
नित्य कर्म सकेर न्यूज तिर आँखा दौडाउ्दै थिएँ “डा केसीको स्वास्थ्य अवस्था अस्पतालको क्षमताभन्दा बाहिर “ भन्ने समाचारले मुटु नै चिसो भयो । तपाईँहरुलाई के ढाट्नु मुटुरोगी झन्डै अस्पताल नै जानु परेको !
सरकारविनाको राज्य हुँदैन । राज्यविनाको नागरिक हुँदैन । एउटा नागरिकका लागि बाँच्न पाउनु सबभन्दा ठूलो मानवअधिकार हो । राज्य सबैको संरक्षक हो । सरकार अभिभावक हो । मलाई चिच्याई चिच्याई सोध्न मन लागिरहेको छ- के हाम्रो देशमा सरकार छ ? देश र जनताप्रति उत्तरदायी नेता र पार्टीहरू छन् ? यदि छन् भने हामी नागरिकलाई जवाफ चाहियो ।
एउटा नागरिकको हैसियतले बोल्नुपर्दा डा. केसीले जुन कदम उठाएका छन्, त्यो त्यतिकै आवेगमा आएर पक्कै उठाएका होइनन् । नेपालको सन्दर्भमा डा. केसी भ्रष्टाचारविरूद्ध उभिएका एक योद्धा हुन् । अभियन्ता हुन् । सदाचारका एक प्रतीक हुन् ।
विशेष गरेर चिकित्सा क्षेत्रमा हुने गरेका र भइरहेका भ्रष्टाचारविरूद्ध उनले उठाएको कदम सम्मानयोग्य मात्र नभएर सलाम गर्न योग्य छ ।
लोकतन्त्र भनेको पक्कै पनि विधिको शासन हो । अराजकता लोकतन्त्रमा स्वीकार्य हुँदैन ।अब प्रश्न उठ्छ- के डा. केसी अराजक हुन् ? उनका अभिव्यक्ति अमर्यादित छन् ?
डा. के.सी. पक्कै पनि अराजक होइनन् । उनले आजसम्म बिरोधको जुन शैली अपनाइरहेका छन्, त्यो पूर्णरुपमा संविधानसम्मत छ ।
अन्त्यमा,सरकारको नेतृत्व गरिरहनुभएका सम्माननीय प्रधानमन्त्रीज्यू र सरकार निर्माणको अंकगणित मिलाइरहनुभएका भावी प्रधानमन्त्रीज्यू, कृपया तपाईँहरूको दोहोरी बन्द गर्नुहोस् ।
दसऔंला जोडी बिन्ती छ- अस्पताल गएर डा. केसीलाई भेट्नुस्, र जीवन बचाउनुस् । न्याय मर्न नदिनुस् ।


