फेसबुक, टुईटर बन्द गर्दैछ रे सरकारले यो बिषयले सरगर्मी बढेका बेला देश चिसोले कठ्यांग्रिए पनि माहोल तातेको छ।
खासगरी किशोरीहरू बलात्कृत हुने र हत्या गरिने मुटु चिमोट्ने समाचारहरू प्रत्येक दिनजसो आइरहेका छन् । निर्मला पन्तको बलात्कार र हत्याको समाचार त अन्तरराष्ट्रिय नै बन्न पुग्यो । सरकारले बलात्कारी, हत्यारालाई अहिलेसम्म गिरफ्तार गर्न सकेको छैन ।
छाउगोठमा सुतिरहेका युवती सर्पले डसेर मृत्यु हुने क्रम रोकिएको छैन । तेजाब आक्रमणको आतंक पनि घटेको छैन । जताततै महिला हिंसाका घटना भइरहेका छन् । हिंसा घट्नुको साटो बढिरहेको छ । असुरक्षाको आतंकले हामी नेपाली नारीहरू मानसिक रोगी बन्दै गइरहेका छौं । नारीहरूको सुरक्षालाई कसरी सुनिश्चित गर्न सकिन्छ, त्यतातिर पो गम्भीर भएर सोच्ने होला कि ?
कर्णालीको नागरिकले सुन मागेको छैन सरकार ! अहिले पनि केवल नुन माँगिरहेको छ । मधेसका मुसहर,चमारहरूले दरबार मागेका छैनन् सरकार ! अहिले पनि केवल घरबार मागिरहेका छन् ।
दलितहरूले मान्छे हुनुको अधिकार मागिरहेका छन् । युवाहरूले आफ्नै देशमा स्वरोजगार/रोजगार मागिरहेका छन् । महिलाले समानता र सुरक्षा खोजिरहेका छन् । हो सरकार ! हामी नागरिकले न्याय, सुरक्षा, शान्ति र समृद्धि खोजिरहेका छौं !
३३ किलो सुन प्रकरण त्यतिकै सामसुम पारिएको छ । वाइड बडी जहाज खरिदमा अर्बौं भ्रष्टाचार भएको हुन सक्ने आशंका सबैले गरिरहेका छन् । यी त भए सतहमा आएका काण्डहरू । अदृश्य भ्रष्टाचार कति भएका र भइरहेका होलान् ? सम्झँदा मात्र पनि मूर्छा परिएला जस्तो हुन्छ । साँच्चै देश हेर्दा कहीँ, कतै चित्त बुझाउने ठाउँ छैन ।
बोरामा पैसा बोकेर जाँदा झोला भरी सामान नआउने भइसक्यो । बजारमा श्रम बिक्नै छाडिसक्यो । कसरी बाँच्ने हामी गरिब जनता ? के गर्नु नेतागण, हजुरहरूको मीठो भाषणले हामी नागरिकको रित्तो भाँडोमा रासन नभरिँदो रहेछ ।
सरकार ! बातैपिच्छे रेल र पानीजहाजको कुरा गरेर भएन ! पानीजहाज र रेल नेपालमा कुद्न थालेपछि मानौं के नेपाल स्वर्ग बन्छ ? कुनै नेपालीहरू दुःखी, गरिब, असहाय, निमुखा रहँदैनन् ? औषधोपचारको अभावमा कोही नेपालीको अकालमा ज्यान जाँदैन ? रोजगारी खोज्दै अरबको ५५ डिग्रीको तापक्रममा कुनै नेपाली युवा पसीना चुहाउन जानुपर्दैन ?
मानौं पानीजहाज र रेल नेपालमा कुद्न थालेपछि छाउगोठमा कुनै पनि किशोरी र युवतीहरू सर्पले डसेर अकालमा मर्नुपर्दैन ? कुनै भुस्तिघ्रे नरपशुहरूबाट छाउगोठमा किशोरीहरू बलात्कृत हुनुपर्दैन ? तल्लो जात भएकै कारण कथित उपल्लो जातबाट धारा, पधेंरो छोएकै आधारमा अपमान र यातना भोग्न पर्दैन ? सामाजिक, सांस्कृतिक, धार्मिक, आर्थिक कुनै पनि भेदभाव, उँचनीच केही ब्यहोर्न पर्दैन ?
दिनदिनै सपनाको सूची थपेर देश समृद्ध हुन्छ र ? देशमा शान्ति सुरक्षा आउछ र ?
युद्ध शब्द आफैँमा भयानक लाग्छ । साह्रै अप्रिय र कर्णकटु लाग्छ । तर बिडम्बना, मानव सभ्यताको अधिकांश इतिहास युद्धले भरिएको छ । नेपालको इतिहास पनि त्यसको अपवाद छैन । पृथ्वीनारायण शाहको नेतृत्वमा भएको नेपाल एकीकरणको युद्ध भनौं वा राणा शासन बिरूद्ध नेपाली काँग्रेसले गरेको लडाइँ वा पन्चायत बिरूद्ध एमाले नेताहरूले गरेको संघर्ष वा पछिल्लोचोटि माअोवादीको नेतृत्वमा भएको जनयुद्ध ।
यी सबै युद्ध र आन्दोलनहरूमा गरेर हजारौं हजार मानिसहरूको ज्यान गएको छ । लाखौं लाखको अंगभंग भएको छ । नानीहरू टुहुरा भएका छन्,आमाहरूको काख रित्तिएको छ, चेलीहरूको सिन्दुर पुछिएको छ । घरबार बिहीन भई बिस्थापित हुनेहरूको त कुरै नगरौं । तर पनि समयसँगै सबैले आफूलाई सम्हाल्दै आएका छन् । किनकि, यी सबै देशको लागि थियो; परिबर्तनका लागि थियो ।
नेतागण ! तपाईंहरूको कुन आदेश मानेनौं हामीले ? राणा विरूद्ध लड्न बोलाउनुभयो । राणाशाही अन्त्य नहुन्जेल लड्यौं । पञ्चायतविरूद्ध लड्न बोलाउनु भयो । पञ्चायत नढलुन्जेल लड्यौं । जनयुद्ध लड्ने आदेश दिनुभयो । जनयुद्ध पनि लड्यौं तर, नेतागण, देशले के पायो ? हामी नागरिकले के पायौं ?
। कृपया भनिदिनुस् नेतागण, हामीले तपाईंहरूको कुन आदेश मानेनौं ? हामीले तपाईहरूमाथि के अन्याय गर्यौं ? के अपराध गर्यौं ? के पाप गर्यौं ? जसको सजायँ हामी जनतालाई यति निर्ममतापूर्वक दिइरहनु भएको छ ?
नेतागण ! हामी नागरिकले न्याय, सुरक्षा, शान्ति र समृद्धि खोजिरहेका छौं । के यो हाम्रो अपराध हो