बाजुरा (मार्तडी) । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्व उपप्रधानमन्त्री भीम बहादुर रावलले लिम्पियाधुरा, लिपुलेक र सुस्तालगायतका कालापानी क्षेत्रका भू–भाग नेपालकै भएकोले त्यो फिर्ता गर्न सरकारले तत्काल सक्रिय कुटनीतिक कदम चाल्नुपर्ने बताएका छन् । बाजुराको त्रिवेणी नगरपालिका –१ मा हुने उपनिर्वाचनको लागि भएको चुनावी आमसभालाई सम्वोधन गर्दै उनले यस्तो बताएका हुन् ।
नेपालको भौगोलिक अखण्डता सुदृढ बनाउनको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको सर्वपक्षीय बैठकमा राष्ट्रिय सहमति जुटेको र सरकारलाई ठूलो शक्ति प्राप्त भएको उनको भनाई छ । विषेश गरी राष्ट्रियताकै पक्षमा समय खर्चेका रावलले नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले लिपुलेक, कालापानी र लिम्पियाधुराको जमिन फिर्ता गराउन सरकारले सार्थक पहल नगरेको भन्ने कुरा गैरराजनिति भएको बताए ।
‘नेपालको भौगोलिक अखण्डताको पक्षमा संसदमा प्रतिनिधित्व गर्ने दलहरुले सम्भवतः इतिहासमै पहिलोपटक एकै स्वरमा प्रतिबद्धता जनाएका छन् । संगठित रुपमा हामीले कुरा राखेका छौं ।’ उनले भने ‘यसले सरकारलाई भारतसँग वार्ता गर्नको लागि थप शक्ति प्राप्त भएको छ । यो सरकारका लागि अवसर पनि हो । अहिले भारत र नेपाल दुवैतर्फ शक्तिशाली सरकार छन् । अहिलेसम्म नेपाल–भारत सम्बन्धमा रहेका प्रश्नहरुको उत्तर खोज्ने यो उपयुक्त अवसर हो । सरकारले सक्रिय पाईला चालोस भन्ने मैलेपनि राय दिएको छु उनले भनेका छन् ।’
रावलले नेपाल र भारतको सीमा क्षेत्र (विशेषगरि लिम्पियाधुरा, लिपुलेक र सुस्तासहितका क्षेत्रमा नेपालको सार्वभौम अधिकार रहेको प्रमाणित गर्ने ऐतिहासिक दस्तावेज, सम्झौता र व्यवहारसम्बन्धी तथ्यहरुलाई व्यवस्थित् रुपमा राख्दै सीमासम्बन्धी वार्तामा संलग्न व्यक्तिहरुलाई उपलब्ध गराईनु पर्ने पनि सुझाव दिए । उनले भने,‘भारतसँगको वार्तामा नेपालका सीमाविद् र पहिलेदेखि कुटनीति र इतिहासको विशेष जानकारी राख्ने व्यक्तिहरुलाई कुनै न कुनै रुपमा सामेल गराईनुपर्छ ।’
त्यस्तै, रावलले नेपाल–भारत सीमा क्षेत्रमा हराएका, बिग्रेका, भत्केका वा बिगारिएका स्तम्भहरुको तुरुन्त खोजी गरि तीनको पुनःस्थापना वा पुनः निर्माण गरिनु पर्ने पनि माग गरेका छन् । उनले नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह (ईपिजी) को प्रतिवेदन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तुरुन्त ग्रहण गर्नुपर्ने पनि बताए ।
रावल त्रिवेणी नगरपालि–१ का नेकपाका उम्मेद्वार मनराजे बुढा मिलनलाई जिताउन बाजुरा पगेका हुन् । त्रिवेणी –१ मा आगामी मंसिर १४ गते हुने उप निर्वाचनमा नेकपा उम्मेदवार मनराजे बुढा मिलनलाई जिताउन रावलले अपिल गरेका छन् ।
मनराजे बुढा मिलनलाई जिताउन सिङ्गो नेकपा, सिङ्गो सरकार, सिङ्गो प्रदेश सरकार, सिङ्गो वडा छ, उनले भनेका छन् । त्यसैले यस क्षेत्रको विकास र समृद्धिको नेतृत्व मनराजे बुढाले मात्र गर्न सक्छन् उनले भने ।’ उनले अबको एकमात्र बाटो आर्थिक विकास र वेरोजगारीको अन्त्य भएको वताएका छन् ।
चुनावी सभामा नेकपाका सुदुरपश्चिम सहईन्चार्ज दक्त जोशीले उम्मेदवार मनराजे बुढाको जित सुनिश्चित भैसकेको दावी गरेका छन् । चुनावी सभामा नेकपामा केन्द्रिय देखि स्थानि नेताले संवोधन गरेका छन् । सबैले विकास र समृद्धि नेकपाकै पालामा भएको भन्दै मनराजे बुढालाई चिताउनु आग्रह गरेका छन् । नेकपा जिल्ला कमिटि सचिव भरत बुढाको अध्यक्षतामा सम्पन्न भएको चुनावी सभामा जिल्ला स्तरका नेता पुर्वआपुर्ती राज्य मन्त्री केशव विक, प्रदेश कमिटि सदस्य अजबहादुर मल्ल, सहदेव वोगटी, नेता दयाल शाही, चेतन ऐडी लगाएतले आफ्नो भनाई राखेका थिए । राजधानी दैनीकबाट शाभार