• होमपेज
  • देश
  • कसरी सम्भव भयो दुई ठूला बैंकबीचको बिग मर्जर

कसरी सम्भव भयो दुई ठूला बैंकबीचको बिग मर्जर

  • शनिबार, मंसिर २१, २०७६
कसरी सम्भव भयो दुई ठूला बैंकबीचको बिग मर्जर

काठमाडौं । दुई ठूला वाणिज्य बैंकहरु ग्लोबल आइएमई र जनता बैंक नेपाल मर्जर भएर एकिकृत कारोबार शुरु गरेसँगै नेपाली वित्तिय क्षेत्रमा एक किसिमको तरङ्ग मच्चिएको छ । ग्लोबल र जनताको मर्जर पछि यसले नेपाली अर्थतन्त्रमा ठूलै प्रभाव पार्ने विश्लेषण गरिएको छ ।

नेपाली वित्तिय इतिहासमै पहिलो पटक २० अर्ब बराबरको चुक्ता पुँजी बोकेको बैंकको रुपमा ग्लोबल आइएमई स्थापित भएको छ । निक्षप तर्फ पनि बैंकले अहिले सम्मकै ठूलो एक खर्ब २० अर्बको आकार लिएको छ । यसले नेपाली वित्तिय क्षेत्रमा ठूलो अर्थ राख्ने अर्थविद्हरुको भनाई छ । त्यसो त बिग मर्जरमा जान प्रेरित गर्ने नेपाल राष्ट्र बैंकले समेत ग्लोबल–जनताको साहसलाई खुलेरै मुक्तकण्ठले प्रसंसा गरेको छ । यसले स्वदेशी वित्तिय परिचालन देखि लगानीको पहुँच र विदेशी लगानी भित्र्याउनमा समेत कोसेढुङ्ग सावित हुने राष्ट्र बैंकको धारणा छ ।

वृहत पुँजी संकलनका लागि राष्ट्र बैंकले बिग मर्जरको नीति लिएको थियो । नेपाली अर्थतन्त्रमा तरलताको अभाव हुन नदिन र प्रयाप्त लगानीको वातावरण बनाउन बैंकले यस्तो नीति लिएको हो । तर राष्ट्र बैंकको यो नीतिमा ग्लोबल–जनता दुई बाणिज्य बैंक बाहेक अरुबैंकहरुले एकेवद्धता जनाएका छैनन् । बिग मर्जरमा अन्य २६ वाणिज्य बैंकहरु बेखबर छन् । सहज मर्जरको नीति लिएपनि बैंकहरुले इच्छा नदेखाएपछि केन्द्रिय बैंकले फोर्स मर्जरकै नीति लिएको थियो । तर अरु २६ वाणिज्य बैंकहरु ठूला बैंकहरुबीचको मर्जर कठिन र असान्दर्भिक भएको भन्दै आलटाल गरिरहेका छन् ।

कसरी सम्भव भयो त ग्लोबल–जनताको मर्जर ?

चाहे के हुन्न र? भन्ने उक्ति ग्लोबल–जनताले प्रयोग गरेर देखाइदिएका छन् । दुई ठूला–ठूला पुँजी बोकेका ‘क’ वर्गका बैंकहरु एक भएर उदाहरण प्रस्तुत गरेका छन् । राष्ट्र बैंकको बिग नीतिलाई साथ दिने पहिलो बैंक समेत ग्लोबल आइएमई बैंक बनेको छ । राष्ट्र बैंकको नीतिमा एकेबद्धता जनाउँदै बैंकले सुरुवाती चरण देखिनै मर्जर प्रक्रियालाई अघि बढाएको थियो । पहिलोपटक ग्लोबल र जनताबीच २०६७ असार २० गते मर्जर सहमतिपत्रमा हस्ताक्षर भएको थियो । त्यसपछिको निरन्तर प्रयास अन्ततः राष्ट्र बैंकको अन्तिम स्वीकृत पश्चात दुई बैंकको मर्जर सफल भएको हो । शुक्रबार मंसिर २० गते अर्थात् मर्जर प्रक्रिया थालनी गरेको ठिक ५ महिना पछिनै बैंकले एकीकृत कारोबार गरेर देखाइदिएको छ ।

