शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • राजनीति
  • पौडेल समूहको बहिस्कार, देउवाले गराए भटाभट निर्णय

पौडेल समूहको बहिस्कार, देउवाले गराए भटाभट निर्णय

  • शुक्रबार, मंसिर २७, २०७६
पौडेल समूहको बहिस्कार, देउवाले गराए भटाभट निर्णय

 नेपाली कांग्रेसमा महाधिवेशन लक्षित शक्ति संघर्ष सुरु भएको छ । शीर्षनेताहरुको शक्ति संघर्ष विहीबार केन्द्रीय कार्यसमिति को बैठकमा प्रष्टसँग देखियो ।

उपचुनाव सकिएलगत्तै कांग्रेसले बिहीबारका लागि बैठक बोलाएको थियो । तर, १४ औं महाधिवेशनको कार्यतालिकालाई एजेण्डा बनाउन माग गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले विहीबार केन्द्रीय कार्यसमिति बैठक बहिस्कार गर्‍यो ।

पौडेल समूहको बहिस्कारका बावजुद सभापति शेरबहादुर देउवाले बैठक रोकेनन् । उनले सहमहामन्त्री प्रकाशशरण महतमार्फत नौबुँदे प्रस्ताव पेश गराए र दुई बुँदे निर्णयसमेत गराए ।

बैठकका एजेण्डा तय गर्ने क्रममा देउवानिकट उपसभापति विमलेन्द्र निधिले वरिष्ठ नेता पौडेलसँग कुराकानी पनि गरेका थिए । त्यसक्रममा पौडेलले १४ औं महाधिवेशनको कार्यतालिकालाई पहिलो एजेण्डा बनाउन सुझाए ।

बुधबार नै पदाधिकारीहरुले बैठकको एजेण्डा तय गरेका थिए । तर, त्यसमा महाधिवेशनको कार्यतालिका नपरेपछि पौडेलका नेताहरु विहीबारको बैठकमा अनुपस्थित भएका हुन् ।

बिहीबार पार्टी कार्यालयमा पुगेका पौडेलले सभापति देउवालाई भेटेर अरु एजेण्डामा सहमत भएको, तर महाधिवेशन कार्यतालिकालाई पहिलो एजेण्डा बनाउनुपर्ने बताए । मंसिरभित्र महाधिवेशनको कार्यतालिका बनाउने पूर्वसहमति भएको पनि उनले सभापति देउवालाई स्मरण गराए ।

सभापति देउवाले यसबारे छलफल गरौंला भन्ने जवाफ दिएपछि उपसभापतिद्वय निधि र विजयकुमार गच्छदार पौडेलको कोठामा आए । तर, त्यो छलफलमा पनि कुनै सहमतिको सूत्र निस्केन ।

स्रोतका अनुसार सभापति देउवाले फेरि छलफलमा बोलाउलान् र सहमति खोज्लान् भन्ने वरिष्ठ नेता पौडेलको अपेक्षा थियो । तर, पार्टी मुख्यसचिवमार्फत बैठक सुरु हुन लागेको सूचना आयो । त्यसपछि पौडेलले बैठक हलमा भएका महेश आचार्यलाई समेत फिर्ता बोलाएका थिए ।

कांग्रेसका एक नेता भन्छन्, ‘यो कोठाको माहौल अर्कै थियो । पार्टी सभापतिले आफूहरुलाई हेपेको नेताहरुले महसुस गरेका छन् । त्यसैले बैठक बहिस्कारको निर्णय भयो ।’

वरिष्ठ नेता पौडेलले पार्टी नेतृत्वले महाधिवेशनलाई टार्ने नियत देखाएको आरोप लगाए । छिटो महाधिवेशन गरेर आगामी चुनाव जित्ने गरी काम गर्नुपर्नेमा पार्टी नेतृत्व त्यसविपरीत गएको भन्दै पौडेलले भने, ‘यो पार्टीको अहितमा छ ।’

रामचन्द्र पौडेल, वरिष्ठ नेता

नेपाली कांग्रेसको विधानअनुसार कार्यकाल चार वर्ष हो । त्यो अब तीन महिना मात्र बाँकी छ । र, चार वर्ष अवधि पूरा भएपछि अर्को कार्यसमिति अधिवेशनबाट आउनुपर्छ । अहिलेसम्म महाधिवेशनको कार्यतालिका बन्न सकिरहेको छैन, जसका लागि हामीले एक वर्षभन्दा अगाडिदेखि भन्दै आएका छौं ।

आज हामीले के भन्यौं भन्दा कांग्रेसको १४ औं महाधिवेशन कहिले गर्ने हो ? महाधिवेशनमा पुग्न के-के गर्नुपर्छ ? क्रियाशील सदस्यता कहिलेसम्म टुंगो लगाउने ? वडाको चुनाव कहिल गर्ने ? जिल्ला, प्रदेशका चुनाव कहिले सक्ने र केन्द्रको अधिवेशन कहिले गर्ने ? यो कार्यतालिका बनाऔं ।कात्तिकभित्र समायोजन सकेर मंसिरमा कार्यतालिका बनाउने हाम्रो पार्टीको निर्णय पनि छ । मंसिर सकिन लागिसक्यो । अब कार्यतालिका निर्माण गरेर अगाडि बढ्ने एजेण्डासमेत राख्न सभापतिजी मान्नुभएन, त्यसैले हामीले असहमति जनाउनुपर्‍यो ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले भने १४ औं महाधिवेशनको कार्यतालिका बनाउने प्रक्रिया अघि बढाउनकै लागि अन्तरिम समायोजन के-कति भयो भनेर बिहीबारको बैठकमा पार्टीको निर्वाचन समितिसँग छलफल गरिएको बताएका छन् ।

