• होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • नेशनल मेडिकल कलेजमा धर्नामा बसेका छात्रामाथि हातपात, विद्यार्थी भन्छन्–सञ्चालकबाटै असुरक्षित भयौं

नेशनल मेडिकल कलेजमा धर्नामा बसेका छात्रामाथि हातपात, विद्यार्थी भन्छन्–सञ्चालकबाटै असुरक्षित भयौं

  • शुक्रबार, मंसिर ६, २०७६
नेशनल मेडिकल कलेजमा धर्नामा बसेका छात्रामाथि हातपात, विद्यार्थी भन्छन्–सञ्चालकबाटै असुरक्षित भयौं

काठमाडौं । वीरगञ्जको नेशनल मेडिकल कलेजमा शान्तिपूर्ण धर्नामा बसेका विद्यार्थीमाथि हातपात भएको छ ।  बिहीबार होस्टेल प्रवेशमा रोक लगाइएको थियो भने शुक्रबार कलेज सञ्चालकले ‘आफ्ना मान्छे लगाएर’ कुटपिट गरेको आन्दोलनरत विद्यार्थीहरुले जनाएका छन् । “हामी शान्तिपूर्ण धर्नाबाट भित्र प्रवेश गर्दैगर्दा म्यानेजमेन्टले भर्ना गरेका केही विद्यार्थीहरु हामीमाथि हातपातमै उत्रिए,” एक विद्यार्थीले बाह्रखरीसँगको कुराकानीमा भनिन् ।

उनका अनुसार पाँचबजेतिर शान्तिपूर्ण धर्ना सकेर भित्र प्रवेश गर्ने क्रममा हातपात भएको थियो ।  “यो जति भएको छ एमडी (बसरुद्धिन)को निर्देशनमा भएको छ,” उनको भनाइ थियो,“उनको कोटाबाट आएर जो यहाँ भर्ना भएको छ । उनीहरु हामीमाथि हातपात गर्न अघि सरेका हुन् ।”
उनीहरुले प्रहरीसँग गुहार माग्दासमेत नपाइएको गुनासो गरेका छन् ।

अतिरिक्त शुल्क फिर्ता–खारेजी र मूल्य समायोजनको माग राख्दै धर्नामा बसेका विद्यार्थीलाई कलेज सञ्चालक बसरुद्दिन अन्सारीले यसअघि पनि होस्टल प्रवेश गर्ने गेट नम्बर दुई बाहिर नै थुनेको पीडित धनबहादुर तामाङले बाह्रखरीलाई जानकारी दिएका थिए ।

“शुल्क फिर्ताका लागि सरकारले दिएको समयसीमा सकिन चारदिन बाँकी हुँदा हामीले कलेज प्रशासनलाई खबरदारी सुरू गरेका थियौं । बिहीबार दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म धर्नामा बस्यौं । आन्दोलनका कार्यक्रम सकेर होस्टल छिर्न खोज्दा गेटमा ठूलो ताल्चा झुण्ड्याइएको रहेछ,” उनले घटना सुनाए ।

उनले राति १० बजेसम्म हार गुहार गर्दा पनि मेडिकल कलेज सञ्चालकले होस्टल छिर्न नदिएको ११ बजे सञ्चारमाध्यममा खबर आउन थालेपछि गेट खोलिएको तामाङको भनाइ छ ।

“भित्र पसेपछि पनि सिनियर दाइहरूले धम्की दिन थाले । कसको उक्साहटमा आन्दोलन गर्दैछौ ? तिमीहरूको पछाडि को छ ? किन कलेज अशान्त तुल्याउँछौं । तिमीहरूलाई यहीँ गाड्छौं, बाहिर निस्कन पाउँदैनौ ? तिमीहरूले गर्दा कलेजको बेइज्जत भयो ! भन्दै प्रहरीकै सामुन्ने धम्क्याए,” उनी पीडा पोख्छन् ।

उनले कलेजमा बसरुद्दिनको गुण्डाराज चलेको बताए । बसरुद्दिनले कलेजकै केही सिनियरलाई प्रयोग गरेर डर, धम्की दिइरहेको बताए ।

“बसरुद्दिनसँग संवाद गर्न खोज्दा यो सिनियर र जुनियरको झगडा हो भन्दै तर्किन खोज्छन् । हामीसँग सरकारले तोकेभन्दा २० लाख बढीसम्म अशुलिएको छ । सरकारले पनि फिर्ता गर भनिसक्यो । तर बसरुद्दिन चुप लागेर बसेका छन् । आन्दोलन गर्दा उल्टै काट्छु, मार्छु भन्छन्,” उनी निरीह हुँदै सुनाउँछन् ।

चिकित्सा शिक्षा सङ्घर्ष समितिकी सदस्य मान्यता थापाले पनि बसरुद्दिनको अत्याचारले सीमा नाघेको बताइन् ।

“माग राख्ने, कुरा राख्ने माहोल नै छैन । विद्यार्थी आतङ्कित छन् । सरकारले समय त दिएको छ । अब चारदिनभित्र शूल्क फिर्ता हुने अवस्था छैन । चितवन मेडिकल कलेजले फिर्ता गर्न सक्दैनौं, समायोजन गर्छौं भनेर पन्छिइसक्यो । पहिलो र दोस्रो वर्षको त समायोजन होला । बाँकी वर्षका विद्यार्थीको उठाइएको पैसा के गर्ने ?” उनी प्रश्न गर्छिन् ।

तोकेको सीमाभन्दा बढी रकम अशुलेको विरोधमा विद्यार्थी आन्दोलित बनेपछि शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले १५ दिनभित्र शुल्क फिर्ता गर्न चेतावनी दिएको छ । शुल्क फिर्ता नगरे ठगी मुद्दा चलाउने बताएको छ ।

साभार बाह्रखरी

चर्चामा

सम्बन्धित समाचार