त्यसो त ग्लोबल र जनताले यस अघि पनि साना–ठूला वित्तिय संस्थाहरुसँग सहकार्य नगरेका होइनन् । मर्जर पश्चात ग्लोबल आइएमईको वित्तिय मर्जर संख्य १८ पुगिसकेको छ । आखिर कसरी भयो त सम्भव ? अझ यो बैंकले अरु वित्तिय संस्थाहरुलाई समेत आकर्षित गर्ने देखिन्छ ।

अझैं दुई–चार वटा बैंकलाई गाभे हुन्छ : ढुङ्गाना
मर्जर तथा एकीकृत कारोबार संचालन समारोहमा बोल्दै बैंकर्स संघका निवर्तमान अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले बिग मर्जरमा दुई बाणिज्य बैंक सफल भएकोमा खुशी व्यक्त गर्दै पहिले देखिको बैंकको सिनारियोको प्रसंगलाई कोट्याउँदै अझ २–४ वटा वित्तिय संस्थालाई गाभ्न सक्ने भनेर मजाक गरे । कार्यक्रममा बोल्दै ढुङ्गानाले बैंकर्स संघमा आफ्नो सदस्य घटेको तर बिग मर्जर भएकोमा खुशी व्यक्त गरे । नेपाली अर्थबजारमा दुई ठूला बाणिज्य बैंकको मर्जरले ठूलो अर्थ राख्ने उनको भनाई थियो ।

अरु बैंकलाई गतिलो सन्देश
नेपाल राष्ट्र बैंकका गर्भनर डा.चिरन्जीबी नेपालले ग्लोबल आइएमई र जनता बैंकबीचको मर्जर अरु बैंकहरुका लागि गतिलो सन्देश भएको बताएका छन् । बिग मजरमा ठूला बैंकहरुबीचको सहकार्य कठिन भएको भन्नेहरुका लागि ग्लोबल–जनताको मर्जरले गतिलो झाप्पड दिएको समेत बताए ।

‘तपाईहरु बिग मर्जर कठिन छ । व्यवहारिकता कार्यन्वयन गर्न सकिँदैन भन्नुहुन्थ्यो । खोई त ? ग्लोबल–जनता बैंकले देखाइदियो त ।’ गर्भनर नेपालले भने, ‘अझै पनि समय छ । चाँडो गर्नुहोस् । नत्र पछि पछुतानुपर्ला ।’
गर्भनर डा.नेपालका अनुसार अहिले पनि यो वा त्यो बहान बनाएर बैंकहरुले मर्जर प्रक्रियामा जान आनाकानी गरिरहेका छन् । यता बैंकहरु एकठाउँमा नआउने र पुँजीका लागि राष्ट्र बैंकको मुख ताक्ने वेथिति रहेको बताए । यसै सन्दर्भमा गर्भनरले बैंकहरु आफु नाफा कमाउने तर निक्षेपकर्ता, उद्योगि व्यवसायी र देश विकासको सर्वोपरि नहेर्ने गरेको बताए ।

बैंकहरु आफु मात्र कमाउने र रमाउने गरेका छन् । बाँकी निक्षेपकर्ता र ऋणकर्ताहरुको भावना समेटेका छैनन् । निक्षप र कर्जा बीचको स्प्रेड दर समेत सन्तुलित गर्न सकेका छैनन् । विकास निर्माणका ठूला आयोजनाहरुमा लगानी बढाउन सकेका छैनन् । यस्तो अवस्थामा पुँजी संकलन अहिलेको प्रमुख चुनौंती हो । यसले राष्ट्र बैंक फोर्स मर्जरमा जान बाध्य भएको हो ।’ गर्भनर नेपालले भने, ‘अहिले बैंकिङ्ग क्षेत्रको अर्को चुनौंतिको विषय टेक्नोलोजिको हो । बैंकहरुको आईटी क्षेत्र एकदम कमजोर छ । कर्मचारीहरु दक्ष छैनन् । यतिसम्मकी कसलाई चेक दिने र कसलाई नदिने भन्ने सामान्ने ज्ञान समेत बैंकका कर्मचारीमा छैन ।’