रोकिएनन् देउवा

बैठक बहिस्कार गर्ने पौडेल समूहको निर्णय लिएर नेता आचार्य फेरि बैठक हलमा पुगे । तर, देउवा रोकिएनन् । दुबै महामन्त्री शशांक कोइराला र पूर्णबहादुर खड्का अनुपस्थित भएकाले सहमहामन्त्रीमार्फत प्रस्तावहरु पेश गराए ।

बैठकले चारवटा प्रस्ताव पास गर्‍यो, जसमा सागका पदक विजेताहरुलाई बधाइदेखि संवैधानिक परिषदको कार्यविधि परिर्वतन नगर्न सरकारलाई चेतावनीसम्म छ ।

अरु प्रस्तावमा भने निर्णय भएन । तर, पौडेल समूहले नल्याउन माग गर्दै आएको केन्द्रीय विभागहरु थप गर्ने र तरुण दलको म्याद ६ महिना थप्नेसमेत एजेण्डा बैठकमा प्रस्तुत भयो ।

कांग्रेसले हालै मात्र विधान संशोधन गरेर ४१ विभागलाई २८ मा झारेको थियो । तर, पार्टी सभापति देउवाले फेरि ४१ वटा विभागहरु बनाउने प्रस्ताव पेश गरेका छन् । चार वर्षसम्म विभागहरु बनाउन नसकेका पार्टी सभापतिले अहिले गुट बलियो बनाउनकै लागि प्रस्ताव ल्याएको संस्थापन इत्तरको आरोप छ ।

देउवा समूहले भने आगामी फागुनमा महाधिवेशन नहुने भएकाले केन्द्रीय विभागहरु बनाएर पार्टीलाई सक्रिय बनाउन खोजिएको तर्क गरेको छ ।

महाधिवेशनमुखी शक्ति संघर्ष

कांग्रेसको वर्तमान कार्यसमितिको म्याद आगामी फागुनमा सकिँदैछ । नयाँ महाधिवेशनको मिति तय भएको छैन । तर, नेताहरुलाई भने महाधिवेशन लागिसकेको छ ।

पार्टीमा देखिएको अहिलेको विवाद पनि महाधिवेशनमुखी भएको नेताहरु सहजै स्वीकार गर्छन् ।

वरिष्ठ नेता पौडेल समूह विभागहरु थप गर्ने प्रस्ताव कुनै हालतमा रोक्न र महाधिवेशनको कार्यतालिकाबारे निर्णय गराउन चाहन्छन् । नभए देउवाले यसै गरी पार्टी चलाउने र केन्द्रीय कार्यसमितिको म्याद डेढ वर्षसम्म ल्याउन सक्ने उनीहरुको आशंका छ ।

देउवा पक्ष भने अब बहुमतकै आधारमा भए पनि निर्णय गर्ने तयारीमा छन् । ‘सहमति भयो भने भयो, नभए अब बहुमतका आधारमा भए पनि निर्णय गछार्ंै’ देउवा पक्षीय एक पदाधिकारीले भने, ‘उपचुनावले पार्टीलाई एउटा उर्जा दिएको छ । त्यसअनुसार अब फटाफट निर्णय गरेर अगाडि बढ्नुको विकल्प छैन ।’

प्रवक्ता विश्वप्रकाश शर्माले पनि कांग्रेस अब अनिर्णयको बन्दी नबन्ने बताए । पार्टीको अहित गर्ने कुनै प्रस्ताव नआएको भन्दै उनले भने, ‘कांग्रेस अब कुनै पनि विषयमा अनिर्णयको बन्दी बन्दैन । सहमतिपूर्वक सबै विषय टुंग्याउने र सहमति बन्दैन भने संगठनलाई गति दिन आवश्यक निर्णय गर्ने प्रक्रियाबमोजिम जानेछ ।’

शशांक र सिटौला कता ?

बिहीबार पौडेल समूहले बैठक बहिस्कार गर्दा महामन्त्री शशांक कोइराला र कृष्ण सिटौला अनुपस्थित थिए ।

कोइराला दाजु प्रकाश कोइरालाको घरमा पारिवारिक समारोह भएको भन्दै अनुपस्थित भएका थिए । सिटौला भने दिउँसो गृहजिल्ला झापा जानुपर्ने भन्दै बैठकमा गएका थिएनन् । तर, आगामी बैठकमा दुबै नेताले के गर्छन् भन्ने अर्थपूर्ण छ ।

पौडेल समूहले भने शुक्रबार आफ्नो समूहका नेताहरुको बैठक प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बोलाएको छ ।

चर्चामा

सम्बन्धित समाचार