल्याइएका भेडा दुई सातादेखि लगातार मर्न शुरु गरेका थिए।

भेडा अज्ञात रोगले मरेको खबर सञ्चारमाध्यममा आएपछि प्रदेश नं ५ अन्तर्गत पशु सेवा कार्यालय र उपमहानगरपालिकाको पशु सेवा महाशाखाको टोली जङ्गलमा पुगेको हो। पशु चिकित्सकको टोली शुक्रबार बेलुका वडा नं १९ सैघाको जङ्गलमा पुगेर भेडाको सामान्य उपचारसमेत गरेको छ।

पशु सेवा शाखाका प्रमुख श्रीधर अधिकारीका अनुसार त्यहाँ रहेका भेडामा मुख पाक्ने, पखाला लाग्ने, झुङ्ने, घाँस नखाने र मर्ने समस्या देखिएको छ। भेडा कुन रोगले मरेको हो भन्नेबारेमा तत्काल चिकित्सकको टोलीले पत्ता लगाउन सकेको छैन।

उनले भेडामा देखिएको समस्यालाई ल्याव परीक्षणपछि मात्र रोग पत्ता लाग्ने हुदाँ आफूहरुले नमूना सङ्कलन गरेर फर्किएको जानकारी दिए। पशु उपचारका लागि दाङमा ल्याव परीक्षणको व्यवस्था नभएको हुँदा आजै उक्त स्याम्पललाई सुर्खेत पठाउने र सोमबारसम्म वास्तविकता पत्ता लाग्ने उनले बताए।

सञ्चार र यातायात सुविधा नरहेको जङ्गलमा भेडा चराउन ल्याइएको हुँदा ढिलो मात्र खबर जिल्लासम्म आइपुगेको थियो। गत मङ्सिर १० गते रुकुमबाट हिँडेर पुस २९ गते पाँचपोखरीमा आइपुगेका भेडा गत सातादेखि मर्न थालेका थिए।

किसान प्रेमबहादुर पुन, धर्म बुढामगर, धर्मकुमारी पुन र रामकृष्ण पुनका भेडा मरेका थिए। उनीहरुले घरबाट आउँदा करीब ४०० बढी भेडाबाख्रा साथमा लिएर आएका बताइएको छ। -रासस

चर्चामा

सम्बन्धित समाचार