बैंकको भवन होइन पुँजी उच्च बन्नुपर्छ
अर्थमन्त्री डा.युवराज खतिवडाले आर्थिक मजबुदताका लागि बैंकको भवन भन्दा पुँजी(कोष) उच्च र वृहत हुनुपर्ने बताएका छन् । बैंकको कोष मजबुद भएमात्र चाहेको ठाउँमा लागानी बढाउन सक्ने र प्रयाप्त मुनाफा आर्जन गर्न सकिने बताए ।

बैंकको भवनको अग्लाईले भन्ने बैंकको पुँजी कोषले कद उच्च राख्दछ ।’ अर्थमन्त्री खतिवडाले भने, ‘प्रयाप्त लगानी र प्रयाप्त लाभका लागि भवन होइन कोष बढाउन लाग्नुहोस् । यसले तपाई(बैंक), सेवा ग्राही र मुलुककै हित गर्छ ।’ यसै अवसरमा खतिवडाले ठूला बैंकहरु बीचको मर्जरले ठूलो पुँजीको संकलन हुने र राष्ट्रिय लगानीमा सहज हुने बताए ।

‘लगानी योग्य रकम (तरलता)को अभावमा दुई ठूला बैंकबीचको मर्जरले अर्थतन्त्रमा ठूलो अर्थ राख्छ । यसले ठूला परियोजना तथा आयोजनहरुमा लगानी बढाई देश विकासमा सहयोग मिल्छ । त्यसैले अरु बैंकहरु पनि पुँजी संकलनमा एकीकृत कारोबार सञ्चालन कार्यमा आउनु आवश्यक छ ।’

बैंकप्रति व्यवसायीको आक्रोसः कागलाई बेल पाक्यो हर्ष न विश्मात

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले बैंक मर्जरमा जानु अर्थतन्त्रका लागि राम्रो भनिएपनि उद्योगी व्यवसायीहरुका लागि ‘कागलाई बेल पाक्यो हर्ष न विश्मात’ भएको जिकिर गरे । बैंकको कोष ठूलो भएपनि ब्याजदर घटेको अनुभव गर्न नपाएको बताए । अझ बैंकहरुको ब्याजदर पटक पटक परिवर्तन हुने नियतीले उद्योग व्यवसायहरु आजित हुने गरेको बताए । यसले व्यवसायीहरु आजित हुने गरेको र कर्जामा लाग्ने अस्वभाविक ब्याजदरकै कारण व्यवसाय विस्तारका नसक्ने अवस्था आएको बताए ।

यता, उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले समेत बैंक मर्जर भएपछि क्षमता बढ्ने, बैंकको खर्च घटने तर उद्योगी व्यवसायीहरुले ब्याजदर घटेको अनुभव गर्न नपाएको बताए । त्यस्तै सरकारले दिने सहुलियत दरको कर्जाको जानकारी गाउँगाउँमा नहुनुले बैंकहरु औद्योगिक विकासमा गम्भीर नभएको गुनासो गरे । उनले कर्जा लिँदा सेवा शुल्क बढी तिर्नुपर्ने र पटकपटक कागजात बुझाउनु पर्ने व्यवस्थाले लागत बढेको बताए ।

उद्योगी व्यवसायीहरुले अर्थतन्त्रको एउटा हिस्सा नै बैंकको सेवा तथा ब्याजदरबाट प्रभावित हुँदा औद्योगिक विकास सम्भव नभएको बताए । त्यसका लागि सरकार र राष्ट्र बैंकलाई गम्भिर हुन उनीहरुको आग्रह थियो ।

चर्चामा

सम्बन्धित समाचार