बुधबार, कार्तिक २८, २०८१
  • होमपेज
  • समाज
  • पर्यटकलाई बन्धक बनाएर लुट्ने कांग्रेस नेतासहितको गिरोह समातियो

पर्यटकलाई बन्धक बनाएर लुट्ने कांग्रेस नेतासहितको गिरोह समातियो

  • शुक्रबार, कार्तिक २९, २०७६
पर्यटकलाई बन्धक बनाएर लुट्ने कांग्रेस नेतासहितको गिरोह समातियो

काठमाडौं — भारतीय पर्यटकलाई बन्धक बनाएर लुटपाट गरेको आरोपमा ८ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेको मण्डनदेउपुर–१२ का कांग्रेस नेता दिलबहादुर दोङसहित ८ जना छन् । महानगरीय प्रहरी वृत्त, सोह्रखुट्टेका डीएसपी सन्तोषसिंह राठौरले प्रारम्भमा १२ जनालाई पक्राउ गरिए पनि चार जनाको संलग्नता नदेखिएपछि छाडिएको बताए । उनीहरुलाई प्रहरीले एक साता अघि पक्राउ गरेर चोरी, डाँका सम्बन्धी कसूरमा मुद्दा चलाए पनि घटनालाई गुपचुप राखिएको थियो ।

अनुसन्धान अधिकृतका अनुसार दिल्लीबाट घुम्न आएको ६ जनाको समूहमा रहेका मध्ये ३ जनालाई उनीहरुले ट्याक्सीमा हालेर उत्तरढोकामा रहेको एउटा कोठामा बन्धक बनाएका थिए । त्यहाँ शारीरिक यातना समेत दिइएको पीडितले दिएको जाहेरीमा उल्लेख छ । पीडितले साँझ स्पाका लागि निस्किएका वेला अपहरणको शैलीमा लगेर करिब डेढ लाख रुपैयाँ भारु लुटिएको बताएका छन् । रकमसँगै मोबाइल पनि लुटिएपछि त्यही दिन भागेर उनीहरु भारततिर पुगेका थिए ।

‘हामीलाई काठमाडौं छाडेनौं भने मार्दिन्छु भनिएको थियो’, जाहेरीमा भनिएको छ । गोरखपुर सीमामा पुगेपछि उनीहरुले नेपालमा रहेका एक परिचित व्यक्तिलाई फोन गरेका थिए । उनले काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीलाई घटनाबारे बताएपछि महानगरीय प्रहरी वृत्त, दरबारमार्ग र सोह्रखुट्टेलाई अनुसन्धानका लागि निर्देशन दिइएको थियो ।

व्यक्ति पक्राउ परेपछि उनीहरुले नेपाल आएर जाहेरी दिएका थिए । यो समूह विदेशी पर्यटकको लुटपाटमा संलग्न पेशेवर गिरोह भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको डीएसपी राठौर बताउँछन् । उनले भने, ‘यही समूहले यसअघि बंगलादेशी पर्यटकलाई पनि लुटेको हुनसक्ने देखिएको छ । हामी अनुसन्धान गरिरहेका छौं

चर्चामा

सम्बन्धित समाचार