शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • सुचना प्रबिधी
  • बिहीबार र शुक्रबार पानी पर्ने सम्भावना

बिहीबार र शुक्रबार पानी पर्ने सम्भावना

  • सोमवार, पुस १४, २०७६
बिहीबार र शुक्रबार पानी पर्ने सम्भावना

यतिबेला देशभर चिसो ह्वात्तै बढेको छ । बिहीबार र शुक्रबार वर्षा हुने सम्भावना रहेकाले चिसो थप वृद्धि हुने अनुमान गरिएको छ । बढ्दो चिसोसँगै मध्य पहाड र तराईमा हुस्सु र शीतलहर सुरु भएको छ । राजधानी काठमाडौँमा शनिबार अहिलेसम्मकै सबैभन्दा चिसो ०.६ डिग्री तापक्रम सूचीकृत (रेकर्ड) भएको छ ।

आइतबार विहान १ डिग्री तापक्रम सूचीकृत भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो गतवर्ष डिसेम्बर महिनाको अन्तिमतिर सूचीकृत भएको ०.५ डिग्री भन्दा बढ्दो क्रमको तापक्रम हो ।

हरेक वर्षको डिसेम्बरको मध्यबाट चिसो बढ्ने भए पनि यसपाली अलिक छिट्टै चिसो बढेको महाशाखाको भनाइ छ । “चिसोसँगै हिमाली भेगमा हिउँ पर्ने, पहाड र तराईमा हुस्सु र शीतलहर चल्ने क्रम जारी छ,” मौसमविद् बरुण पौडेलले भन्नुभयो, “यसले जनजीवन कष्टकर बनेको छ ।”

उहाँले भन्नु भएझैँ हिमाली भेगमा यतिबेला तापक्रम माइनसमा झरिसकेको छ । जोमसोम, मनाङ, मुस्ताङ, जुम्ला भेगमा माइनसमा पनि तल तापक्रम झर्नेक्रम जारी छ । मनाङमा माइनस १९ डिग्री तापक्रम रेकर्ड भइसकेको छ । जुम्लामा आइतबार विहान केही बढेर माइनस ५.५ डिग्री न्यूनतम तापक्रम सूचीकृत भएको छ ।

काठमाडौँपछि अर्को चिसो सहर सुर्खेत जिल्लाको वीरेन्द्रनगर बनेको छ । चर्को शीतलहरसँगै यहाँको तापक्रम आइतबार २.४ डिग्री न्यूनतम सूचीकृत भएको छ । त्यसपछि ताप्लेजुङ र दिपायल अर्को चिसो स्थानका रूपमा रहेका छ । जहाँ २.६ डिग्री न्यूनतम तापक्रम रेकर्ड भएको छ ।

त्यसपश्चात् डडेलधुरामा २.७ डिग्री, दाङ ३.५, पोखरा ३.७, ओखलढुंगा ५, धनकुटा ५.८, धनगढी र सिमरामा ७ डिग्री तापक्रम सूचीकृत भएको छ । त्यस्तैगरी, भैरहवा ७.५, विराटनगर ७.६ र नेपालगञ्जमा ८ डिग्री न्यूनतम तापक्रम सूचीकृत भएको छ ।

चिसो अझैं बढ्ने

काठमाडौँलगायत देशभर अझैं केही हप्ता चिसो बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले जारी गरेको विशेष बुलेटिन अनुसार पनि चिसो बढेसँगै बाक्लो हुस्सु र कुहिरोको चाप पनि बढ्दो छ । पश्चिम तराईमा लागेको कुहिरो र हुस्सु आइतबार अपराह्नपछि केही हटेको छ । जसका कारण यस क्षेत्रका कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही र नवलपुरको जनजीवन प्रभावित बनेको छ ।

मध्य तराई क्षेत्रमा भने साँझसम्म नै बाक्लो हुस्सु र कुहिरो रहने अवस्था छ । जसका कारण चितवन, पर्सा, बारा, रुपन्देही, सर्लाही, धनुषा र परासी क्षेत्रमा घाम कम लाग्ने र शीतलहरले जनजीवन असर परेको छ । त्यस्तै, पूर्वी तराईको कुहिरो र हुस्सु कायम रहँदा घामको ताप कम मात्र धर्तीको सतहमा पुगेको छ । त्यस क्षेत्रका महोत्तरी, सिराहा, सप्तरी, सुनसरी, मोरङ र झापा क्षेत्रमा चिसोको प्रभाव बढेको छ ।

बिहीबार र शुक्रबार पश्चिमी वायु सक्रिय हुँदा पानी पर्ने सम्भावना छ । जसका कारण केही दिनमा थप चिसो बढ्ने विभागले पूर्वानुमान गरेको छ ।

आजको गोरखापत्र दैनिकमा समाचार छ ।

चर्चामा

सम्बन्धित समाचार