अछामको ढकारी गाउँपालिकास्थित बेतान कर्णाली हाइड्रोपावरका लागि नदीको गहिराइ नाप्न गएको टोली दुर्घटनामा परेको छ । कर्णाली नदीको गहिराइ नाप्ने क्रममा डुंगा दुर्घटना भएको हो । दुर्घटनामा मानवीय क्षति भएको छैन ।
तर, डुंगा र मोटरमा क्षति भएको अध्ययन गरिरहेको इनोभेटिभ इन्जिनियरिङ सर्भिस प्रा.लि.का म्यानेजिङ डाइरेक्टर अनुप खनालले जानकारी दिए ।
साथीहरु सबै सम्पर्कमा आइसकेका उनले बताए । मोटरमा करिब १५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ । नदी ठाडो र पानीको बेग तीव्र भएकाले दुर्घटना भएको उनको भनाइ छ । डुंगा दुर्घटना भएपछि बेतान कर्णाली हाइड्रोपावर आयोजनाका लागि पानीको गहिराइ नाप्ने काम अहिले स्थगित गरिएको छ ।